+
+
Shares

एनआरएनएले ढोरपाटनमा अन्तर्राष्ट्रिय साइकलिङ तथा पर्यटन महोत्सव गर्दै

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ९ गते ९:४७

टोकियो । बागलुङ तथा ढोरपाटन क्षेत्रको प्राकृतिक, सांस्कृतिक, साहसिक तथा पर्यटन सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले ‘एनआरएनए बागलुङ–ढोरपाटन बुकी अन्तर्राष्ट्रिय साइकलिङ, पर्यटन तथा सांस्कृतिक महोत्सव २०२६’ आयोजना हुने भएको छ ।

आगामी अक्टोबर १ देखि ३ सम्म आयोजना हुने महोत्सवको मूल अवधारणा ‘ढोरपाटनको सिरदेखि कालीगण्डकीको तीरसम्म’ रहेको छ । महोत्सवलाई केवल साइकलिङ यात्रामा सीमित नराखी प्रकृति, साहसिक पर्यटन, संस्कृति, स्थानीय उत्पादन, मौलिक खानाको प्रवर्द्धन तथा दीर्घकालीन पर्यटन अभियानका रूपमा अघि बढाइने आयोजक गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया प्यासिफिक क्षेत्रले जनाएको छ ।

महोत्सवमा नेपालका विभिन्न स्थान तथा विदेशबाट करिब ५ सय जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साइकलिस्ट, प्रवासी नेपाली, पर्यटन व्यवसायी, साहसिक पर्यटन अभियन्ता, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका प्रतिनिधि सहभागी हुनेछन् । महोत्सवका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहभागीहरू ३० सेप्टेम्बर २०२६ मा ढोरपाटनमा आइपुग्ने जनाइएको छ ।

ढोरपाटनमा उद्घाटन समारोह आयोजना गरी साहसिक साइकलिङ यात्रा सुरु हुनेछ । सहभागीहरू ढोरपाटनबाट बुर्तिबाङ, गल्कोट–हटिया तथा रामकोट हुँदै बागलुङतर्फ अघि बढ्नेछन् । यात्राका क्रममा स्थानीय भोजन, प्राकृतिक सौन्दर्यको अवलोकन तथा स्थानीय समुदायसँग अन्तरक्रिया गरिने एनआरएनए अभियान्ता खगराज गौतमले जानकारी दिए ।

गल्कोट–हटियामा सहभागीको रात्री बासका क्रममा स्थानीय समुदायको सहभागितामा विशेष सांस्कृतिक तथा परम्परागत साँझ आयोजना गरिने उनको भनाई छ ।

लोकगीत, लोकनृत्य, परम्परागत बाजागाजा, स्थानीय कला तथा मौलिक नेपाली खानामार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पाहुनालाई बागलुङको मौलिक संस्कृति र स्थानीय जीवनशैलीसँग प्रत्यक्ष जोडिने अवसर प्रदान गरिने गौतम बनाउँछन् ।

‘रामकोट हुँदै बागलुङतर्फको अन्तिम साइकलिङ यात्रा पूरा गरेपछि बागलुङ कालिका भगवती मन्दिर परिसरमा समापन समारोह गर्ने छौँ’ गौतमले भने । एक्त महोत्सवले ढोरपाटन–बुर्तिबाङ–गल्कोट–रामकोट–बागलुङलाई एउटा सम्भावित पर्यटन सर्किटका रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रस्तुत गर्ने आयोजकको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?