+
+

कूटनीतिको आँखीझ्यालबाट नेपालका राजनीतिक दल

परराष्ट्रनीति सिद्धान्त हो भने कूटनीति त्यसको कार्यान्वयन तथा व्यवहार। परराष्ट्रनीति र कूटनीतिको बीचमा घनिष्ट सम्बन्ध रहेको हुन्छ। अर्थात् परराष्ट्रनीति र कूटनीति एउटा सिक्काका दुइटा पाटा हुन्।

केशव खतिवडा केशव खतिवडा
२०७८ फागुन २५ गते ९:१६

यो सूचना र प्रविधिमा भएको विस्फोटक प्रगतिले चौथो औद्योगिक क्रान्ति भनिने आर्टिफिसियल इन्टेलिजेन्सको युग हो। विश्वव्यापीकरणका दुष्प्रभावहरूलाई नियन्त्रण गर्दै राष्ट्रिय विशेषता अनुकूल स्वीकार र प्रयोग गर्ने न्यायिक विश्वव्यापीकरणको युग हो। सैनिक गठबन्धनको सट्टा आर्थिक गठबन्धनको युग हो। गुप्त र टु ट्रयाक डिप्लोमेसीको सट्टा खुला र थ्री ट्रयाक डिप्लोमेसीको युग हो। पब्लिक एडमिनिष्ट्रेसनको सट्टा न्यू पब्लिक म्यानेजमेन्टको युग हो।

यी पर्यावरणीय सवालहरूले गर्दा हरेक राज्यको मूल चरित्रमा परिवर्तन आएको छ। परिणामस्वरूप नवीन अवधारणागत अन्तर्विरोधहरू सृजना भएका छन्। साथै राज्यको अवधारणा र नेतृत्वमा एकसाथ क्षयीकरण हुने खतरा बढेको छ। यस अर्थमा राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा देखापरेका बहुआयामिक विविधताहरूको राष्ट्रिय हित अनुकूल सम्बोधन गर्न सक्ने नेतृत्व र त्यसले अख्तियार गर्ने समयानुकूलको परराष्ट्रनीति र कूटनीति कौशलता आजको प्रमुख आवश्यकता हो।

विदेश मामिलामा के गर्ने भन्ने विषय परराष्ट्रनीति हो भने कसरी गर्ने भन्ने कौशलता, प्रक्रिया र पद्धति कूटनीति हो। अन्तर्राष्ट्रिय सम्बन्धलाई सफल व्यवस्थापन गर्न सक्ने व्यावसायिकता, कला वा प्रक्रियालाई कूटनीति भनिन्छ। कुनै पनि द्विपक्षीय वा बहुपक्षीय कार्य वा समस्यालाई पारस्परिक सहमतिको आधारमा आफ्नो राष्ट्रिय हितको संरक्षण गर्दै सम्पादन गर्नुलाई सफल कूटनीति मानिन्छ। यसको मूल उद्देश्य आफ्नो मुलुकको हितको आपूर्ति गर्नु हो, जसअन्तर्गत शान्तिसुरक्षा, अर्थव्यवस्था, व्यापार, विकास निर्माण, ऋण सहयोग तथा अनुदान, पारवहन जस्ता राष्ट्रिय महत्वका सवालहरू पर्दछन्।

परराष्ट्रनीति सिद्धान्त हो भने कूटनीति त्यसको कार्यान्वयन तथा व्यवहार। परराष्ट्रनीति र कूटनीतिको बीचमा घनिष्ट सम्बन्ध रहेको हुन्छ। अर्थात् परराष्ट्र र कूटनीति एउटा सिक्काका दुइटा पाटा हुन्। कूटनीतिको अवधारणा राज्यको जतिकै पुरानो रहेको भएतापनि ‘डिप्लोमेसी’को प्रयोग सर्वप्रथम बेलायतका राजनीतिज्ञ तथा कूटनीतिज्ञ एडमण्ड वर्कले युरोपमा गरेका थिए।

 परराष्ट्र नीति हरेक मुलुक अन्तर्राष्ट्रिय जीवनमा प्रवेश गर्ने एउटा माध्यम हो। पूर्वीय जगतमा चाणक्यलाई कूटनीतिका पिता भनिन्छ, जसले साम, दाम, दण्ड, भेद वा सम्झाउने, प्रलोभन देखाउने, धम्की दिने वा शक्ति देखाउने र फुटाउने जस्ता चारवटा सिद्धान्त प्रतिपादन गरेका थिए। हिन्दू धर्मशास्त्र अनुसार अग्निलाई प्रथम दूत र महर्षि नारदलाई सफल दूत मानिन्छ। महाभारतको उद्योग पर्वमा साहसी, प्रष्टवक्ता, मृदुभाषी, दयालु, विपक्षीलाई आफ्नो भनाइमा सहमत गराउन सक्ने, अरुको कुरालाई ध्यानसँग सुन्ने र चतुर जस्ता गुणहरू दूतमा हुनुपर्दछ भनी उल्लेख गरिएको छ।

स्थायी रूपमा राजदूत पठाउने प्रचलनको सुरुवात १४औं शताब्दीमा इटालीको भेनिसबाट सुरु भएको हो। भेनिस गणराज्यमा लुई ११औंले पहिलो पटक प्रतिनिधि नियुक्त गरी अन्य राष्ट्रमा पठाएका थिए भने संस्थागत रूपमा स्थायी कूटनीतिको लागि फ्रान्सले परराष्ट्र सम्बन्धी पहिलो कार्यालय सन् १६२६ मा स्थापना गर्‍यो भने बेलायतले सन् १७८२ मा स्थापना गर्‍यो। पृथ्वीनारायण शाहको पालामा खोलिएको जैसी कोठालाई नेपालको पहिलो संगठित वैदेशिक मामिला हेर्ने अड्डा मानिन्छ। यसमा भानु जैसीलाई नियुक्त गरिएको थियो।

आधुनिक कूटनीतिको संस्थागत कार्यान्वयन सन् १९६१ मा सम्पन्न भएको भियना महासन्धिलाई मानिन्छ। उक्त महासन्धिमा ८१ वटा राष्ट्रले हस्ताक्षर गरेका थिए भने सन् १९६४ मा २२ राष्ट्रले अनुमोदन गरी कूटनीतिक सम्बन्ध सम्बन्धी भियना महासन्धि कार्यान्वयनमा ल्याएका थिए।

भियना महासन्धिले कूटनीतिका मुख्य पाँच वटा काम उल्लेख गरेको छ –

१. विदेशमा आफ्नो राज्यको प्रतिनिधित्व गर्नु,

२. अन्य राज्यहरूसँग विविध विषयमा वार्ता गर्नु,

३. अन्तर्राष्ट्रिय कानुन बमोजिम विदेशमा आफ्ना नागरिकहरूको हित संरक्षण गर्नु,

४. अन्य राज्यको बारेमा जानकारी हासिल गरी आफ्नो देशलाई जानकारी गराउनु,

५. आफ्नो मुलुक र अन्य मुलुकको बीचमा आर्थिक, सांस्कृतिक, राजनैतिक तथा वैज्ञानिक क्षेत्रमा मैत्रीपूर्ण सम्बन्ध स्थापना र विकास गर्नु।

समयको कालखण्डको हिसाबले कूटनीतिलाई मूलत: दुई किसिममा विभाजन गरिएको छ। सन् १९१९ भन्दा अगाडिको कूटनीतिलाई परम्परागत वा गुप्त कूटनीति भनिन्छ।

गुप्त ढङ्गले गरिने सन्धि, सम्झौता तथा द्वैध चरित्रको भूमिकालाई परम्परागत कूटनीति भनिन्छ। विगतमा नेपालले पनि गुप्त कूटनीतिको अभ्यास गरेको पाइन्छ। नेपाल भारतबीच सम्पन्न भएको सन् १९५० को सन्धि सन् १९६० तिर मात्र सार्वजनिक भएको थियो भने सन् १९६५ मा सम्पन्न भएको हातहतियार सम्बन्धी सम्झौता पनि करिब ८० को दशकतिर मात्र सार्वजनिक भएको थियो। प्रजातन्त्रको पुनर्बहाली पछि नेपाल भारतबीच सम्पन्न महाकाली सन्धिलाई पनि गुप्त मोडलमा सञ्चालन गर्ने प्रयत्न गरिएको थियो।

भारतीयहरूले मानसरोवर र कैलाश जाँदा नेपालको बाटो हुँदै जानुपर्ने अवस्थाको अन्त्य गर्न र भारत र चीनबीचको पारस्परिक व्यापार अभिवृद्धि गर्न लिपुलेक हुँदै चीन र भारत जोड्ने सडक बनाइरहेको छ। यो सन्दर्भमा चीनले समेत नेपाललाई बेवास्ता गरेको तथ्यप्रति किन नेपालका कम्युनिस्टहरू बुझपचाइरहेका छन् ?

त्यसैगरी सन् १९१९ पछिको आधुनिक कूटनीतिलाई खुला वा स्वतन्त्र कूटनीति भनिन्छ। सोभियत रुसमा अक्टोबर क्रान्ति सफल भए पश्चात् रुसले विगतमा अन्य राष्ट्रहरूसँग गरेका सन्धि तथा सम्झौताहरूलाई खुला गरी लेनिनले आधुनिक कूटनीतिको सुरुवात गरेका थिए।

आधुनिक कूटनीतिका केही मूल तथा प्रचलित प्रवृत्ति

परम्परागत कूटनीतिले राष्ट्रिय हितलाई एकातर्फ सम्बर्धन गर्न सकेन भने अर्कातर्फ आधुनिक विश्व समाजको तीव्र पुनर्गठन भएको हुँदा कूटनीति कार्य नभएर प्रक्रियाको रूपमा विकसित भएको हुँदा केही नवीन प्रवृत्तिहरू प्रादुर्भाव हुन पुगे। यसमध्ये केही मूल प्रवृत्तिहरू यसप्रकार रहेका छन्।

१. लोकतान्त्रिक कूटनीति

२०औं शताब्दीको दोस्रो दशकपछि लोकतान्त्रिक कूटनीति प्रचलनमा आएको पाइन्छ। हरेक मुलुकहरूले आवासीय राजदूतावासहरू खोली राजदूतको नियुक्तिमार्फत वा विदेशमन्त्रीद्वारा अन्तर्राष्ट्रिय कूटनीति सञ्चालन गर्न थालियो। मित्रराष्ट्रहरूसँग राजदूत र विदेशमन्त्रीसँग भएका दीर्घकालीन महत्वका कूटनीतिक सम्झौताहरूलाई संसदबाट अनुमोदन गर्ने प्रणालीको विकास गरी जनताप्रतिको जवाफदेही र पारदर्शिताको प्रत्याभूति गर्न थालियो।

२. सम्मेलन कूटनीति

अन्तर्राष्ट्रिय समस्याहरूलाई सरोकारवाला मुलुकहरूको सम्मेलनमार्फत समाधान गर्ने प्रवृत्तिलाई सम्मेलन कूटनीति भनिन्छ। भर्साइलको सन्धिद्वारा प्रथम विश्वयुद्धको अन्त्य सन् २०१० मा अफगानिस्तान समस्या समाधानको लागि ७० वटा मुलुकको लण्डन सम्मेलन, नेपाल सहायता समूहको बैठक, हाइटीका भूकम्प पीडितको सहयोगको लागि क्यानडा सम्मेलन इत्यादि।

३. वाणिज्य कूटनीति

व्यापार, वाणिज्य, वित्तीय सहयोग तथा समस्या समाधानका लागि सञ्चालन गरिने कूटनीतिलाई वाणिज्य कूटनीति भनिन्छ।

४. समूह कूटनीति

साझा स्वार्थ भएका राष्ट्रहरूको बीचमा समूह वा गुट निर्माण गरी सञ्चालन गर्ने कूटनीतिलाई समूह कूटनीति भनिन्छ। आसियान, युरोपियन युनियन, ‍ओपेक इत्यादि।

५. प्रचार कूटनीति

कूटनीतिमा प्रचारको महत्वपूर्ण भूमिका हुन्छ। आफ्नो मुलुकको परराष्ट्र नीति तथा कूटनीतिको प्रचार गर्ने उद्देश्यले सञ्चारमाध्यमहरूको प्रयोग गरिएको हुन्छ। बेलायतको रेडियो बीबीसी, अमेरिकाको भ्वाइस अफ अमेरिका, चीनको रेडियो चीन।

६. सैन्य कूटनीति

प्रतिरक्षा सम्बन्धी कूटनीतिलाई सैन्य कूटनीति भनिन्छ। यसअन्तर्गत संयुक्त सैन्य अभ्यासहरू सञ्चालन गरिन्छ। नेपालले सन् २०११ देखि भारतसँग सुरु गरेको सूर्यकिरण नामक संयुक्त सैनिक अभ्यास, अमेरिकासँगको विपद व्यवस्थापन सम्बन्धी संयुक्त सैनिक अभ्यास, सन् २०१७ मा सञ्चालन भएको नेपाल चीन बीचको संयुक्त सैनिक अभ्यास इत्यादि।

७. सम्पूर्ण कूटनीति

सम्पूर्ण कूटनीति आधुनिक युगको सबैभन्दा प्रजातान्त्रिक, पारदर्शी र जनउत्तरदायी कूटनीतिक प्रणाली हो। परम्परागत कूटनीतिमा टु ट्रयाक डिप्लोमेसी वा दुई देशका सरकारबीचको कूटनीतिलाई मात्र प्राथमिकता दिइन्थ्यो भने सम्पूर्ण कूटनीतिमा थ्री ट्रयाक डिप्लोमेसी वा दुई देशका सरकारबीचको साथै जनस्तरको कूटनीति समेतलाई महत्व दिनुको साथै हरेक दीर्घकालीन महत्वका सन्धि सम्झौताहरूलाई संसदबाट अनुमोदन गरिन्छ।

समकालीन विश्वमा कूटनीतिज्ञको कौशलता र समर्थताले नयाँ–नयाँ प्रवृत्तिहरूको विकास भएको पाइन्छ। तसर्थ असल कूटनीतिज्ञसँग कस्ता गुणहरू हुनुपर्दछ भन्ने सवाल पनि सँगै आउँदछ। असल कूटनीतिज्ञ फ्याउरो जस्तो चलाख, धूर्त र सिंह जस्तो शक्तिशाली हुनुपर्दछ पनि भन्ने गरिन्छ। तथापि आजको समकालीन विश्वमा असल कूटनीतिज्ञसँग व्यावसायिकता, राष्ट्रहितप्रतिको इमानदारी, दूरदर्शिता, भाषाको ज्ञान, मृदुभाषी, नम्रता, अध्यनशीलता, प्रष्टवक्ता, प्रविधि मैत्री, अडान राख्न सक्ने क्षमता जस्ता गुणहरू हुनुपर्दछ।

नेपालले अपनाएको कूटनीतिक प्रवृत्ति

राणाकालमा भारतमा समेत ईष्ट इण्डिया कम्पनीको शासन भएको हुँदा राणाहरूको परराष्ट्रनीति र कूटनीति अंग्रेजहरूको भक्तिभावमा सीमित रहेको थियो। प्रजातन्त्रको स्थापना पश्चात् करिब २०१५ सालसम्म राजनीतिक संक्रमणबाट मुलुक गुज्रिएको हुँदा परराष्ट्रनीति र कूटनीतिले स्थायित्व हासिल गर्न सकेन। करिब डेढ वर्ष बीपी कोइरालाको प्रधानमन्त्रित्वकालमा चीनसँग रहेको सगरमाथाको विवाद समाधान लगायत भारत, बेलायत, अमेरिका, फ्रान्स जस्ता मुलुकहरूसँग पारस्परिक सहयोगमा आधारित परराष्ट्रनीति र प्रजातान्त्रिक कूटनीतिक शैली अपनाएको पाइन्छ।

२०१७ सालको सैनिक कु मार्फत राजा महेन्द्रले एकदलीय निरंकुश पञ्चायती व्यवस्थाको सूत्रपात गरे। २०१७ सालदेखि २०४६ सम्मको पञ्चायती शासनको कालखण्डमा असंलग्न नीति, पञ्चशीलको सिद्धान्त र संयुक्त राष्ट्रसंघको बडापत्रलाई परराष्ट्रनीति र कूटनीतिको प्रमुख आधार बनाइयो। जुन अहिलेसम्म पनि कायम रहेको छ। जतिखेर विश्व सोभियत रुस र संयुक्त राज्य अमेरिकाको नेतृत्वमा रहेको बेग्ला बेग्लै सैनिक संगठनमा कतै पनि आवद्ध नहुने मान्यताको रूपमा असंलग्न आन्दोलनको सूत्रपात भएको थियो।

सोभियत रुसको विघटनसँगै उसको नेतृत्वमा रहेको सैनिक संगठनको समेत विघटन भएको हुँदा असंलग्न आन्दोलनको सिद्धान्त क्रमशः असान्दर्भिक बन्दै गएको छ भने पञ्चशीलको सिद्धान्तको औचित्य कायम रहेको छ।

३० वर्षीय कालरात्रि भनिने पञ्चायती व्यवस्था सबै हिसाबले निरंकुश थियो, तर तत्कालीन नेतृत्वले सञ्चालन गरेको परराष्ट्रनीति र कूटनीति विभिन्न राष्ट्रहरूको सहयोगमा निर्माण भएको महेन्द्र राजमार्ग, चीनको सहयोगमा निर्माण भएको कोदारी राजमार्ग, चक्रपथलगायत त्रिभुवन राजपथ, विद्युत, सिंचाइ र दर्जनौं सार्वजनिक संस्थाहरूको स्थापना गर्न मित्र राष्ट्रहरूको सहयोग जुटाउन सक्नुले आजको भन्दा अब्बल भएको तथ्यहरूले प्रमाणित गर्दछन्।

प्रजातन्त्रको पुनर्वहाली पश्चात् महाकाली सन्धि र प्रस्तावित अरुण तेस्रो जलविद्युत आयोजनामा तत्कालीन नेतृत्व कूटनीतिमा अत्यधिक अक्षम देखियो।

हालको अमेरिकी आर्थिक सहयोग परियोजना एमसीसीमा त्योभन्दा बढी लाचार, ढुलमुले, द्वैध चरित्र र राष्ट्रिय हितभन्दा दलीय हितमा केन्द्रित देखियो। मुलुकमा मुडभेडको स्थिति सृजना गर्दै दाता राष्ट्रहरूको विश्वास गुम्दै गएको अवस्थामा अपेक्षित योजना अनपेक्षित ढंगले संसदबाट पारित गरियो। लोकतान्त्रिक पार्टीहरू सन्धि पारित गर्ने र साना कम्युनिस्ट पार्टीहरू परम्परागत र कोरा उग्रराष्ट्रवादी चिन्तनले राष्ट्रघाती भन्दै एकोहोरो विरोध गर्ने, माओवादी, एमाले र एकीकृत समाजवादीको द्वैध भूमिकाले गर्दा तीव्र राजनीतिक ध्रुवीकरण हुन पुग्यो।

त्यसको मूल्य केही समय देश, जनता र सुन्दर सहरहरूले चुकाउनु पर्‍यो। अन्त्यमा नाटकीय शैलीले एमालेको विरोधको लाचार उपस्थिति, एकीकृत समाजवादी र माओवादीले व्याख्यात्मक टिप्पणीको सहारामा संसदबाट एमसीसी पारित भयो। नेपाली काङ्ग्रेस, जनता समाजवादी लगायतका अन्य लोकतान्त्रिक पार्टीहरू एमसीसी अनुमोदन गर्ने पक्षमा थिए। यसरी एमसीसीको सवालमा कम्युनिस्ट पार्टीहरूको कूटनीतिक कौशलता कमजोर देखियो भने दृष्टिकोण परम्परागत र रुढीवादी।

आफू सरकारमा हुँदा सन्धि अघि बढाउने, प्रक्रियामा सामेल हुने तर, विपक्षमा हुँदा विरोध गर्ने प्रवृत्तिले एकातर्फ उनीहरूको नैतिक जिम्मेवारी नलिने प्रवृत्तिको उजागर भयो भने अर्कातर्फ अन्तर्राष्ट्रिय विश्वसनीयतामा कमि आयो।

२१औं शताब्दीको तेस्रो दशकको अवसर र चुनौतीसँग पौठेजोरी खेल्न नसक्ने राजनीतिक दलहरू अन्ततः राजनीतिक संग्रहालय र इतिहासको पानामा सीमित हुन पुग्दछन्। अमेरिकालाई साम्राज्यवादी र भारतलाई विस्तारवादी देख्ने, तर अमेरिका र भारतसँग संयुक्त सैनिक अभ्यास गर्ने, नेपाली कम्युनिस्टहरूको चिन्तन अत्यन्त अव्यवहारिक र भ्रमपूर्ण देखिन्छ। तर चीनलाई उनीहरू तुलनात्मक रूपमा मित्र राष्ट्र ठान्दछन्। भारतीयहरूले मानसरोवर र कैलाश जाँदा नेपालको बाटो हुँदै जानुपर्ने अवस्थाको अन्त्य गर्न र भारत र चीनबीचको पारस्परिक व्यापार अभिवृद्धि गर्न लिपुलेक हुँदै चीन र भारत जोड्ने सडक बनाइरहेको छ। यो सन्दर्भमा चीनले समेत नेपाललाई बेवास्ता गरेको तथ्यप्रति किन नेपालका कम्युनिस्टहरू बुझपचाइरहेका छन् ?

परराष्ट्र मामिला र कूटनीतिमा चिनियाँ कम्युनिस्ट पार्टीले नेपालका कम्युनिस्टहरूलाई सी विचारधाराको प्रशिक्षण नेपालमा आएर दिंदा समेत अन्य लोकतान्त्रिक पार्टीहरूले कुनै विरोध नजनाई उच्च लोकतान्त्रिक संस्कार प्रदर्शन गरे। हिन्द प्रशान्त रणनीतिको बारेमा चाहिंदा नचाहिंदा बहसहरू हुनु, तर बेल्ट एण्ड रोड इनिसियटिभको बारेमा कुनै सार्वजनिक बहस नहुनुले पनि असन्तुलित कूटनीतिको सन्देश जान सक्ने खतरा देखिन्छ। यसतर्फ पनि राजनीतिक नेतृत्व सजग रहनुपर्ने देखिन्छ। अर्कातर्फ मुलुकको भूराजनीतिक जटिलता कसरी राष्ट्रहित अनुकूल प्रयोग गर्न सकिन्छ भन्नेतर्फ राजनीतिक नेतृत्व चनाखो रहेको देखिंदैन। त्यसतर्फ बेलैमा सचेत हुन सकिएन भने त्यो अवसर अभिशापमा परिणत हुने खतरा देखिन्छ।

लेखकको बारेमा
केशव खतिवडा

लेखक समसामयिक विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?