+
+

सुकुम्बासीसँग रकम असुलेकोबारे छानबिन माग गर्दै तालाबन्दी

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २२ गते १६:३७

२२ चैत, बुटवल । बुटवलमा घडेरी दिने नाममा सर्वसाधारणबाट रकम असलेको घटनाको छानबनिको माग गर्दै स्थानीय वासिन्दाले टोल विकास संस्थाको कार्यालयमा तालाबन्दी गरेका छन् ।

बुटवल उपमहानगरपालिका–११ को हात्तीसुड टोल विकास संस्थाका पदाधिकारीले लाखौं रकम असुली गरेर घडेरी नदिइएको भन्दै छानबिनको मागसहित स्थानीयले तालाबन्दी गरेका हुन् ।

टोल विकास संस्थाकै कोषाध्यक्ष सरस्वती गलामीसहितका स्थानीयले मंगलबार तालाबन्दी गरेका हुन् । छानबिन गरी सत्यतथ्य सार्वजनिक नगरेसम्म तालाबन्दी जारी रहने संस्थाका पूर्वसल्लाहकार सुनिल न्यौपानेले बताए ।

टोल विकास संस्थाका पदाधिकारीले सार्वजनिक जग्गा बेचबिखन गर्ने, आफू र आफन्तको नाममा दुई भन्दा बढी घडेरी लिएर कमाई खाने भांडो बनाएको पीडितको आरोप छ ।

टोल विकास संस्थाले गैरकानुनी काम ढाकछोपका लागि प्रहरी र कतिपय पत्रकारलाई समेत घडेरी बाँड्ने गरेको भन्दै पीडितले छानबिन र कारवाहीको माग गरेका छन् । टोल विकास संस्थाका पदाधिकारीले विभिन्न व्यक्तिबाट १८ लाख असुली गरेर हिनामिना गरेको आरोप लागेको छ ।

जसपाको ध्यानाकर्षण

यसैबीच घडेरी दिने र झारा खाराको नाममा टोल विकास संस्थाले रकम असुलेर घटनाप्रति जनता समाजवादी पार्टी बुटवल उपमहानगरपालिका समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

अन्यत्र जग्गा भएका व्यक्तिलाई समेत टोल विकास संस्थाका पदाधिकारीले सुकुम्बासीलाई जस्तै घडेरी बिक्री वितरण गरेको भन्दै उनीहरुलाई कुनै हालतमा छुट दिनु नहुने जसपा बुटवलका अध्यक्ष बामदेव भुसाल र सचिव तजु रानाले मंगलबार विज्ञप्तिमार्फत बताएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका निकायबाट निष्पक्ष र स्वतन्त्र छानबिन गरी दोषीमाथि कडा कारवाही गर्न माग गर्दै जसपाले घटनाको छानबिन गरेमा बुटवलका अन्य सुकुम्बासी वस्तीका टोल विकास संस्थामा भए गरेका अनियमितता पनि खुल्दै जाने उल्लेख गरेको छ ।

‘हाम्रो पार्टी नक्कली सुकुम्बासीले कब्जा गरेका घर घडेरी राज्यले नियन्त्रणमा लिएर वास्तविक भूमिहीनलाई वितरण गर्न जोडदार माग गर्दछ, टोल विकास संस्थाको आडमा कमाइ खाने व्यक्ति र सुकुम्बासीका नाममा राजनीति गर्ने दुबै प्रवृत्तिको अन्त्यका लागि राजनीतिक दल, नागकि समाज र सञ्चार जगतलाई हाम्रो पार्टी अनुरोध गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

‘बसोबास परिचय पत्र बाँडेका हौं’

यसैबीच टोल विकास संस्थाले मंगलबार पत्रकार सम्मेलन गरी अव्यवस्थित वसोवासीहरुको विवरण संकलन गर्ने क्रममा बसोवास परिचय पत्र वितरण गरिएको जनाएको छ ।

संस्थाका अध्यक्ष भीमसेन श्रेष्ठले आफू भन्दा अघिल्लो कार्यसमितिले गरेका आर्थिक हिनामिनाको जिम्मेवार आफूहरु नभएको दावी गरे । कोभिड–१९ महामारीका कारण संस्थाको नियमित साधारण सभा हुन नसकेको स्वीकार गर्दै उनले छिटै साधारणसभा गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?