+
+
पुस्तक चर्चा :

छलाङ : फास्ट ट्रयाक सामाजिक रुपान्तरणको कथा 

लेखनाथ भण्डारी लेखनाथ भण्डारी
२०८१ वैशाख १५ गते १८:३०

पत्रकारिताको पृष्ठभूमिबाट लेखक/साहित्यकारको पृष्ठभूमिबाट पत्रकारिता कतातर्फको पानीढलो बढ्ता छ भनेर यकिन गर्न नसकिएला । तर पनि दुवैतर्फबाट दुवैतर्फको भूमि भने राम्रोसँग सिञ्चित  भएकै छ । यसै मेसोमा यहाँ पत्रकार दिलीप ढकालकृत सामाजिक जीवन, विद्यार्थी आन्दोलन, समसामयिक राजनीति, जातीय विभेद र विभेदविरुध्दको विद्रोह, वैदेशिक रोजगारी र यसका प्रभाव तथा व्यक्तिगत जीवनका उतारचढावजस्ता विषय केन्द्रित ‘छलाङ’ उपन्यासका सम्बन्धमा पाठकीय दृष्टिकोणको सामान्य चर्चा गर्न प्रयास गरिंदैछ ।

छलाङ, यो उपन्यास नेपालको वर्तमान सामाजिक र राजनीतिक रुपान्तरणको चरणले पूर्णता प्राप्त गरी नसकेकाले अझै एक फट्को मार्नुपर्ने सन्देश बोकेको सामाजिक तथा राजनीतिक कथामा आधारित छ ।

छलाङ, स्याङ्जा जिल्लाको आँधीखोला गाउँपालिका-३ स्थित पञ्चमूल गाउँका मानवी विश्वकर्मा र प्रभात ढकालको नायकी केन्द्रित कथामा आधारित छ | स्याङ्जाको उत्तर-पश्चिम कुनामा पसारिएको पहाडी डाँडाको फेदीमा रहेको सानो गाउँ हो पञ्चमूल । छलाङका लेखक ढकालको जन्म गाउँ पनि रहेको यो पञ्चमूलको माथिल्लो भागमा दलित बस्ती र त्यसभन्दा तल बाहुन, क्षेत्री र गुरुङहरूको बस्ती छ । एकापसमा जोडिएर पनि जातीय विभेदको जरा गाडिएर विभाजित भएका यिनै दुई बस्तीमा  हुर्केका थिए- मानवी विश्वकर्मा र प्रभात ढकाल ।

जन्मथलोबाट उच्च शिक्षाका लागि पोखरा पृथ्वीनारायण शाह क्याम्पस झरेका प्रभात र मानवीको नायकीको कथा राजानीतिक वा सामाजिक कारणले पोखरा आसपास हुँदै वैदेशिक रोजगारीको कारण काठमाडौं र इजरायलसम्म जोडिएको छ । मानवीको वैवाहिक जीवनमा पतिको रुपमा पोखरामा नै गम्भीर सुनार सहनायकका रुपमा भेटिन्छ भने इजरायलमा अमेरिकामा बसोबास गर्ने गोरे खलनायकका रुपमा देखापर्छ । प्रशस्त सहायक पात्रहरु, सामाजिक र पारिवारिक जीवनका मसिना घटनाहरू, चाडपर्वहरू, राजनीतिक र सामाजिक जागरणका गतिविधिहरु जस्ता नेपाली समाजका दैनिकीहरू पाठकका लागि आफ्नै वरिपरिका पात्रहरूको उदाहरण हुनसक्छन् । छलाङको सन्देश हो- ‘जीवनका कठिनाइ भोग्नेलाई मात्र थाहा हुन्छ भने कठिनाइसँग सम्झौता पनि बुझ्नेले मात्र गर्छन् ।’

विद्यार्थी आन्दोलन, राजनीतिक पृष्ठभूमि,जेलजीवन र कठोर यातना, अन्तरजातीय प्रेम, सामाजिक विभेद, विवाहेत्तर सम्बन्धजस्ता विषयमा धेरै कथा, उपन्यास वा संस्मरणहरू लेखिएका छन् । तर परिष्कृत भोजन  सधैं र सबैका लागि उत्तिकै स्वादिष्ट भएजस्तै लेखकीय शिल्प, शैली र कथानकले पाठकलाई पुराना विषय पनि थप पठनीय हुनसक्छन् भन्ने यो उपन्यासले पुष्टि गर्छ । समग्र नेपाली समाजको चरित्र र जातीय विभेद र सामाजिक द्वन्द्वको बाँकी फिलिङ्गो पनि हो ‘छलाङ’ ।

उच्च शिक्षाको सपना बोकेर पञ्चमूलबाट २०५०-५१ सालतिर पोखरा झरेको प्रभात विद्यार्थी संगठनमा जोडिएर गणतन्त्र नेपालको पूर्वार्धमा जेल पर्छ । जेलजीवनबाट छुटेको प्रभातलाई गणतन्त्र स्थापनापछि  सोही गाउँबाट उच्च शिक्षाको सपना बोकेर पोखरा झरेकी मानवीले अलिक अस्वाभाविक रुपमा भेट्छे । आमूल सामाजिक रुपान्तरणका लागि राजनीतिमा लागेको प्रभात जेलबाट फर्किंदा मानसिक रुपमा असन्तुलित देखिन्थ्यो ।

जेलमुक्त भएपनि उसको क्रान्तिकारी चेतनाले मुक्ति पाएको थिएन । गणतन्त्र आएपछि पनि प्रभात भनिरहन्थ्यो- ‘एउटा राजाका विरुध्दमा लडेर मात्र जनक्रान्ति कसरी सफल भयो र ? देशभर दलित दलित नै छन्, गरीब गरीब नै छन् । राज्यसत्ताको बागडोर हस्तान्तरण मात्र जनविद्रोहको ध्येय थिएन । देशको संरचना, जनताको चेतना तथा गरीब र दलितहरूको जीवन बदलिनुपर्‍यो । असमानताको कालो बादल सदाका लागि बिलाएर उषा सदाका लागि उदाउनुपर्‍यो ।’

क्याम्पसको औपचारिक विद्यार्थी नभएपनि जेलमुक्त प्रभात गाउँ फर्केन । क्रान्तिले पूर्णता प्राप्त गरेको खुसी बोकेर काठमाडौं छिर्न पनि उसको मनले मानेन | सधैं क्रान्तिकारी कुरा गरिरहने प्रभात झुत्रामैला कपडामा पोखराको पृथ्वीनारायण क्याम्पसभित्रै आश्रय लिएर बस्न थाल्यो । ऊ क्याम्पस वरपरका होटलहरूले फालेका खानामा गुजारा चलाउँथ्यो । देशमा केही गर्छु भनेर अघि सरेको आफ्नै गाउँको आदर्श र अग्रज मानेको ढकाल दाइको त्यो रूप देख्दा मानवीलाई पत्यार त लागेन तर यथार्थ त्यही थियो । ढकाल दाइहरूको अभियानलाई दिलोज्यान अर्पेर साथ दिन तयार मानवीले नबुझेको कुरा थियो- परिवर्तनका लागि त्यो दु:ख, त्यो बौलाहा परिदृश्य अनि दुर्गन्धित वेशभूषा किन अँगाल्नुपर्‍यो ? मानवीलई त ढकाल दाइ सधैं सद्दे छन् भन्ने नै लाग्थ्यो तर क्याम्पसका कुनै विद्यार्थीले पनि उसलाई सद्दे भन्दैनथे ।

मानवी सामाजिक परिवेश र प्रभातको व्यक्तिगत जीवनशैली आफूलाई रुचिकर मात्र होइन प्रतिकूल हुँदाहुँदै पनि प्रभातको व्यक्तित्वबाट प्रभावित थिई । प्रभातको व्यक्तिगत हेरचाह र सामाजिक व्यक्तित्व पुनर्स्थापित गर्न मानवीले सहयोग प्रशस्तै गरी | क्याम्पसमा अध्ययनरत अवस्थामा पनि  ग्रामीण जीवनका पुरातन मान्यताहरूमा सुधार गर्दै अगाडि बढेकी मानवीको पनि मर्यादित सामाजिक पहिचान बन्छ । स्नातक सकेपछि परिवारको विवाह गर्ने प्रस्ताव र दबाबलाई अस्वीकार गर्दै मानवी प्रभातको नेतृत्वमा रहेको राज्यसत्ताको प्रवृत्ति बदल्ने उद्देश्य बोकेको भूमिगत पार्टी ‘सार्थक युवा शक्ति’मा प्रवेश गरेर पूर्णकालीन राजनीतिक कार्यकर्ताको रुपमा सक्रिय हुन थाल्छे |

अन्तत: मानवीले नचाहँदा नचाहँदै पनि पारिवारिक प्रस्तावमा पोखरामा केही स्कुल र कलेजमा प्राध्यापन गर्दै आएको गम्भीर सुनारसँग विवाह गर्छे । विवाहपछि स्नातकोत्तर अध्ययनको लागि समय व्यवस्थापन मानवीका लागि गाह्रो हुँदै जान्छ । मानवी  रुकुम, तनहुँ, रौतहट, रुपन्देहीमा घटेका जातीय विभेदका घटनाहरूको प्रतिरोधमा सार्थक पार्टीको तर्फबाट सहभागी हुन्छे । उता मानवीको पति गम्भीर भने क्रमशः राजनीतिमा कम अनि आर्थिक कारोबारमा प्राथमिकता दिंदै पारिवारिक जीवन र भविष्य सुरक्षित गर्ने कुरामा जोड दिन थाल्छ । राजनीतिक भूमिका न्यून गर्दै लगेकी मानवीले आफ्नो पतिको रुचि र  पारिवारिक समस्या प्रभातलाई पनि जानकारी गराउँछे । र, अन्ततः  मानवी पतिकै सल्लाहमा वैदेशिक रोजगारीका लागि इजरायल जान तयार हुन्छे ।

इजरायल पुगेकी मानवीले वैदेशिक रोजगारीमा ऊभन्दा पहिले इजरायल जानेहरूका पारिवारिक जीवनका व्यथाहरू बोकेका आफ्नै गाउँठाउँका महिलालाई पनि भेट्छे । आफ्नै श्रीमानको दबाबमा इजरायल पुगेकी सम्पूर्णाका श्रीमानले अर्को विवाह गरेपछि उनलाई पन्छाउन गरेको छलको विवरण सुनेर मानवीको मनमा पनि पुरुषप्रतिको शंका र सजगताको दियो जाग्छ ।

इजरायलमा एक वृद्धा महिलाको हेरचाहमा खटिएकी थिई मानवी । तिनै वृद्धाको नाति जो अमेरिकामा बसोबास गर्थ्यो, ऊ इजरायल गएको समयमा भएको व्यक्तिगत निकटताको परिणाम मानवी गर्भवती भई । मानवीकै लागि पनि यो अपत्यारिलो र अनपेक्षित थियो । गोरेसँग कुनै अपेक्षा वा अनुराग नहुँदा नहुँदै पनि असावधानी र अप्रत्यासित भएको दुर्घटनाका रुपमा लिएकी मानवीले यसबारे प्रभातमार्फत् आफ्नो पति गम्भीरलाई जानकारी गराई । गम्भीरले यसलाई सामान्यरुपमा लिनसक्ने सम्भावना पनि थिएन । मानवी पेटमा बच्चा बोकेर नेपाल फर्की । नेपाल फर्केपछि मानवीले छोरी जन्माई । गम्भीरले बच्चालाई कुनै आश्रममा राखेर मानवी आफू मात्र आए आफूले स्वीकार्ने बतायो । मानवीले छोरी छोडेर आउन नमानेपछि कानुनीरुपमै उनीहरू छुट्टिए ।

कलिलै उमेरमा नचाहँदा नचाहँदै अनेक प्रतिकूल परिस्थितिको सामना र सम्झौता गर्न बाध्य मानवीको भुक्तमानको नजिकको एक मात्र साक्षी थियो- उसकै पार्टीको नेता अर्थात् प्रभात ढकाल । आफूलाई सम्मानजनक माया र सहयोग गर्ने मानवीको व्यक्तिगत जीवनप्रति प्रभातमा चिन्ता र ममता त पहिलेदेखि नै छँदै थियो । प्रभातले मानवीलई निसंकोच विवाहको प्रस्ताव गर्‍यो । मानवीको बासँग पनि सहमति लियो  र आफ्ना बाआमाको अस्वीकृति हुँदाहुँदै पनि सार्वजनिकरुपमै प्रभातले मानवीलाई विवाह गरेर समाजमा उदाहरणीय भूमिका देखायो ।

विवाहपछि पनि उनीहरू दुवै पूर्वतरुपमै ‘सार्थक युवा पार्टी’मा सक्रिय भए । त्यसपछिको निर्वाचनमा जनताले पनि अन्य पार्टीभन्दा ‘साँचो रुपमा  राष्ट्रको छलाङ मार्न सक्ने र देशको सार्थक विकास गर्न सक्ने’ भनेर यस पार्टीलाई जिताए । परिणामत: निर्वाचनपछि सार्थक पार्टीको अध्यक्ष क्रान्ति प्रधानमन्त्री र प्रभात पूर्वाधार विकासमन्त्री बने । क्रमशः देशमा राजनीति, राज्यसत्ता, सामाजिक न्याय, जातीय विभेद अन्त्य, विकास र समृद्धिको लहर तथा प्रशासन-कर्मचारीहरूमा पनि जनसेवाको भावना देखापर्न थाल्छ |

यसरी हेर्दा आमूल राजनीतिक परिवर्तन मार्फत राज्यसता परिवर्तन गर्ने र समावेशी समाज निर्माणमा छलाङ मार्ने स्वरैकल्पना पनि हो यो | तर यो स्वरैकल्पना विना कुनै कारण निर्माण भएको होइन | नेपालका विभिन्न कालखण्डहरूमा भएका राजनीतिक आन्दोलन,तिनका चरित्र र परिणामहरूले सिकाएको पाठ र दिएको सन्देश पनि हो | तसर्थ यो ‘छलाङ’ सामाजिक र राजनीतिक जीवनसँग जोडिएको यथार्थ घटनामा पनि आधारित छ ।

सामान्यतया एउटा उपन्यासमा औसतमा कति विषयवस्तु वा कति पात्रहरू हुनुपर्छ ? यसको  कथावस्तु, शैली, सन्देश आदिको प्राविधिक मापदण्ड र सैद्धान्तिक व्याख्या विज्ञहरूले ऐन मौकामा बताउनुहोला । एउटा सामान्य पाठकीय दृष्टिबाट छलाङ, राजनीतिक परिवर्तन मार्फत सामाजिक जीवनमा सुधार, विभेदको अन्त्य, देशको विकास र जनताको अपेक्षा पूरा हुनसक्ने सन्देश दिन सफल छ । अढाइ दशकको कथावस्तुमा यतिका धेरै उपलब्धि हासिल हुनसक्नु, पात्रहरूको जीवनका उकाली ओरालीका भोगाइ र भूमिका, सम्बन्धित राजनीतिक पार्टीका कार्यक्रम, सरकारको  प्रभाव आदिको बारेमा  समेटिनु पनि ‘फास्ट ट्रयाक’ रुपान्तरणको परिणाम नै मान्नुपर्छ । पृष्ठ संख्याको गणना गर्दा करिब ३०० पेजको भएपनि यो उपन्यास पाठकले एकै बसाइका दुई-अढाइ घण्टामा नै छिचोल्न सक्छन् |  नवप्रतिभाका रुपमा उदाएका लेखक ढकालको कृति प्रकाशक शिखा बुक्सले अन्य नवप्रतिभाहरूलाई पनि प्रोत्साहित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?