
२४ चैत, नेपालगञ्ज । सतिदेवीको जिभ्रो पतन भएको विश्वास गरिने नेपालगञ्जको बागेश्वरी मन्दिरमा यतिबेला विवाह, ब्रतबन्ध र छेवर (चूडाकर्म) गर्न आउनेहरुको भीड बढ्न थालेको छ ।
हरेक वर्ष नवरात्रको अवसरमा गरिने यस्ता संस्कारहरुलाई सामान्यतया मुहूर्त जुराइरहनु पर्दैन भन्ने विश्वास छ । त्यसैले पनि प्रतिपदाको दिनदेखि नै यहाँ विभिन्न संस्कार गर्न आउनेहरुको भीड लागेको थियो ।
नवरात्रका ९ दिनमध्ये पनि एउटा उचित दिन छानेर नेपालगञ्जवासी तथा जिल्लाका अन्य भेगबाट आउने दर्शनार्थीहरुले पनि विभिन्न कर्म गरेर जाने गर्छन् । यहाँ नौ दिनसम्म मेला लाग्ने गर्छ ।
वाक्यसिद्धि देवी बागीश्वरी माताले भक्तहरूको मनोकांक्षा पूरा हुन्छ भन्ने विश्वासको कारणले पनि यहाँ दर्शनार्थीहरुको भीड लाग्ने गरेको मन्दिर व्यवस्थापन समितिमा कार्यरत राजु केसी बताउँछन् । यहाँ आएर बच्चाको छेवर, विवाह, ब्रतबन्ध जस्ता संस्कार गर्दा बच्चाको वाक् शक्ति र इच्छा पूरा हुन्छ भन्ने विश्वास स्थानीयमा छ ।
केसीका अनुसार प्रतिपदादेखि सुरु हुने मेला नवमीको दिनसम्म यहाँ मेला लाग्ने गर्छ । पञ्चमीको दिनदेखि झनै बढी भीड सुरु हुन्छ ।
यस स्थानमा सर्वप्रथम किन्नरगणहरूले पूजा–आराधना गरेका थिए भन्ने विश्वास छ । एउटा ठूलो तलाउको किनारामा रहेको यो मन्दिर नयाँ मुलुकका रूपमा बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपालमा गाभिएपछि मात्रै पत्ता लागेको स्थानीय बताउँछन् ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4