+
+

वृद्ध भत्ता र ‘आफ्नो गाउँ, आफैं बनाऔं’ को स्वामित्वमा एकीकृत समाजवादीको दाबी

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ६ गते १७:४८

६ वैशाख, काठमाडौं । नेकपा एकीकृत समाजवादीले स्थानीय तहको चुनावका लागि घोषणा पत्र सार्वजनिक गर्दा विगतमा नेकपा एमाले नेतृत्वको सरकारले ल्याएको लोकप्रिय कार्यक्रममा आफ्नो स्वामित्व दावी गरेको छ ।

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा सार्वजनिक घोषणापत्रमा वृद्ध भत्ता दिने र तत्कालिन गाविसमा बजेट पठाउने ‘आफ्नो गाउँ, आफैं बनाऔं’ लगायतका कार्यक्रमको स्वामित्व दाबी गरिएको छ । तत्कालीन एमालेमा गणतन्त्र स्थापनाको माग अघि सार्ने नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल दुबैजना अहिले एकीकृत समाजवादीमै भएकाले ती कार्यक्रमको स्वामित्वमा पनि हक लाग्ने उसको दाबी छ ।

यी कार्यक्रम २०५१ सालमा नेकपा एमालेका नेता मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा सरकारले यी कार्यक्रम अघि सारेको थियो ।

‘तत्कालीन नेकपा एमालेलाई गणतन्त्र स्थापनाको माग अगाडि बढाउन प्रमुख भूमिका पूरा गर्नुहुने कमरेड माधवकुमार नेपाल र कमरेड झलनाथ खनाल दुबैजना अहिले हाम्रो पार्टीको नेतृत्वमा हुनुहुन्छ,’ घोषणा पत्रमा भनिएको छ, ‘यसैले विगतका जति पनि असल कामहरू भएका छन्, ती सबैको उत्तराधिकारी हामी हौं । ती जनपक्षीय कामहरूको स्वामित्व हामीसँग छ भन्ने कुरामा दुई मत छैन ।’

चर्चा र प्रशंसा

घोषणा पत्रमा ‘आफ्नो गाउँ, आफैँ बनाऔं’ कार्यक्रम युगान्तकारी भएको उल्लेख गरिएको छ । ‘कमरेड मनमोहन अधिकारीको नेतृत्वमा गठित २०५१ सालको नौ महिने सरकारको सबैभन्दा लोकप्रिय र जनजनका मन मष्तिष्कमा बस्न सफल कार्यक्रम हो, ‘आफ्नो गाउँ, आफैँ बनाऔं,’ घोषणा पत्रमा भनिएको छ, ‘यो कार्यक्रम नेपालको स्थानीय विकासका क्षेत्रमा आधारभूत परिवर्तन ल्याउने युगान्तकारी कदम थियो ।’

घोषणापत्रमा थप भनिएको छ, ‘आफ्नो गाउँ आफैं बनाऔं’ कार्यक्रम नेपाली अर्थतन्त्रमा बीजारोपण गरिएको पहिलो समाजवादउन्मुख कार्यक्रम थियो ।’

एकीकृत समाजवादीले वृद्धभत्ता लगायतका सामाजिक सुरक्षाका विभिन्न कार्यक्रम, ‘गाउँगाउँमा सहकारी, घरघरमा रोजगारी’ कार्यक्रम, भूमिहीन सुकुम्बासीलाई जग्गाको लालपुर्जा वितरणजस्ता जनमुखी कार्यक्रम आफूहरुले कार्यान्वयनमा ल्याएको उल्लेख गरिएको छ ।

घोषणा पत्रमा ‘नौ स’ कार्यक्रमको पनि चर्चा र प्रसंसा गरिएको छ । ‘त्यसरी नै काठमाडौं र ठूला सहर केन्द्रित विकासलाई देशका कुना कुनासम्म पु¥याउने प्रत्येक निर्वाचन क्षेत्र केन्द्रित ‘नौ स’ कार्यक्रम अर्को एउटा सन्तुलित विकासको नमुना थियो,’ घोषणा पत्रमा भनिएको छ, ‘प्रत्येक निर्वाचन क्षेत्रमा समान बजेट छुट्टयाउने गरी यो कार्यक्रम अघि सारिएको थियो ।’

‘नौ स’ अन्तर्गत स्वास्थ्य, शिक्षा, स्वच्छ खानेपानी, स्थानीय सडक, साना सिँचाइ, सघन वन, सामुदायिक विद्युतीकरण, साना तथा लघु उद्योग, सीपमूलक तालिमजस्ता पूर्वाधार र रोजगारमूलक कार्यक्रमहरू अघि सारिएका थिए ।’

अहिले गाउँगाउँमा शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, विद्युत् लगायत भौतिक पूर्वाधार निर्माणको लहर चलेको भन्दै त्यसका पछाडि ‘आफ्नो गाउँ आफै बनाऔं’ र ‘नौ स’ कार्यक्रमहरू नै रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?