+
+

सामान्य उपचार गर्न पनि सदरमुकाम जानुपर्ने बाध्यता हटाउँदै ग्रामीण अस्पताल

कपिल चौलागाईं कपिल चौलागाईं
२०७८ फागुन २५ गते १४:२२

२५ फागुन, काठमाडौं । धादिङबेसीबाट करिब ५ घण्टाको सकसपूर्ण मोटरयात्रापछि पुगिन्छ खनियावास गाउँपालिकाको सामुदायिक अस्पताल अर्थात् ग्रामीण अस्पताल । भौगोलिक विकटताको वास्तविक अनुहार बोकेर बसिरहेको यो अस्पतालको स्वास्थ्य सेवामा सुरुवातदेखि नै निरन्तर खटिरहेका देखिन्छन्, अस्पतालका डाक्टर शिवराम विष्ट ।

देशका अधिकांश चिकित्सक सहरकेन्द्रित भइरहेको अवस्थामा डा. विष्ट भने गाउँका बिरामीको उपचारमा तल्लीन छन् । आफूले पढाइ सक्ने बित्तिकै मोफसलमा बसेर काम गर्दै आएका विष्ट सहरमा काम गर्दैगर्दा कोभिडको असरले पारेको क्षति देखेपछि गाउँको हालत झन् के होला भन्ने लागेर आफू गाउँ आएको बताउँछन् ।

‘काठमाडौंमा हुँदा गाउँको स्वास्थ्य अवस्थाबारे पढ्थें, सुन्थे । विकट गाउँका सर्वसाधारणको सेवा गर्न चाहन्थें,’ उनी भन्छन्, ‘सहरमा कम्तिमा डाक्टर र अस्पताल छन्, गाउँमा त न अस्पताल छन् न डाक्टर नै बस्न चाहन्छन् ।’

२०७७ मंसिरबाट सञ्चालनमा आएको खनियाबासको यो अस्पतालमा स्वास्थ्य उपचार गर्न खनियाबास मात्र नभई रुबीभ्याली गाउँपालिका, गंगाजमुना गाउँपालिकाका साथै छिमेकी जिल्ला नुवाकोटको मेघाङ गाउँपालिकाका बासिन्दा समेत आउने गरेका छन् ।

‘सहरमा अस्पताल छन्, योजना छन्, सरकारको ध्यानाकर्षण छ, तर गाउँमा केही छैन । डा. विष्ट अगाडि भन्छन्, ‘यी सबै कुराले गाउँमा गई सेवा गर्नुपर्छ भन्ने लागेपछि गाउँ आएर सेवा गर्न थाले । अहिले स–साना कुराका लागि पनि जिल्ला अस्पताल धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ ।’

बिरामीलाई जाँच गर्दै ग्रामीण अस्पतालका डाक्टर शिवराम विष्ट

बर्थिङ सेन्टर गुणस्तर सुधार स्कोर कार्डमा पनि अस्पतालको हरियो रङ देखिएको छ । हरियो रङको अर्थ व्यवस्थापन, प्रेषण, विद्युत, पानी र सरसफाइ, बिरामीको सम्मान र आदर, औजार, औषधि, प्रसूति सेवा, पार्टोग्राफ, परिवार नियोजन, संक्रमण रोकथाम लगायतका विषयमा अस्पतालको सक्रिय उपस्थिति रहेको भन्ने हुन्छ ।

अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट, एक्सरे मेसिन, फार्मेसी तथा ल्याब रहेको छ । धादिङबेसीमा हुने अधिकांश परीक्षण यो अस्पतालमा गर्न सकिने अस्पतालकी ल्याब असिस्टेन्ट सीमा तामाङ बताउँछिन् ।

अस्पतालमा आँखा, प्रसूति, फार्मेसी सेवा लगायत सम्पूर्ण आधारभूत स्वास्थ्य सेवा उपलब्ध छन् । तिलगंगा आँखा प्रतिष्ठान र गाउँपालिकाको सहकार्यमा ग्रामीण आँखा क्लिनिक सञ्चालन भइरहेको छ । मोतिबिन्दु लगायतका समस्याका लागि जिल्ला सामुदायिक आँखा केन्द्र धादिङमा सिफारिस गर्ने गरिएको डा. विष्टले बताए ।

अस्पताल सञ्चालनमा आएपछि ग्रामीण महिलामा देखिने पाठेघर खस्ने समस्याको पनि गाउँमै सहज समाधान हुने गरेको छ । अस्पतालसँग आफ्नै एम्बुलेन्स छ, जुन गाउँपालिका कार्यालयले खरिद गरेको हो ।

अस्पतालले कोरोना विरुद्धको खोप पनि दिइरहेको छ । डा. विष्टका अनुसार हालसम्म खनियाबास गाउँपालिकाका झण्डै तीन हजार जनाले कोरोना विरुद्धको खोपको दुवै मात्रा लगाइसकेका छन् ।

 

अस्पतालसम्मको आवतजावतमा समस्या नहोस् भन्नका निमित्त सडक सञ्जाललाई पनि विकास गर्दै लागेको गाउँपालिका अध्यक्ष रणबहादुर तामाङले बताए ।

अस्पताल  बनेपछि के कसरी सञ्चालन गर्ने भन्ने अन्योल थियो, डाक्टर आएपछि ढुक्कले सास फेर्न पाएँ,’ उनले भने ।

सुरुमा पाँच बेड क्षमताको यो अस्पताललाई अहिले १० बेडको बनाइएको छ । ग्रामीण अस्पतालमा अहिले पनि एमबीबीएस डाक्टरको दरबन्दी छैन । गाउँपालिकाको अस्पताल  करार दरबन्दीको भरमा चलेको छ । डा. विष्ट पढाइका लागि बाहिरिएको अवस्थामा अर्को डाक्टरलाई गाउँमा कसरी राख्ने भन्ने चिन्ता पनि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?