+
+

नेपाल लाइफको साधारण सभा सकियो, १४ प्रतिशत बोनस पारित

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २१ गते १७:२३

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २१औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सोमबार वीरगञ्जमा सम्पन्न साधरण सभाले सेयरधनीहरुलाई चुक्ता पूँजीको १४ प्रतिशत बोनस शेयर तथा प्रति शेयर रु.०.७३६८ (कर प्रयोजनका लागि) नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ । बोनश सेयर वितरण पश्चात् कम्पनीको चुक्ता पूँजी ८ अर्ब २० करोड ७९ लाख ६६ हजार ५४४ रुपैयाँ हुनेछ ।

साधरण सभामा अध्यक्ष गोविन्दलाल संघईले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै उनले समीक्षा वर्षमा कम्पनीले कुल बीमाशुल्क करिब २७ अर्ब ६५ करोड आर्जन गरी सर्वाधिक बजार हिस्सा हासिल गर्न सफल भएको जानकारी गराएका थिए ।

अध्यक्ष संघईले २१ वर्षमा जीवन बीमा क्षेत्रमा कम्पनीको व्यावसायिक हिस्सा र गरिमालाई तमाम चुनौतीका बीच अझै नयाँ उचाइमा अगाडि बढाउनका लागि संरचनात्मक सुधार, संस्थागत सुशासनको पूर्ण पालना, सुदृढ आन्तरिक नियन्त्रण प्रणाली, सेवा प्रणालीमा नवीन प्रविधिको प्रयोग, सम्पत्ति र दायित्व बीचको सन्तुलन, ग्राहक केन्द्रित योजना, विकेन्द्रिकरण, तालिम एवं अनुसन्धान तथा नयाँ बजारीकरण रणनीति अवलम्बन गरी अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

कम्पनीका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले बीमा समितिबाट जारी लगानी निर्देशिकाको परिधिभित्र रही दीगो एवं भरपर्दो लगानीका क्षेत्रहरुमा लगानी विस्तार तथा विविधीकरण गर्दै जाने नीति लिएको बताए ।

साधारण सभाले आव. २०७६/७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब, नगद प्रवाह विवरणहरु एवं कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा गरिएको संशोधन प्रस्तावहरु पारित गरेको छ ।

हाल यस कम्पनीको लगानी १३३.८६ अर्ब रुपैयाँ रहेको र जीवन बीमा कोष १२४ अर्ब ८४ करोड रुपैयाँ र सेयरधनी कोष ९ अर्ब ६७ करोडभन्दा बढी रहेको छ ।

अध्यक्षमा संघईको निरन्तरता

कम्पनीको सञ्चालक समितिको अध्यक्षमा पुनः गोविन्दलाल संघई निर्विरोध चयन भएका छन् ।
साधारण सभा पश्चात् बसेको सञ्चालक समितिको बैठकले संघईलाई सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

१४ चैतमा चार जना सञ्चालकहरुको नाम घोषणा गरिएको थियो । जसमा संस्थापक सञ्चालकहरुमा गोविन्दलाल संघई, कमलेशकुमार अग्रवाल, विवेक अग्रवाल र शक्तिकुमार गोल्यान छन् । जसमध्येबाट संघईलाई अध्यक्षमा चयन गरिएको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?