१८ असोज, काठमाडौं । प्रमुख अतिथिको कुर्सीमा शेरबहादुर देउवा बस्न आएका भए गगन थापालाई सम्बोधनको अलमल हुने थिएन । उनले महाधिवेशनमा आएकामध्ये कसलाई पहिले सम्बोधन गर्ने एकछिन दुविधामा परे । र, आफैं सभापति भएको सम्झना गर्दै स्थिति सम्हाले ।
कांग्रेस सभापति थापाभन्दा पहिले बोलेका थिए, रास्वपा सभापति रवि लामिछाने । सांकेतिक रुपमा उनले भने, ‘५० वर्षको उमेरमा सभापति बन्नुभएको छ । ४० वर्षको उमेरमै सभापति बन्ने प्रेरणा दिँदा लिएको भए म पनि कांग्रेस बन्थेँ हुँला ।’
लामिछानेले जुन काव्यिक पारामा भाषण थालेका थिए, थापाले त्यस्तै काव्यिक पारामा भाषण सकाएका थिए । लामिछानेले अर्थपूर्ण पुनरुक्तिको प्रयोग गर्दै ‘म पनि कांग्रेस बन्थेँ हुँला’ भन्दै रहे । कांग्रेसको महाधिवेशनमा गएर उसैलाई गरेको कटाक्षको पूरा प्रतिक्रिया भने हेर्न बाँकी छ ।
आफ्नो भाषणलाई बलियो बनाउने प्रयास गर्दै उनले अर्को शक्तिशाली वाक्य बोले, ‘कांग्रेसको शक्ति यसको इतिहास हो । तर कांग्रेसको कमजोरी पनि यसको इतिहास हो ।’ लामिछानेले धेरै व्याख्या नगरे पनि कांग्रेसले गरेका संघर्ष, अनि सत्तामा गएर कांग्रेसले गरेका ठूला गल्तीहरू आम मानिसका आँखामा सर्लक्क आउँछन् ।
र, कांग्रेसलाई रक्षात्मक बनाउनेगरी लामिछानेले अर्को वाक्य बोले, ‘यहीँ सभामा आउनेमध्ये कतिले अस्ति घण्टीलाई भोट हाल्नुभयो होला ।’ कटाक्षमात्रै गरेनन् लामिछानेले । उनले मतमाथिको जमिनदारी नहुने भन्दै राम्रो काम नगरे जोकसैले सदस्यतापत्र च्यात्न स्वतन्त्र हुने यथार्थ खुला–खुला राखिदिए ।
बोल्ने क्रममा सानो कमजोरी पनि उनले गरे । उनले भने, ‘जयनेपाल । तर पार्टीवाला होइन, देशवाला ।’
कटाक्ष गर्दागर्दै कहिलेकाहिँ मानिसहरूले सिमाना पत्तो पाउँदैनन् । लामिछानेका हकमा यस्तै भएको थियो ।

तर लामिछानेले सत्तारुढ पार्टीको प्रमुख हुनुको जिम्मेवारीबोध सकभर गरे, जसलाई थापाले पछि स्वीकार पनि गरे । अनि उनले जाने बेला लामिछानेलाई दनक दिए, ‘हामीलाई भोट हाल्नेहरू पनि यहाँ आएका होलान् भन्नुभयो । हामीले त तपाईंहरूलाई उपसभापति, पदाधिकारीदेखि कति धेरै सांसदसमेत पठाइदिएका छौं, त्यो पनि प्रशिक्षित गरेर ।’
राजनीतिक संवादहरूमा घोचपेच सामान्य हो । तर यो घोचपेचमा न लामिछानेले आफूलाई स्थापित गराउन सके, न त थापाले नै बलियो प्रतिवाद गरे । दुवैजना पार्टीको फस्टम्यान भए पनि एकअर्कालाई लिएर उनीहरूले आफूभित्रको दबाब ‘एक्सपोज’ मात्रै गरे ।
तर विगतमा एक अर्काप्रति सहयोगात्मक, अनि अर्को विन्दुमा आक्रामक भए पनि लामिछाने र थापाबीच एक किसिमको निकटता र भावनात्मक अनुराग छ भन्ने पनि सँगसँगै भाषणका क्रममा प्रष्ट झल्कन्थ्यो । लामिछानेले थापालाई दुई गुन लगाएको संकेत गरे ।
भाषणको सुक्ष्म विश्लेषण गर्दा थाहा हुन्छ– ती गुन थिए : एक, लामिछानेले थापालाई कुनै बेला हस्तक्षेपकारी भएर नेतृत्व लिन दबाब दिएका थिए, जुनबेला उनी तयार थिएनन् । अनि लामिछाने पनि नयाँ पार्टी खोल्ने कुनै चाहनामा थिएनन् ।
दुई, सहकारी ठगी अभियोग लगायत प्रकरणमा तत्कालीन संसदमा थापा र लामिछानेबीच जेसुकै नोकझोंक परे पनि अहिले लामिछाने थापा बलियो भएर गएको हेर्न चाहन्छन् । त्यसैले आफ्नो यात्रामा अवरोध बन्न आउनेहरूलाई फकाउन छाडेर अघि बढ्ने उनको सुझाव छ, थापालाई ।
विशाल विरासत भएको पार्टीको सभापति बनेर पनि थापाले विशाल बहुमत पाएको रास्वपासँग चुनाव हारेका छन् । कांग्रेस पनि हारेको छ । लामिछानेको पार्टीबाट बालेन शाह प्रधानमन्त्री छन् । लामिछानेसँग उनले नियुक्त गर्न प्रस्ताव गरेका प्रधानमन्त्री छन्, तर सत्ता छैन । त्यसैले सम्भवतः उनीहरू दुवैसँग प्रचण्डले दिएको सुझाव कार्यान्वयन गर्नुपर्ने स्थिति छ ।
प्रचण्डको कुरा गर्नुपहिले, खुलामञ्चको प्रसंग । खुलामञ्चमा विगतदेखि उठ्ने गरेका प्रश्न, आक्रोश असहमति र तिनले देशमा ल्याउने गरेका परिवर्तनबारे सभापति थापाले विम्बात्मक रुपमा धेरै भने । उनले प्रधानमन्त्री बालेन शाह संसद् नजाँदा संसद खुलामन्च बन्न नसकेको, त्यो बन्द समाजको प्रतीक बन्न पुगेको कटाक्ष गरे । एन्टिपोलिटिक्सले कसरी हाइपरपोलिटिक्समा लगेर गयो, जसबारे आफूहरूलाई थाहापत्तो हुन सकेन, त्यो तिनले स्वीकारोक्तिपूर्वक भने ।

लामिछानेले यो दिन ‘तिमीहरूकै कारण त आएको हो नि,’ स्टाइलमा बोले । उनले धेरै तयारी गरेको देखिएन, तर मनदेखि बोलिरहेका थिए । चितवनको रास्वपा महाधिवेशनमा तीन महिनाअघि थापा गएर जसरी वाहवाही लुटेका थिए, त्यस्तो फाइदा भने वाकपटुताका धनी लामिछानेले उठाउन सकेनन् ।
तर थापा पनि गत पुसमा महामन्त्रीका रुपमा कांग्रेसको विशेष महाधिवेशन उद्घाटन गर्दा जुन आवेग र संवेगमा थिए, आज भने केही नरमकरम थिए । सभापति बनेपछि भलाद्मी हुनुपर्छ– सायद उनलाई कसैले अह्राएको थियो ।
थापा सम्भवतः भाषण गर्ने क्रममा पहिलोपल्ट निकै भावुक सुनिए । रसुवाको भदौरे बाढीमा बगेका दुई कार्यकर्ताहरूको नाम लिँदा थापाको स्वर डबडबाएको थियो । उनी त्यो प्रसंग सकेर लामिछानेलाई कटाक्ष गर्न थाल्दासम्म पनि अघिको भावुकतामा डुबिरहेका थिए । उनका आँखा रसाएका थिए र नाक सिंक्क गरिरहेको थियो ।
लामिछानेले थापाअघि बोले पनि एउटा मौका मज्जाले छोपे । संसदमा प्रधानमन्त्री नआएको विषयमा थापा जति मुखर सुनिए, त्योभन्दा बढी लामिछानेले प्रखर सुनिए, कांग्रेस महाधिवेशनमा देउवा नआएको विषयमा । सरकार र पार्टीको काम आफूहरूले बाँडेको लटरपटर जवाफ त उनले दिए, जो स्वाभाविक सुनिँदैनथ्यो । (सायद रवि लामिछाने आफैं पनि भित्रबाट बालेन अनुपस्थितिको यो तर्क स्वीकार गर्दैनन्) । तर कांग्रेस अधिवेशनमा देउवा वा केही व्यक्ति नआएर फरक नपर्ने जुन सन्देश लामिछानेले मन्चबाटै दिए, त्यसले भने थापालाई पनि सम्भवतः त्राण दियो ।
अब लामिछानेभन्दा पहिले बोलेका प्रचण्डको कुरा । नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री छँदा लहरै मन्त्री बनेका नेताहरू (बाबुराम भट्टराईसहित) लाई हेर्दै इतिहासको मायामा फसे । उनले भने, ‘कुनै बेला म क्रमभंग गर्थें । मैले भन्नेगरेको क्रमभंग गगनजीले गर्नुभयो, अब रविजी पनि गर्नुहोस् ।’ स्थापित पार्टीहरूको दबदबाबाट बाहिर निस्केर नयाँ दल खोल्दै यहाँसम्म हस्तक्षेप गरिसक्दा पनि अब लामिछानेले कुन क्रमभंग गर्नुपर्ने हो, प्रचण्डले त्यो त खुलाएनन् । तर सायद उनको संकेत सत्तातर्फ थियो, जो लामिछानेले पाएकै छैनन् ।
तर राजनीतिको क्रमभंग गर्ने जिम्मा आफ्नो दलको नयाँ पुस्ता होइन, अर्को दलको नेतालाई दिएको प्रचण्ड शैली स्वयं उनको दलभित्र कसरी हेरिएला– केही दिन कुरौं ।

त्यसैले लामिछानले आफूसँग छुटेकालाई यहीँ छाड्न आग्रह गर्दा प्रचण्डले भने थापालाई आग्रह गरे, ‘ती छुटेकाहरूलाई पनि साथै लिएर अघि बढ्नुहोस् ।’ प्रचण्डको ठूलो गुनासो थियो, इतिहासको ‘सम्मान नभएकामा ।’ हरेक आन्दोलन र क्रान्तिको उद्देश्य नै इतिहासको एक हदसम्म असम्मान गर्नु हो, त्यसलाई प्रश्न गर्नु हो र नयाँ समाधानसहितको यथार्थ निर्माण गर्नु हो, जसबारे प्रचण्डजस्ता तत्कालीन विद्रोही अजानकार छैनन् । तर त्यो पनि कुनै समयको कुरा हो ।
विश्वप्रकाश शर्माले जलवायु न्यायको जोडदार आह्वानसहित दिएको मन्तव्यलाई आज एकैछिन बिसाउँ । उनले पारिस्थितिकीय चक्र प्रभावित हुँदा मानव जाति र समग्र पृथ्वीलाई के हुन्छ भन्नेबारे निकै जीवन्त दृष्टान्त दिएका थिए । तर यो क्रममा चर्चा गरुँ एमाले महासचिव शंकर पोखरेलको मन्तव्यको ।
अहिले राष्ट्रिय राजनीतिको गति र दिशालाई लिएर एमालेसँग भन्ने कुरा निकै कम छ । तर पोखरेलले सीमित घेराभित्र पनि आफूलाई व्यक्त गर्ने सक्दो कोसिस गरे । घेरा तोड्न उनी पार्टीभित्रै भर्खरै असफल जो भएका थिए ।
पोखरेलले गणतन्त्रको नारा उराल्ने त्रिचन्द्र क्याम्पसताकाका दिनहरूको सम्झना गरे । त्यस बेला नेविसंघ, अखिलहरूले थालेको विद्रोहको हुँंकार कालान्तरमा सत्ता उलटपुलटको कारकमात्रै बनेन, नेपालको इतिहासबाट राजसंस्था नै बढारियो । कुनै बेला अखिल अध्यक्ष रहेका पोखरेल अनि त्यस बेलाका एमाले युवाहरू यसको अग्रपंक्तिमा थिए । तर गगन थापा लगायतको गर्जन यति स्पष्ट, प्रखर र सम्झौताहीन बनिदियो कि त्यसको शक्तिसँग स्वयं गिरिजाप्रसाद कोइराला सशंकित हुन थालेका थिए ।
पोखरेलले त्यसैको सम्झना गर्दै भने, ‘राणाशासन, पन्चायात, ज्ञानेन्द्रको शासनविरुद्ध हामी साथै उभिएका थियौं । अहिले निराश युवालाई थप निराश हुन नदिन पनि हामी साथसाथै उभिने बेला आएको छ ।’ केही वर्षअघि दुईदलीय व्यवस्था हुन सक्ने आकलन गर्दै आएका पोखरेल स्वयं यति बेला तेस्रो दलको नेता छन् । उनको दुई दलभित्र सोचिएका कांग्रेस र एमालेबीच फेरि पनि सहकार्यको खाँचो उनले औंल्याए ।
कुनै बेला प्रखर भाषणका लागि दोस्रो मदन भण्डारी भनिने गरेका पोखरेलले आज कांग्रेस सभामा भने त्यसको कुनै झल्को दिन सकेनन् । रसुवाबाट सुरु हिमाली सुनामीका कारण कांग्रेसले उल्लास र तामझामबेगरको सादा मन्च बनायो, तर नेताहरूले दह्रै बोले । पोखरेलले चाहिँ आफ्नो मन्तव्यमा समेत सादगीपन देखाए । यति हुँदाहुँदै पनि उनले जेनजी विद्रोहपछिको समयमा उमेर र अनुहारको नयाँपन खोजिएकाप्रति फरक धारणा भने राखे । उनले थपे, ‘केवल अनुहार बदलेर केही हुँदैन, नयाँ राजनीतिक क्रान्तिको आवश्यकता अझै छ ।’
त्यो क्रान्ति कस्तो होला, कसले गर्ने होला त्यो क्रान्ति ? पोखरेलले केही बताएनन् । पक्कै कुनै दिन बताउलान् ।
प्रतिक्रिया 4