२० भदौ, पोखरा । भदौ १० गते भोटेकोशी हुँदै रसुवामा विनासकारी बाढीमा कतार, युएई, साउदी, बहराइनलगायतका देशमा काम गरिरहेका धेरै नेपालीका परिवार परेका छन् । धेरैका घर उजाडिएका छन्, धेरैले परिवार र आफन्त गुमाएका छन्, धेरैका घरखेत बगेका छन् ।
‘घर, जमिन परिवारसँगै मध्यपूर्वी देशमा रहेका धेरै नेपालीका सपना र भविष्य पनि डुबेको छ । मध्यपूर्वमा रहेका धेरै ती नेपालीसँगै हामी पनि उभिएका छौं,’ एनआरएनए मध्यपूर्व संयोजक रमेश श्रेष्ठले भने, ‘नेपालमा आएको यो प्रलयले सिंगो विश्वलाई छोएको छ ।’
युएईमा रहेका व्यवसायी तथा सामाजिक अभियान्ता एकेन्द्रबहादुर थापाकाअनुसार त्यस क्षेत्रका धेरै कामदार बाढीमा प्रभावितमात्रै बनेका छैनन्, ठूलो विपद्मा धकेलिदिएको छ ।
बाढी गएको भोलिपल्टै एनआरएनएको टोलीमा रमेशसहित १० जनाको टोली राहतसहित त्रिशूली पुगेको थियो । त्यहाँको अवस्था संयोजक श्रेष्ठले कल्पना गरेभन्दा भयानक थियो ।
उनीसहित पुगेको सानो समूहले मात्र केही गर्न सक्ने अवस्था थिएन र व्यवसायसमेत हेर्नुपर्ने भएकाले उनीहरु फर्किए । तर, उनीहरुले मध्यपूर्वका देशहरुमा रहेका एनआरएनएसँग आर्थिक सहयोगका निम्ति आह्वान गरेका थिए ।
बाढी प्रभावित क्षेत्रमा सहयोगका निम्ति एनआरएनए मध्यपूर्वका देशहरुबाट १ करोड रुपैयाँ संकलन भएको छ भने अझै संकलन हुने क्रम जारी रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
एनआरएनए मध्यपूर्वले अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी)लाई ९८ लाख ६८ हजार रुपैयाँ हस्तान्तरण गरेको र आईसीसीले विश्वभरबाट संकलित रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने छ । मध्यपूर्वका देशहरुका संयोजक, पदाधिकारी र अभियान्ताहरुले अहिले पनि राहत संकलन कार्य गरिरहेका छन् ।
एनआरएनए राष्ट्रिय समन्वय परिषद् बहराइनका अध्यक्ष राजुकुमार श्रेष्ठले ५ लाख सहयोगको प्रतिबद्धता गरेकोमा २५ लाख रुपैयाँ प्रदान गरेका छन् । उनले यो विपद्को घडीमा नेपालमाथि परेको पीडामा थोरै भए पनि मल्हम लगाउन सकियोस् भन्ने हेतुले राहत प्रदान गरिएको बताए ।
एनआरएनए एनसीसी यूएइका अध्यक्ष भीमबहादुर मल्लज्यूले ११ लाख रुपैयाँ हस्तान्तरण गरेका छन् । साउदी अरेबियाका अध्यक्ष उमेश भट्टराईले ५ लाख सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । उनले त्यो रकममा अझै थप गर्ने बताइरहेका छन् ।
यूएई, कतार, कुवेत, बहराइन, इराक, ओमान, साउदी अरेबियालगायतका देशमा रहेका एनआरएनए अभियन्ता तथा पदाधिकारीहरूबाट राहतका लागि सहयोग प्राप्त भएको संयोजक श्रेष्ठले जानकारी दिए । अहिले पनि रकम संकलन भइरहेको उनको भनाइ छ ।
श्रेष्ठले राष्ट्रिय विपत्का बेला प्रवासका नेपालीहरूबीचको एकता र सहयोगको भावना अझ बलियो बनेको बताएका छन् ।
प्रतिक्रिया 4