+
+

‘सुपरस्टार’को विरासत हस्तान्तरणको बाटोमा शिव श्रेष्ठ

विष्णु शर्मा विष्णु शर्मा
२०७८ फागुन २० गते ८:३०

२० फागुन, काठमाडौं । ‘सुपरस्टार’ हुनु भनेको के हो ? के कुराले औसत अभिनेतालाई ‘सुपरस्टार’ तुल्याउँछ ? नेपाली कला क्षेत्रमा वर्षौंदेखि चल्दै आएको यो प्रश्नलाई हामीले अभिनेता शिव श्रेष्ठसामु सोध्यौं । श्रेष्ठको जवाफ अनपेक्षित थियो, ‘म आफूलाई सुपरस्टार ठान्दिनँ । म असल कलाकार हुँ । छोरालाई पनि सुपरस्टार हैन, असल कलाकार बन्न प्रेरित गर्छु ।’

शिवले यी जवाफ दिइरहँदा उनीसँगै रहेका छोरा तथा अभिनेता शक्ति श्रेष्ठ पिताको अनुहारमा ध्यानपूर्वक हेरिरहेका थिए । शिवको चाहना सुस्पष्ट थियो– ‘छोरा शक्तिले सुपरस्टार लिगेसी हैन, असल कलाकारको लिगेसीलाई निरन्तरता देओस् ।’ यसो भनिरहँदा उनी हालका दिनमा निकै चल्तीमा रहेको ‘सुपरस्टार’ बहस र विवादतर्फ पनि सजग सुनिए ।

वंशवाद र सुपरस्टारको विरासतलाई निरन्तरता दिने सिंगो दक्षिण एसियाली कला क्षेत्रको प्रवृत्ति विरोधमा शिव उभिएका थिए । सुपरस्टार होइन असल कलाकार बन्नुपर्छ भन्ने ड्याडी शिवको सल्लाहमा छोरा शक्तिले पनि सहमति जनाए । ‘उहाँ मेरो पिता हो र उहाँका असल कामलाई म निरन्तरता दिनेछु । मेरो चाहना पनि सुपरस्टारभन्दा असल कलाकार बन्ने नै हो,’ शक्तिले भने ।

सुपरस्टारको सन्तान हुनुले प्रसिद्धी मात्र हैन, चुनौती पनि सिर्जना गर्ने अनुभव शक्तिको छ । छोरा शक्ति पिता शिवलाई ‘डाउन टु अर्थ’ स्वभाव भएको र यही विशेषता नै उनको लोकप्रियताको कारण बनेको बताउँछन् ।

यही कारण हुनुपर्छ बाबुछोराको केमेस्ट्री पछिल्लो समय निकै लोभलाग्दो देखिन्छ । शुक्रबारदेखि प्रदर्शन हुन लागेको ‘लप्पनछप्पन २’को प्रचारप्रसार पनि मिलेर सँगै गरिरहेका छन् । अनलाइनखबरसँगको संवादमा शिवले छोरा शक्तिलाई छोराभन्दा एउटा असल साथीको रुपमा व्याख्या गरे । ‘घरमा मात्र हामी बाबुछोरा हौं । सुटिङ सेट र बाहिर चाहिँ हामी मिल्ने साथी,’ शक्तिले केमेस्ट्रीबारे बताए ।

३४ वर्षअघि पाकिस्तानमा रिलिज भएको उर्दूभाषी फिल्म ‘टाइगर’मा शिव नायक थिए भने छोरा शक्ति बालकलाकार । त्यसयता यी दुईले ‘यस्तो एउटा प्रेम कहानी’मा सँगै काम गरे । मुकुन्द भट्ट निर्देशित ‘लप्पनछप्पन २’मा शिव र शक्ति दुवै सँगै कमब्याक भएका छन् । ‘छोरा शक्तिसँग खेल्न पाएकोमा म खुसी छु । टाइगर खेल्दादेखि नै उसमा गज्जबको आत्मविश्वास देखेको थिएँ । त्यो आत्मविश्वासले लप्पनछप्पनमा पनि निरन्तरता पाएको देखेको छु । त्यसलाई उसले कायमै राख्नुपर्छ ।’

बाबुको यही अपेक्षा र सल्लाहलाई ध्यान दिंदै शक्ति अहिले अष्ट्रेलियाबाट नेपाल फर्किएका छन् । बाबुको लिगेसीलाई निरन्तरता दिनेबारे शक्तिका आफ्नो योजना छन्, जसलाई उनी सतर्कतापूर्वक अघि बढाउन चाहन्छन् । दर्शकको चाहनाअनुसार अघि बढ्ने र स्तरीय फिल्म छनोट गरेर काम गर्ने उनका प्राथमिकता तय छन् । सोहीअनुसार बाबुले चाहेजस्तै असल कलाकार बन्न सकिने छोरा शक्तिको विश्वास छ ।

सफल कलाकार हुन सिकाइ जरुरी’

नेपोटिज्म बहस लामो समयदेखि नेपाल र बलिउडमा चल्दै आएको एउटा मसला हो । पटक–पटक यसबारे कलावृत्तमा टीकाटिप्पणी हुँदै आएका छन् । तर नेपोटिज्म र वंशवादलाई शिव सकारात्मक रुपमा लिनुपर्ने बताउँछन् । ‘कलाकारको लिगेसीलाई उनका सन्तानले निरन्तरता दिनुलाई सकारात्मक रुपमा लिनुपर्छ । अन्ततः यसले मुलुक र कला क्षेत्रलाई भविष्यमा फाइदा पुग्छ नै,’ शिवले बताए ।

तर असल र सफल कलाकार बन्न छोरा शक्तिसामु शिवका केही सर्त र अपेक्षा छन् जस्तो शक्तिले अझै धेरै सिक्नुछ र बुझ्नुछ । आफूले पनि ४० वर्षदेखि निरन्तर सिकिरहेको र अहिले पनि सिकाइको प्रक्रिया चलिरहेको बताउँदै शिवले सिक्ने जाँगर नै छोराको पूर्वसर्त हुनुपर्ने धारणा राखे ।

साथै, रुचिअनुसार आफूलाई तयार राख्न छोरालाई शिवको सुझाव छ । ‘ऊ बच्चैदेखि सत्यवादी र इमान्दार छ । यो कुरामा मलाई गर्व छ । उसले परिवार, काम र सबैथोक देखेको छ,’ शिव भन्छन् ।

‘सिकाइलाई केन्द्रमा राखेर काम गर्ने हो भने असल कलाकार बन्न सकिन्छ । छोराले पनि अझै सिकोस् भन्ने मेरो चाहना छ,’ शिवको सुझाव छ, ‘नत्र सुपरस्टार बन्नतिर लागियो भने सिक्ने प्रक्रिया अवरुद्ध हुनसक्छ । असल कलाकार बन्न सिक्ने कुरामा अल्छी गर्नुहुँदैन ।’ छोरा शक्ति मात्र हैन, कलाकारितामा लाग्न चाहने नयाँ पुस्तालाई उनी सिक्ने कुरामा अघि बढ्न सुझाव दिन्छन् ।

उहाँको लेभलमा पुग्न असम्भव’

रुचिअनुसार आफूलाई तयार राख्न छोरालाई शिवको सुझाव छ । ‘ऊ बच्चैदेखि सत्यवादी र इमान्दार छ । यो कुरामा मलाई गर्व छ । उसले परिवार, काम र सबैथोक देखेको छ,’ शिव भन्छन् ।

सुपरस्टारको सन्तान हुनुले प्रसिद्धि मात्र हैन, चुनौती पनि सिर्जना गर्ने अनुभव शक्तिको छ । छोरा शक्ति पिता शिवलाई ‘डाउन टु अर्थ’ स्वभाव भएको र यही विशेषता नै उनको लोकप्रियताको कारण बनेको बताउँछन् ।

‘जसरी फल लागेको वृक्ष झुकेको हुन्छ उसैगरी उहाँको एटिच्युड पनि जहिल्यै डाउन टु अर्थ महसुस हुन्छ,’ सुपरस्टार पिताप्रति छोरा शक्तिको विश्लेषण छ, ‘उहाँ काममा इमान्दार मान्छे । वास्तवमै वर्क एथिक भएको । जिम्मेवारी लिएपछि काम पूरा गर्नुपर्छ भन्नेमा उहाँ इमान्दार देख्छु ।’

पिताका यिनै गुणलाई आत्मसात गरेर अघि बढ्ने बाटोमा आफू रहेको शक्तिको कथन छ । ‘उहाँको लिगेसी उहाँले कति नाम कमाउनुभयो र कतिजनाले उहाँलाई चिन्छन् भन्नेमा हैन । मुख्यतः कस्ता स्वभावले उहाँलाई सफल तुल्यायो । त्यो लिगेसीलाई म निरन्तरता दिन चाहन्छु,’ उनको ठम्याइ छ, ‘उहाँको लेभलमा पुग्न त कठिन छ, तर दर्शकको रुचिअनुसार नै अघि बढ्नेछु ।’

बुवा शिवको व्यावसायिक स्वभावबाट आफू प्रभावित भएको शक्तिको बुझाइ छ । भन्छन्, ‘त्यही बानीले गर्दा म सुटिङ सेटमा म आफूलाई पात्र मान्छु र घरमा उहाँलाई बुवा । किनभने यो गुण उहाँबाटै मैले सिकेको हुँ । एउटा सफल कलाकारमा हुनुपर्ने यो नितान्त महत्वपूर्ण बानी पनि हो । परिवार र व्यवसायलाई सन्तुलनमा राख्ने बुवाको त्यही स्वभावलाई म पछ्याइरहेको छु ।’

अर्कोतर्फ फिल्म हिट हुन पुस्ता बलियो भएर मात्र हुने हैन, कथावस्तु र यसको संरचना बलियो हुनुपर्ने उनको धारणा छ ।

लिगेसीलाई निरन्तरता दिन भुवनसँग टिमअप

गफगाफमा शिवले सुपरस्टारको लिगेसीलाई निरन्तरता दिनेबारे आफ्नो एउटा योजना सुनाए । भुवन केसीको निर्माण कम्पनी सुपर काजल फिल्म्ससँग मिलेर आफूले फिल्म बनाउन लागेको र यसमा आफू र भुवनसहित शक्ति र अनमोललाई पनि लिड रोलमा खेलाउने तयारीबारे उनले जानकारी दिए ।

‘भुवन र म अनि हाम्रा छोराहरुको अभिनय हुने फिल्म निर्माणबारे छलफल चलेको छ । भुवनले पनि यसबारे आफू इच्छुक रहेको बताएको छ,’ शिवले सुनाए, ‘एक फिल्म तर दुई पुस्ताको यो प्रोजेक्टले नेपालमा कलाकारिताको पुस्ता हस्तान्तरणबारे पनि राम्रो सन्देश दिन्छ ।’

यस्तो खालको टिमअपले नयाँ पुस्तालाई हौसला दिने र लिगेसी हस्तान्तरणमा पनि सजिलो हुने भुवन र आफ्नो मतैक्य रहेको शिव बताउँछन् । कुनैबेलाका यी दुई व्यावसायिक प्रतिद्वन्दी करिअरको उत्तरार्द्धमा आएर के कुरामा सहमत छन् भने अब अनुभव, ज्ञान र सीपलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने बेला आइसक्यो । सम्भवतः यही सोचका कारण हुनुपर्छ शिव र भुवन जतिसक्दो चाँडो नयाँ पुस्ता हन्तान्तरणकै सोचअनुसार नयाँ फिल्म निर्माणको यात्रामा जुटेका छन् ।

अन्त्यमा प्रश्न त्यहीं आउँछ, उनीहरुले हस्तान्तरण गर्ने लिगेसी चाहिं के होला- सुपरस्टार वा असल कलाकार ?

तस्वीर/भिडियो : शंकर गिरी/अनलाइनखबर

लेखकको बारेमा
विष्णु शर्मा

शर्मा अनलाइनखबर डटकमका उपसम्पादक हुन् । उनी कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?