+
+

पोखरामा एमालेको उम्मेदवार छान्ने चुनाव स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २ गते १५:०२

२ वैशाख, पोखरा । नेकपा एमाले, पोखरा महानगरपालिका कमिटीले मेयर र उपमेयरको उम्मेदवार छान्न तय भएको निर्वाचन अन्तिम समयमा आएर स्थगित गरेको छ । अब केन्द्रीय नेतृत्वले नै उम्मेदवारको टुंगो लगाउने छ ।

एमालेले मेयरमा एक महिलासहित ३ जना र उपमेयरमा एक पुरुषसहित ३ जनाको नाम सिफारिस गर्न भनेको छ । नयर कमिटीमा आकांक्षीहरुबीच लगातार तीन दिन छलफल गर्दा पनि सहमति नजुटेपछि मतदानबाटै टुंगो लगाउने तय भयो ।

निवार्चनलाई उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ र स्थानीय कमिटी सदस्य एवं संगठन विभाग प्रमुख खगराज अधिकारी पक्षले प्रतिष्ठाको लडाइँका रुपमा लिएका थिए र, त्यसअनुसार नै आवेदन परेको थियो ।

पृथ्वीसुब्बा सक्षले मेयरमा पुष्पज्योति ढुंगाना, दीपक पौडेल र मीनाकुमार गुरुङलाई मत दिन नेताहरुले सर्कुलर गरेका थिए । उपमेयरमा तेजनारायण अधिकारी, टीकाराम पंगेनी र बिनकुमारी गुरुङलाई मत हाल्न गुरुङ पक्षले निसकेका थिए । खगराज पक्षले पूर्वमेयर तथा सांसद कृष्णथापा, दर्शन लामा र सावित्री भण्डारीको नाम मेयरका लागि मत दिन लबिइङ भइरहेको थियो ।

तर बिहीबार मतदानअघि जिल्ला तहका नेताको उपस्थितिमा बसेको पोखरा महानगर कमिटीको बैठकमा मतदानमा जाँदा कार्यकर्ता नेताबीच फाटो आउने भन्दै सबैको नाम केन्द्रमै पठाउने प्रस्ताव आयो, जसलाई बहुमतले पारित गरेको छ । महानगर कमिटीमा पृथ्वीसुब्बा गुरुङ पक्षको बहुमत छ ।

खगराज पक्षका पूर्व मेयरसमेत रहेका कृष्ण थापा मतदानबाटै ३ जनाको नाम सिफारिस हुनुपर्ने पक्षमा थिए । तर बहुमतले सबैको नाम केन्द्रमै पठाउने निर्णय भएपछि नेताहरु एमाले जिल्ला कार्यालय बाहिर नाराबाजी समेत गरेका थिए ।

दुई नेताको प्रतिष्ठाको लडाइँका कारण सबैको नाम केन्द्रमै पठाइएको एक नेताले बताए । ‘हामी मतदानमार्फत जनाको नाम सिफारिस गर्ने पक्षमा थियौं, तर अर्को पक्षले सबैको नाम केन्द्रमा पठाउन प्रस्ताव गरेपछि बहुमतले निर्णय ग¥यो,’ खगराज पक्षका ती नेताले भने, ‘पृथ्वीसुब्बा पक्षकै कारण सबैको नाम केन्द्रमा सिफारिस हुन पुग्यो । अब ओलीले जसलाई भन्छन्, उनैले टिकट पाउँछन् ।’

महागर कमिटी अध्यक्ष दिलिप न्यौपाने भने सर्वसम्मत रुपमा अघि बढ्ने गरी आवेदन दिएका सबै उम्मेदवारलाई नै सिफारिस गर्ने बैठकको निर्णय भएको बताउँछन् । ‘निर्वाचनको तयारी भए पनि अन्तिम समयमा नगर्ने बरु सर्वसम्मतिबाटै सबैको नाम सिफारिस गर्ने सहमति भएको छ,’ उनले भने ।

अब निर्णय ओलीको हातमा

६ महानगरमध्ये कास्कीमा एमाले बलियो मानिन्छ । तर कास्कीमा उपमहसचिव पृथ्वीसुब्बा र स्थायी कमिटी सदस्य खगरागबीच प्रतिष्ठाको लडाइँ चल्दै आइरहेको छ । दुवै समूह महानगरमा जसरी पनि आफ्नै मान्छे ल्याउन चाहन्छन् ।

यसअघिको जिल्ला अधिवेशनमा प्यानलै बनाएर निर्वाचनमा गएका दुवै समूहले यसपटकको मेयर पदका लागि पनि प्यानलै बनाएर आन्तरिक चुनावी मैदानमा होमिने तयारीमा थिए । तर प्यानलै बनाएर अघि बढ्दा पार्टीभित्रै ध्रवीकरण बढ्ने र त्यसले आगामी चुनावमा समस्या पार्ने खतार भएपछि त्यसको जिम्मा केन्द्रीय नेतृत्वलाई सुम्पिइएको कमिटीले जनाएको छ ।

‘पार्टीको केन्द्रीय नीतिअनुसार २ पुरुष र एक महिलाको नाम सिफारिस गर्ने प्रयत्न गरियो । तर, त्यहाँसम्म पुग्न सकिएन र अब सम्भावना पनि रहेन । निर्णय नै केन्द्रीय कमिटीले गर्ने भएकाले जिम्मा दिने वा निर्वाचन गर्ने भन्ने थियो,’ न्यौपानेले भने, ‘निर्वाचन गर्दा पनि पार्टीभित्र धुव्रीकरण बढ्ने खतरा भयो । कार्यकर्तामा निराशा बढ्ने भएपछि सर्वसम्मत् सिफारिस गर्ने निर्णय गरेका हौं ।’

मेयरमा पुरानै नाम, उपमेयरमा थपघट

कमिटीले मंगलबार आह्वान गरेको आकांक्षा उम्मेदवारमा मेयर पदमा १२ जना र उपप्रमुखमा ११ जनाले नाम दर्ता गरेका थिए । जसमा २ जना प्रदेश सभा सांसदसहित वडाध्यक्षसमेत मेयर आकांक्षी थिए । नगरबाट २ पुरुष र एक महिला गरी ३ जनाको नाम सिफारिस गर्ने जिम्मा कमिटीलाई थियो ।

मेयरका लागि प्रदेश सभासदस्यद्वय कृष्णबहादुर थापा र राजीव पहारीसहित भीम कार्की, मीनाकुमारी गुरुङ, प्रदेश उपसचिव रश्मि आचार्य, प्राडा विश्वकल्याण पराजुली, दर्शन लामा, नेताहरु पुष्पज्योति ढुंगाना, पुष्पराज अधिकारी, दीपक पौडेल, बालसिंह काउछा मगर र सावित्री भण्डारी आकांक्षी छन् ।

३ दिनसम्मको छलफलबाट पनि उम्मेदवार टुंगो नलागेपछि शुक्रबार मतदान गर्ने गरी बिहीबार निर्वाचन कार्यतालिका सार्वजनिक भएको थियो । निर्वाचन कमिटीले दिएको समयावधिमा मतदानका लागि मेयरपदका लागि १२ जनाले नाम दर्ता गरेका थिए भने उपप्रमुखमा ९ जनामात्रै सीमित भएका थिए ।

मंगलबार ११ जनाले नाम दर्ता गरे पनि शुक्रबार मतदानका लागि ९ जनालेमात्रै उपप्रमुखमा आकांक्षा देखाएका थिए । शुक्रबार विनकुमारी गुरुङ, सुष्मा पौडेल, देवका पहारी, टीकाराम पंगेनी, तेजनारायण अधिकारी, जीवनप्रसाद आचार्य, बलराम गायक, शोभामोहन पौडेल र बामदेव ढुंगानाले मात्रै नाम टिपाएका छन् ।

शुक्रबार उपप्रमुखमा नेतृ विनकुमारी गुरुङले इन्ट्री गरिन् भने अघिल्लो पटक नाम दिएकी हरिमाया गुरुङ पछि हट्दै विनकुमारीलाई समर्थन गरेकी हुन् । मंगलबार उपप्रमुखमा नाम दर्ता गरेकामध्ये व्यवसायी सञ्जीवबहादुर कोइराला, जिल्ला समन्वय समिति अध्यक्षसमेत रहेका बैनबहादुर क्षेत्री चुनावी मैदानबाट पछि हटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?