+
+

कपालमा कन्डिसनर र ट्रिटमेन्ट क्रिम कसरी लगाउने ?

सुष्मा महरा, सौन्दर्यकर्मी सुष्मा महरा, सौन्दर्यकर्मी
२०८१ जेठ ८ गते १२:१५

स्याम्पु गरेपछि कपाललाई स्वस्थ राख्न कन्डिसनर र ट्रिटमेन्ट क्रिम लगाउने गरिन्छ । यी दुई सामग्रीको प्रयोगले कपाललाई प्राकृतिक रुपले नरम, सिल्की र चम्किलो बनाउन मद्दत पुग्छ । त्यसैगरी कपाल टुक्रिन, झर्न र सुक्खा हुनबाट पनि रोक्छ । साथै कपालमा हाँगा पलाएको छ भने पनि यसको प्रयोगले राहत मिल्छ । त्यसैले कपालमा स्याम्पु लगाएपछि अनिवार्य रुपमा कन्डिसनर लगाउनुपर्छ ।

कसरी लगाउने ?

कपालमा कन्डिसनर र ट्रिटमेन्ट क्रिम लगाउने प्रक्रिया उस्तै हो । सुरुमा कपालमा स्याम्पु लगाएर राम्रोसँग सफा गर्नुपर्छ । स्याम्पु लगाइसकेपछि आफ्नो आवश्यकताअनुसार कन्डिसनर वा ट्रिटमेन्ट क्रिम लगाउनुपर्छ ।

कन्डिसनर र ट्रिटमेन्ट क्रिम लगाउँदा टाउकोको छालाभन्दा आधा इन्चमाथिदेखि कपालमा लगाउनुपर्छ । यी सामग्री लगाइसेपछि कपाललाई हातको सहायताले विस्तारै काइयोले जस्तै गरी केही समय तान्नुपर्छ । यसले कपालको भित्री भागसम्म कन्डिसनर र ट्रिटमेन्ट क्रिम पुर्‍याउँछ । त्यसपछि कपाललाई पाँचदेखि १० मिनेटसम्म यत्तिकै छोडेर राख्नुपर्छ । तर यो कपालको सुक्खापन र बनावटमा भर पर्छ । त्यसपछि कपालमा भएको सेतो फिंज नगएसम्म पानीले राम्रोसँग पखाल्नुपर्छ । कपाल धुँदा हरेकचोटि यसको प्रयोग गर्न सकिन्छ । तर एकचोटि प्रयोग गर्दा यी दुईवटामध्ये एउटाको मात्र प्रयोग गर्नुपर्छ ।

प्राकृतिक रुपमा कपाल राम्रो र स्वस्थ छ, कपालमा रंग लगाएको छैन तर नुहाउँदा कपाल फुंग उड्ने, थोरै सुक्खा देखिन्छ भने यस्तो अवस्थामा स्याम्पु लगाइसकेपछि कन्टिसनर मात्र लगाए पुग्छ । १५ दिन वा एक महिनामा एकपटक ट्रिटमेन्ट क्रिमको पनि प्रयोग गर्न सकिन्छ । तर कपालमा बारम्बार कलर लगाएको छ, कपाल हाइलाइट गरेको छ, कपाल स्ट्रेट गरेको छ र नयाँ कपाल उम्रिंदा फुंग हुने खालको भएमा हेयर ट्रिटमेन्टको प्रयोग गर्न सकिन्छ । यसले कपाललाई नरम, सिधा र चम्किलो बनाउँछ ।

हेयर स्पा वा हेयर ट्रिटमेन्ट पार्लर वा सैलुनमा गएर पनि गर्न सकिन्छ । जुन १५ दिन वा एक महिनाको गरिन्छ, जसलाई ट्रिटमेन्ट बाथ भनिन्छ । कपालको बनावटअनुसार कम्तीमा आधा घण्टादेखि ४५ मिनेट यत्तिकै राखिन्छ । त्यसपछि कपाललाई केही समय ‘स्टिम’मा राखिन्छ । त्यसपछि पानीले राम्रोसँग पखालेर सुकाइन्छ ।

कपालमा कन्डिसनर र ट्रिटमेन्ट क्रिमको प्रयोग गरिसेपछि त्यसको फिंज नजाने गरी पखाल्नुहुँदैन । यदि यदि कन्डिसनर र ट्रिटमेन्ट क्रिम राम्रोसँग पखालिएन भने यसले कपाल झर्ने र चाया पर्ने हुन्छ । साथै कतिपयले हतारहतारमा क्रिममा फिंज नजाने गरी कपाल पखाल्छन् । जसकारण क्रिमको केही अंग टाउकोमा जम्मा भएर चिलाउने, खटिरा आउने र घाउ हुने समस्या हुनसक्छ ।

(महरा काठमाडौं मलस्थित फेसियल हाउसकी सञ्चालिका हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?