+
+

चिनियाँ नेतृत्वको एआईआईबी बैंकले रुसमा बन्द गर्‍यो आफ्ना गतिविधि

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २० गते १२:४९

२० फागुन, काठमाडौं । चीनको नेतृत्वमा रहेको एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंक (एआईआईबी) ले रुस र बेलारुसमा आफ्ना सबै वित्तीय गतिविधि बन्द गरेको छ ।

एआईआईबीले ‘विकसित हुँदै गएको आर्थिक एवं वित्तीय परिस्थिति’लाई मध्यनजर गर्दै रुस र बेलारुसमा आफ्ना सबै गतिविधि बन्द गरेको जनाएको हो । उक्त बैंकको कदमलाई युक्रेन हमलापछि प्रतिबन्ध एवं विरोध खेपिरहेको रुसप्रति चिनियाँ समर्थन सीमित हुँदै गएको अर्थमा हेरिएको छ ।

‘व्यवस्थापनले यी परिस्थितिका कारण एवं बैंकको अधिकतम हितलाई मध्यनजर गर्दै रुस र बेलारुससँग सम्बन्धित सबै गतिविधि बन्द एवं पुनरावलोनक गर्ने निर्णय गरेको छ’, बेइजिङस्थित बैंकले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

संसारभर १०५ सदस्य रहेको बहुपक्षीय विकास बैंक एआईआईबीले रुस र बेलारुसमा सबै व्यावसायिक गतिविधि बन्द गर्नुको कारण प्रस्ट रुपमा खुलाएको छैन । तर प्रभावित सबैप्रति आफ्नो समर्थन एवं सहानुभूति प्रकट गरेको छ । ‘हामीले पीडामा रहेका सबैप्रति सहानुभूति राख्छौं’, बैंकले भनेको छ ।

बैंक अफ चाइनासहित कैयौं सरकारी वित्तीय संस्थाले रुसी तेल एवं कम्पनीसँग जोडिएका कारोबारका लागि आर्थिक सहयोग बन्द गरेपछि एआईआईबीले समेत रुस र बेलारुसमा आफ्ना गतिविधि बन्द गर्ने घोषणा गरेको हो ।

एआईआईबीले रुसमा ८० करोड अमेरिकी डलर बराबरका दुई वटा परियोजनामा लगानी गरेको छ तर बेलारुसमा भने हालसम्म कुनै परियोजना सुरु भएको छैन ।

विश्व बैंकलगायतका पश्चिमी वित्तीय संस्थाको वर्चस्वलाई काउन्टर दिँदै सन् २०१६ मा स्थापित बैंकको पछिल्लो कदमलाई सांकेतिक रुपमा बुझ्नु पर्ने हङकङस्थित नाटिसिसका वरिष्ठ अर्थशास्त्री गेरी नग बताउँछन् ।

‘चीनबाट रुसलाई सीमा वारपार प्राप्त हुने अधिकांश कर्जा नीतिगत बैंकले प्रदान गर्न सक्छन् तर यो कुनै पनि भू-राजनीतिक कदमबाट हुने लाभ तथा हानिको लेखाजोखा गरिरहेको चीनले रुसलाई निशर्त समर्थन नगर्न पनि सक्छ भन्ने कुराको अर्को उदाहरण हो’, अलजजिरासँग कुरा गर्दै नगले भने ।

एआईआईबीको बहिर्गमनले रुसमाथि लगाइएका विश्वव्यापी आर्थिक प्रतिबन्धको दबाब बहु राष्ट्रिय संगठनमा समेत प्रस्ट देखिन थालेको पनि नगको बुझाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?