+

कस्तो अवस्थामा बच्चालाई एनआईसीयूमा राखिन्छ ?

२०८१ जेठ  ११ गते १८:२५ २०८१ जेठ ११ गते १८:२५
कस्तो अवस्थामा बच्चालाई एनआईसीयूमा राखिन्छ ?

जन्मिनेबित्तिकै शिशुमा श्वासप्रश्वाससम्बन्धी समस्या भएमा एनआईसीयूमा राखिन्छ । नवजात शिशुलाई राखिने भेन्टिलेटरसहितको उपचार कक्षलाई नवजात शिशु सघन उपचार कक्ष अर्थात् एनआईसीयू भनिन्छ ।

कस्तो अवस्थामा एनआईसीयूमा राखिन्छ ?

शिशु जन्मिनेबित्तिकै श्वासप्रश्वासमा समस्या अर्थात् श्वास फेर्न समस्या भएमा, शिशुको रगतमा ग्लुकोजको कमी भएमा, शिशुको तौल एकदम कम भएमा, मेनिनजाइटिस (रक्तसञ्चारमा ब्याक्टेरियाको कारण हुने संक्रमण) भएमा एनआईसीयूमा राखिन्छ । त्यस्तै शिशुमा जन्मिंदा मुटु, फोक्सो, आन्द्राको विकास राम्रोसँग नभएको अवस्थामा पनि एनआईसीयूमा राख्नुपर्ने हुन्छ ।

शिशुलाई आमाको गर्भमा नै हुँदा वा बाहिरी संक्रमण जस्तै गम्भीर खालको निमोनिया र रगतमा संक्रमण भएमा, शिशुलाई शल्यक्रिया गर्नुपर्ने अवस्थामा, आमा र शिशुको ब्लड ग्रुप नमिल्दा पनि एनआईसीयूमा राख्नुपर्ने हुन्छ ।

खासगरी समयअगावै जन्मेको शिशु अर्थात् ३२ हप्ताभन्दा अघि जन्मिएका शिशुलाई एनआईसीयूमा राख्नुपर्ने हुन्छ । त्यस्तै कतिपय शिशुलाई एसएनसीयू अर्थात् स्पेसल न्युबर्न केयर युनिटमा पनि राख्नुपर्ने हुन्छ । शिशुको स्वास्थ्य अवस्था बिग्रिने आशंका भएका शिशुलाई यसमा राखिन्छ । साथै एनआईसीयूबाट उपचार भएर आएका शिशुलाई यसमा राखेर हेरचाह गरिन्छ ।

कति दिन राख्नुपर्ने हुन्छ ?

एनआईसीयूमा राख्ने समयावधि शिशुको स्वास्थ्य अवस्थामा निर्भर गर्छ । तर सामान्यतया यसमा कम्तीमा ४८ देखि ७२ घण्टा राखिन्छ भने कतिपय शिशुलाई दुई महिनासम्म पनि राख्नुपरेको अवस्था छ ।

एनआईसीयूमा राखेको शिशुलाई के खुवाइन्छ ?

एनआईसीयूमा राखेको शिशुलाई बाहिरी खानेकुरा प्राय: खुवाइँदैन । किनभने नवजात शिशुको शरीर एकदम कमलो हुन्छ । तिनीहरुलाई एउटा वयस्कलाई जस्तै फोक्सोमा समस्या भए फोक्सोमा मात्र समस्या देखिन्छ तर शिशुको हकमा मुख्य समस्या फोक्सोमा भएपनि अन्य अंगले पनि काम नगरेको हुनसक्छ । त्यसैले एनआईसीयूमा राखेको शिशुलाई चाहिने पोषकतत्व जस्तै ग्लुकोज, पानी, प्रोटिन सलाइन र सुईमार्फत दिइन्छ ।

कतिपय अवस्थामा शिशुको अत्याधिक गम्भीर नभएको अवस्थामा भेन्टिलेटरमा भएको शिशुलाई नाकबाट पाइप छिराएर आमाको दूध खुवाइन्छ । शिशुलाई एनआईसीयूमा राखेको दुई-तीन त बाहिरको खानेकुरा केही पनि दिइँदैन ।

एनआईसीयूमा राखेको शिशुमा दीर्घकालीन कुनै असर हुन्छ ?

धेरै समय एनआईसीयूमा राखेर उपचार गरिएका शिशुमा भेन्टिलेटरको कारण फोक्सोको प्रेसर बढ्ने समस्या हुनसक्छ । त्यस्तै एनआईसीयूमा राखेका शिशुलाई नसामार्फत औषधि दिने भएकाले पछि नसा ब्लक हुने समस्या हुनसक्छ । जस्तै- शिशुले जन्मिनेबित्तिकै श्वास फेरेन भने मस्तिष्कमा अक्सिजनको कमी भएर दिमागमा असर गर्छ । यसले गर्दा पछि शिशुमा अपांगता हुने, मानसिक समस्या हुने हुनसक्छ । एनआईसीयूमा राखेको कारणले भन्दा पनि एनआईसीयूमा राख्नुभन्दा पहिला देखिएको समस्याले दीर्घकालीन असर पुर्‍याउन सक्छ ।

गर्भावस्थामा समस्या भएमा

गर्भावस्थामा उच्च रक्तचाप, मधुमेह, पाठेघरको बनावटमा समस्या, गर्भवती महिलामा कुनै क्रोनिक रोगको समस्या देखिएमा शिशु जन्मिसकेपछि एनआईसीयूमा राख्नुपर्ने हुनसक्छ । किनभने यस्ता शिशुमा शरीरको विकास राम्रोसँग हुन पाएको हुँदैन ।

खर्च कति लाग्छ ?

शिशुको स्वास्थ्य अवस्थाअनुसार खर्च फरक-फरक हुन्छ । तर थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा एनआईसीयूको उपचार निःशुल्क छ ।

एनआईसीयू डा. कल्पना उपाध्याय सुवेदी बालबच्चा
डा. कल्पना उपाध्याय सुवेदी
लेखक
डा. कल्पना उपाध्याय सुवेदी
प्रमुख कन्सल्टेन्ट बालरोग विशेषज्ञ

डा. उपाध्याय हाल काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा प्रमुख कन्सल्टेन्टको रुपमा कार्यरत छिन् । उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर १६८९ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय