+
+

युक्रेनमा युद्धविरामको आह्वानसहित फ्रान्स र चीनको संयुक्त विज्ञप्ति

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २५ गते १७:५२

२५ वैशाख, काठमाडौं । गृष्मकालीन ओलम्पिकलाई केन्द्रविन्दुमा राखेर युक्रेनमा युद्धविराम हुनुपर्ने धारणासहित फ्रान्स र चीनले संयुक्त विज्ञप्ति जारी गरेका छन् ।

पेरिसमा हुने ओलम्पिकको समय अगावै शान्ति सम्झौता गरी युद्धविराम हुनुपर्ने मतसहित दुई मुलुकका राष्ट्रप्रमुखले संयुक्त विज्ञप्ति जारी गरेको फ्रान्सेली समाचार संस्था लि मोन्डेले उल्लेख गरेको छ ।

पाँच वर्षपछि युरोप भ्रमणमा निस्किएका चिनियाँ राष्ट्रपति सी जिनफिङले आफ्नो यात्राको सुरुवात फ्रान्सबाट गरेका थिए । फ्रान्सेली समकक्षी इम्यानुअल म्याक्रोँ र सीले युक्रेनमा युद्धविरामको आह्वान सहित संयुक्त विज्ञप्ति जारी गरेका हुन् ।

राष्ट्रप्रमुखद्वय म्याक्रों र सीबीच आपसी व्यापारका लागि समेत थप सम्झौता हुने भनिए पनि त्यसमा कुनै प्रगति नभएको ली मोन्डेमा समाचार छ । रूसले युद्धमा नयाँ रणनीति अपनाउने घोषणा गरेको केही घण्टाभित्रै दुई मुलुकले युद्धविरामका लागि संयुक्त रूपमा विज्ञप्ति निकालेका हुन् ।

संयुक्त विज्ञप्तिमा चीन हाबी भएको ली मोन्डेको समाचार छ । संयुक्त विज्ञप्ति उद्दृत गर्दै लेखिएको छ,  ‘इतिहास साक्षी छ द्वन्द्वको शान्तिपूर्ण रुपान्तरण संवादको माध्यमबाट नै भएका छन् । युक्रेन र रूस दुबैले संवादको थालनी गर्नुपर्छ ।’

संयुक्त राष्ट्रसंघको संकल्पमा समेत खेलकुदको महाकुम्भको समयमा  युद्ध रोक्नुपर्ने प्रस्ताव उल्लेख गरिएको छ । जुलाई २६ देखि अगस्ट ११ सम्म ओलम्पिक खेल हुँदैछ । यस समयमा युद्धविराम गर्नुपर्ने राष्ट्रसंघको संकल्पलाई मस्कोले भने चुनौती दिएको छ ।

आफूले युद्ध रोकेमा थप क्षति व्यहोर्नुपर्ने भन्दै युद्धविराम नगर्ने रूसको अडान छ । सीको फ्रान्स भ्रमण मंगलबार नै सकिएको छ । उनी अब सर्विया पुग्नेछन् ।

सर्बिया युरोपेली युनियनको सदस्य राष्ट्र भने होइन । सर्बियामा चीनको ठूलो लगानी रहेको छ । मे ८ मा सीले बुडापेस्ट पुगेर युरोपको यात्रा अन्त्य गर्नेछन् । उनले त्यहाँ हंगेरीका राष्ट्रपति भिक्टर अरबानसँग भेट गर्नेछन् ।

हंगेरीले लिएको नीतिबारे युरोपेली युनियनका सदस्यहरूले प्रश्न उठाइरहेका छन् । मस्को र बेइजिङसँग हंगेरीको हिमचिमबारे प्रश्न उठ्ने गरेको छ । अझ उसले सुरक्षा सहकार्य सम्बन्धमा मस्को र बेइजिङसँग सहमति गरेपछि युरोपेली युनियनमा हंगेरीप्रति असन्तुष्टि बढ्दै आएको छ । हंगेरी बीआरआईमा समेत संलग्न राष्ट्र हो ।

युरोप भ्रमणका दौरान मानवअधिकारका सवालमा पनि छलफल हुनेछ । करिब १० लाख तिब्बती बालबालिका शिक्षाबाट बञ्चित भएको उइगुर समुदायप्रति दमन भएको लगायतका विषयमा पनि छलफल गर्ने तयारी युरोपेली आयोगको छ ।

विशेषगरी रूस युक्रेन युद्ध रोक्नका लागि थप पहल लिन म्याक्रोँले दबाब दिनसक्ने अपेक्षा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?