+
+

एनआरएन अध्यक्षले अदालतको अवहेलना गरिरहेका छन् : उपाध्यक्ष लामा

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ३० गते १०:३५

३० फागुन, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष सोनाम लामाले गत डिसेम्बर २०२१ भित्र निर्वाचन गराउन नसकेर कामचलाउ अध्यक्ष कुमार पन्तले नै सम्मानित अदालतको अवहेलना गरेको जनाएका छन् ।

अनलाइनखबरसँग कुरा गर्दै उपाध्यक्ष लामाले गत अक्टोबर २०२१ भित्र संघको महाधिवेशन र निर्वाचन गराउन नसकेका कारण परराष्ट्र मन्त्रालयले संघका प्रमुख संरक्षक शेष घलेलाई महाधिवेशन सम्पन्न गर्न पत्र लेखेको स्मरण गरे ।

तर उक्त निर्देशन विरुद्ध कार्य समितिमा कुनै छलफल नै नगरी अध्यक्ष पन्त उच्च अदालत पाटन पुगेपछि अदालतले डिसेम्बर २०२१ भित्र निर्वाचन गराउने काममा कुनै बाधा अवरोध नगर्नु भनी मन्त्रालयलाई अन्तरिम आदेश दिएको थियो । उक्त रिट निवेदन उपर अन्तिम फैसला हुन अझै बाँकी नै छ ।

उपाध्यक्ष लामाले आईसीसीले प्रतिनिधि सम्बन्धी विवाद समाधान गर्न नसकेपछि गत २२ जनवरी २०२२ मा उच्चस्तरीय समिति गठन गरेको तर समितिले काम पूरा गर्दा नगर्दै समिति भंग गरेर संरक्षक परिषद र समितिको अपमान गरिएको बताए । उनले अध्यक्ष पन्तले पटक–पटक अदालतको समेत मानहानी गरेको बताए ।

‘हामीले नेपाल सरकार वा सम्मानित अदालतको अपमान गर्ने काम कहीं कतै गरेका छैनौं र गर्ने पनि छैनौं । तर संघको अभिभावकको रुपमा रहेको नेपाल सरकार विरुद्ध एकतर्फी रुपमा मुद्दामामिला गर्ने, सम्मानित अदालतको मानहानी गर्ने काम कामचलाउ अध्यक्ष पन्तले नै पटक–पटक गरिरहेका छन्,’ उपाध्यक्ष लामाले भने, ‘अब संसारभरिका साथीहरुलाई कामचलाउ अध्यक्ष पन्तले जवाफ दिनु पर्छ ।’

एनआरएन मामिला सम्बन्धी जानकार अधिवक्ता सुनिल पोखरेल पनि तोकिएको मितिभित्र चुनाव गराउँछु भन्ने तर नगराउने कामबाट अदालतको अवहेलना भएको ताउँछन् । ‘डिसेम्बर २०२१ भित्र चुनाव गराउँछु भनेर अदालतलाई भन्ने तर सो मितिभित्र चुनाव गराउन नसक्नु सम्मानित अदालतको अवहेलना हो,’ अधिवक्ता पोखरेलले भने, ‘त्यस्तै दशौं महाधिवेशन गराउन संरक्षक परिषदलाई परराष्ट्र मन्त्रालयले दिएको आदेश सम्बन्धी मुद्दा विचाराधीन रहीरहँदा संरक्षक परिषद विघटन गरेको निर्णय गर्नु अदालतको अपमान हो ।’

एनआरएनएको गत वर्ष निर्वाचित ६५ राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरु मध्ये ४५ भन्दा बढी एनसीसीहरुले गत आइतबार एक बैठक गरी संरक्षक परिषद तथा उच्चस्तरीय समिति भंग गरिएको भन्ने गत २ मार्चको बैठकको निर्णयको कुनै कानूनी हैसियत नरहेको जनाएको थियो । उक्त बैठकले प्रमुख संरक्षक शेष घलेलाई संस्थाको संरक्षण गर्न आवश्यक सबै कदम चाल्न म्यान्डेट पनि दिएको थियो ।
सोही म्यान्डेट तथा संघको विधानको दफा १६.१.४ ले दिएको अधिकार प्रयोग गरी प्रमुख संरक्षक घलेले यही २२–२५ मार्चमा काठमाडौंमा दशौं महाधिवेशन बोलाएका छन् ।

उनले उपाध्यक्ष लामाको संयोजकत्वमा महाधिवेशन आयोजक समिति तथा संघको नयाँ नेतृत्व चयन गर्न विश्व बराल (अमेरिका) को संयोजकत्वमा निर्वाचन समिति पनि गठन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?