
७ चैत, काठमाडौं । रुसले मारिओपोलमा युक्रेनी सेनालाई सोमबार बिहानसम्म आत्मसमर्पण गर्न अल्टिमेटम दिएको छ । आत्मसमर्पण नगरे डरलाग्दो मानवीय दुर्दशा आउने धम्की रुसले दिएको छ ।
तर युक्रेनकी उप-प्रधानमन्त्री इरिना भेरेश्चुकले कुनै हालतमा आत्मसमर्पण नगर्ने बताएकी छन् ।
रुसको रक्षा मन्त्रालयले युक्रेनलाई युद्धग्रस्त बन्दरगाह शहर मारिओपोलमा सोमबार बिहान ५ बजेभित्र आत्मसमर्पण गर्न अल्टिमेटम दिएको द गार्जियनले जनाएको छ । ‘आफ्ना हतियार बिसाऊ’, रक्षा व्यवस्थापन केन्द्रका निर्देशक मिखाइल मिजिन्टसेभले भनेका छन् ।
हतियार बिसाएर आत्मसमर्पण गर्नेलाई मारिओपोलबाट सुरक्षित स्थानमा जान दिइने तर आत्मसमर्पण नगर्नेलाई सैनिक कठघरामा उभ्याइने उनको भनाइ छ ।
युक्रेनी सेनाले आत्मसमर्पण नगरे डरलाग्दो मानवीय दुर्दशा आउने पनि मिजिन्टसेभले चेतावनी दिएका छन् । उनले भने, ‘डरलाग्दो मानवीय दुर्दशाको अवस्था विकास भइरहेको छ ।’ तर युक्रेनकी उप-प्रधानमन्त्री इरिना भेरेश्चुकले कुनै हालतमा आत्मसमर्पण नगर्ने बताएकी छन् ।
‘आत्मसमर्पण गर्ने र हतियार त्याग्ने कुनै हुँदैन’, इरिनाले भनिन्, ‘हामीले रुसी पक्षलाई यसबारे जानकारी गराइसकेका छौं ।’ उनले रुसलाई मानवीय सहायता मार्ग खोल्न समेत भनेकी छन् ।
रुसी सेनाले फेब्रुअरी २४ गतेदेखि युक्रेनमा आक्रमण गरेयता मारिओपोलमा भीषण बम एवं गोलाबारी गरिरहेको छ । चार लाख मानिस बस्ने उक्त शहरमा खाना, पानी र बिजुलीको चरम अभाव देखिन थालेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।
प्रतिक्रिया 4