+
+

नेपाल भर्सेस यूएई प्रिभ्यु : ब्याटिङमा सुधार आवश्यक

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७८ चैत ६ गते १२:५४

६ चैत, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत शुक्रबार यूएईसँग १६९ रनको लक्ष्यसमेत पूरा गर्न नसकेपछि नेपाली राष्ट्रिय क्रिकेट टिमको धेरै आलोचना भयो ।

एकदिवसीय फर्म्याटमा ब्याटिङका लागि संघर्ष गरिरहेको नेपाल ३५.१ ओभरमा १२० रनमै अलआउट भयो । बलिङमा उत्कृष्ट प्रदर्शन गरे पनि ब्याटिङमा नेपालको समस्या जहाको तहिं रह्यो ।

यूएईसँगको हारपछि राष्ट्रिय टिमका पूर्व प्रशिक्षक जगत टमाटाले नेपाली खेलाडीले ब्याटिङ गर्दा धैर्य गर्न नसकेको प्रतिक्रिया दिए ।

एक हिसावले हेर्ने हो भने नेपालको हार असोचनीय नै थियो । टी-२० मा भन्दा कम लक्ष्य पाए पनि नेपालले भेट्टाउन सकेन ।

खेलपछि नेपालका कप्तान सन्दीप लामिछानेलेसमेत हार बेहोर्दा अचम्म मान्नुपर्ने प्रतिक्रिया दिएका थिए । उनले ब्याटिङमै कमजोरी देखिएको भन्दै अब सुधार गर्नुपर्ने बेला आएको बताए ।

सन्दीपले ३५ ओभरमा खेल जित्दै खुशीका साथ होटल जाने सोचेको तर मैदानमा त्यसो हुन नसकेको बताएका थिए । यूएई विरुद्ध नेपालका लागि रोहित पौडेलले ४६ र ज्ञानेन्द्र मल्लले २८ रन बनाए पनि अन्य खेलाडीको प्रदर्शन देखिएन ।

लिग टूको पहिलो खेलमा पपुवा न्यु गिनीविरुद्ध नेपालले धैर्य ब्याटिङ गर्दै २०५ रनको लक्ष्य पूरा गर्दा रोहितकुमार पौडेलले आरिफ शेखले शतकीय साझेदारीसँगै करण केसीले फिनिसरको जिम्मेवारी पूरा गरे ।

तर त्यो प्रदर्शन यूएई विरुद्धको खेलमा देखिएन । ब्याटिङ गर्दा नेपाली खेलाडीमा धैर्य देखिएन र क्यारेक्टर पनि देखिएन ।

त्यसपछि यूएईले पीएनजीसँग खेलिसकेको छ । पीएनजी विरुद्ध पनि यूएईको ब्याटिङ लाइन चलेको थिएन । रोहन मुस्ताफा एक्लैले ८८ रन बनाएपछि यूएईले बल्ल बल्ल १४७ रन बनाएको थियो । उक्त लक्ष्य पीएनजीले ३७औं ओभरमा ४ विकेट गुमाएर पूरा गर्दै लिग टूमा लगातार १४ खेलको हारको श्रृंखलालाई ब्रेक गर्‍यो ।

पछिल्ला खेलमा नेपाल र यूएई दुवै पराजित भए । यी दुई टिम सोमबार लिग टू अन्तर्गत नै फेरि खेल्दैछन् । जहाँ दुवै टोली जितको लक्ष्यमा हुनेछन् ।

घरेलु मैदानमा खेलिरहेको यूएई पीएनजी विरुद्धको खेललाई छाड्ने हो भने उत्कृष्ट लयमा छ । नेपालले भने एकरुपको प्रदर्शन गर्न सकिरहेको छैन ।

यूएईलाई एकदिवसीय अन्तर्राष्ट्रिय ३ वर्षपछि फेरि हराउने हो भने नेपालले ब्याटिङमै धेरै सुधार गर्न जरुरी भइसकेको छ ।

लिग टूको अहिले भइरहेको श्रृंखलामा नेपालबाट रोहितकुमार पौडेले सर्वाधिक १०६ रन बनाएका छन् । दुवै खेलमा राम्रो ब्याटिङ गरेका उनले एक अर्धशतक बनाए । आरिफ शेखले पहिलो खेलमा पीएनजी विरुद्ध ४९ रन बनाएका थिए ।

तर बाँकी खेलाडीले भने दुई खेलमा गरेर ३५ रन समेत कटाउन सकेका छैनन् । करण केसीले पहिलो खेलमा आक्रमक ब्याटिङ गर्दै अविजित २९ रन बनाएर खेल जिताएका थिए । दोस्रो खेलमा भने करण ६ रनमै आउट भए ।

नेपालको ओपनिङ र टप अर्डर यस पटक चल्न सकेको छैन । मिडर अर्डरमा केही सम्भावना देखिए पनि त्यसलाई पूर्ण रुपमा लागू गर्न सकेको छैन ।

नेपाली ओपनर कुशल भुर्तेल र आसिफ शेखले अझ खुलेर खेल्न सकेका छैनन् । ओपनरले राम्रो सुरुवात दिलाउन नसक्दा त्यसपछिका खेलाडीलाई दबाब पर्छ ।

कुशलले दुई खेलमा १२ रन मात्र बनाएका छन् भने आसिफले २३ रन जोडेका छन् । यस्तै पूर्व कप्तान ज्ञानेन्द्र मल्लले ३२ रन जोडेका छन् ।

एक महिनाअघि ओमानमा भएको टी-२० विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गरेका दीपेन्द्र सिंह ऐरीले पनि यस पटक आफ्नो खेल देखाउन सकेका छैनन् । उनले दुई खेलमा जम्मा १२ रन मात्र बनाउँदा २० ओभर बलिङ गर्दै जम्मा १ विकेट लिएका छन् ।

त्यसपछि रोहित र आरिफले मिडल अर्डरमा केही सम्हाल्ने प्रयास गर्छन् । तर त्यसपछिका लोअर अर्डरले चाहिने जति प्रदर्शन गर्न सकेका छैनन् ।

चोटका कारण टी-२० विश्वकप छनोट गुमाएका सोमपाल कामी र करण केसी यस पटक टिममा फर्किएका छन् । बलिङमा उनीहरुले आफ्नो भूमिका निर्वाह गरेका छन् । तर ब्याटिङमा करणको एक इनिङ्सलाई छाड्ने हो भने अझै सोचे जति रन उनीहरुबाट बन्न सकेको छैन ।

एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालले यूएईलाई पछिल्लो पटक सन् २०१९ मा उसैको मैदानमा हराएको थियो । यस पटक दुबई अन्तर्राष्ट्रिय मैदानमा डेब्यु गर्दा नेपालको ब्याटिङ चलेन । नेपाल र यूएईबीच सोमबारको खेल पनि त्यही मैदानमा बिहान सवा ११ बजे सुरु हुनेछ । जहाँ नेपाललाई यूएईविरुद्ध बदला लिँदै खेल जित्ने अवसर छ ।

नेपाल र यूएईबीच अहिलेसम्म एकदिवसीय अन्तर्राष्ट्रियमा ५ खेल भएका छन् । जसमा नेपालले २ खेल जितेको छ भने ३ खेल हारेको छ ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?