+
+

व्यस्त कार्यतालिकालाई सहज बनाउने नेपाली एप ‘माइ टास्क’

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १० गते १०:५३

काठमाडौं । व्यस्त जीवनशैलीमा आफ्नो व्यक्तिगत, पारिवारिक तथा कार्यालयको कामलाई व्यवस्थित गरेर समयमै सम्पन्न गर्नु सबैका लागि चुनौति हुन्छ । त्यसैले व्यस्त जीवनशैली भएकाहरुले सहयोगी राखेर कामहरुको विवरणलाई डायरीमा टिपोट गर्न लगाउँछन् ।

स्मार्ट दुनियाँमा डायरी र कलम बोकेर कामको विवरण लेखिराख्नुपर्ने झन्झटका बीच दैनिक कामकाज, भेटघाट, बैठक तथा अन्य महत्वपूर्ण कार्यहरु व्यवस्थित गर्ने उद्देश्यले नेपाली युवाहरुले एउटा नयाँ एप विकास गरेका छन् ।

‘माइ टास्क’ अर्थात् ‘मेरो काम’ नाम दिइएको यस एपमा आफूले बिभिन्न समयमा सम्पन्न गर्नुपर्ने कामहरु, महत्वपूर्ण भेटघाट, बैठक तथा निश्चित समयभित्र सम्पन गरिसक्नुपर्ने कामहरुको पहिले मिति, समय र कामको विवरण रेकर्ड गरिन्छ ।

त्यसपछि एपले समयक्रम अनुसार क्रमशः आज, भोलि, एक हप्ताभित्र, एक महिनाभित्र तथा त्यसपछिका दिन र समयमा गर्नुपर्ने कामहरु व्यवस्थित ढंगले देखाउँछ ।

महत्वपूर्ण कामहरु, बैठक तथा निश्चित समयभित्र सम्पन्न गरिसक्नुपर्ने कामहरुको बारेमा तोकिएको समयभित्र एसएमएसमार्फत् प्रयोगकर्ताको मोबाइलमा पूर्वसूचना दिने सुविधासमेत यस एपमा छ ।

त्यस्तै एकै दिनमा गर्नुपर्ने कामको संख्या धेरै भएको अवस्थामा ती कामहरुको प्राथमिकता निर्धारण गर्ने, सम्पन्न भइनसकेका तथा निरन्तर निगरानीमा राख्नुपर्ने कामहरुलाई काम नसकिएसम्म दोहोर्याएर देखाइराख्ने साथै कुनै काम पछिलाई सार्नुपर्ने भए सजिलै सार्न मिल्ने फिचर्स यस एपमा समावेश छ ।

त्यस्तै यस एपमा कुनै पनि बैठक सम्पन्न भैसकेपछि उक्त बैठकका निर्णयहरु भविष्यका लागि सुरक्षित भण्डारण गर्न सकिन्छ । साथै व्यक्तिगत घटनाहरुको जानकारी तथा भ्रमणका रमाइला सम्झनाहरु समेत यस एपमा रेकर्ड गरेर राख्न मिल्छ ।

यस एपका डिजाइनर तथा इनोभेटिभ इन्जिनियरिङ सर्भिसेज प्रालिका कार्यकारी अध्यक्ष इन्जिनियर अनुप खनाल भन्छन्, ‘यो एप नेता, व्यापारी, कर्मचारी, डाक्टर, इन्जिनियर, अभियन्ता, पत्रकार लगायत सबैलाई उपयोगी हुने खालको छ । यो एपले तपाईंको सहयोगीकै रुपमा काम गर्छ ।’

सुरुमा आफ्नै कार्यालयका कर्मचारीहरुको दैनिक कामकाजलाई व्यवस्थित गर्ने उद्देश्यले यो एपको विकास गरिएको भए पनि पछि विभिन्न सुझावहरुको आधारमा सुरुको डिजाइनमा केही विशेष सुविधाहरु थप गरी सबैलाई उपयोगी हुने गरी परिमार्जन गरिएको खनालले बताए ।

सर्वसाधारणलाई जानकारी दिने तथा उनीहरुलाई यसको उपयोगिता परीक्षण गर्न दिने उद्देश्यले कम्पनीले उक्त एपलाई एक हप्ताका लागि निःशुल्क प्रयोग गर्न सकिने गरी वेबसाइटमा राखेको छ । यसको लागि www.stationlogin.com/mytask/login  टाइप गरी आफ्नो एकाउन्ट दर्ता गरेर प्रयोग गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?