+
+
Shares

अफगानिस्तानले ब्रगाम सैन्य एयरबेस फिर्ता नगरे राम्रो नहुने ट्रम्पको चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ५ गते १७:५९

५ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानले बग्राम एयरबेस अमेरिकालाई फिर्ता नगरे ‘राम्रो नहुने’ चेतावनी दिएका छन् ।

साथै ट्रम्पले उक्त सैन्य एयरबेस नियन्त्रणमा लिन अमेरिकी सेना पठाउने सम्भावनालाई पनि नकारेका छैनन् ।

आफ्नै स्वामित्वको सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै राष्ट्रपति ट्रम्पले अफगानिस्ताले अमेरिकाले बनाएको सैन्य अड्डाको नियन्त्रण फिर्ता नगरे ‘राम्रो नहुने’ चेतावनी दिएका हुन् ।

‘यदि अफगानिस्तानले यसलाई निर्माण गर्ने अमेरिकालाई बग्राम एयरबेस फिर्ता दिएन भने, खराब कुरा हुनेछन्,’ ट्रम्पले भनेका छन् ।

११ सेप्टेम्बर २००१ मा न्यूओर्क र वासिंगटनमा अल कायदाले गरेको भिषण आक्रमणपछि अमेरिकाले अफगानिस्तानमा सेना परिचालन गरेको थियो । त्यही बेलादेखि अमेरिकाले बग्राम सैन्य एयरबेस बनाएर प्रयोग गर्दै आएकोमा तालिबान सत्तामा आएपछि अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता भएका थिए ।

गएको बिहीबार पनि ट्रम्पले अमेरिकाले उक्त सैन्य एयरबेस पुन: नियन्त्रणमा लिने प्रयास गरिरहेको बताएका थिए ।

शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै उनले अफगानिस्तानसँग यसबारे छलफल भइरहेको समेत बताएका थिए ।

सन् २०२१ मा अमेरिकी सेना फिर्ता भएपछि तालिबानले अमेरिकाले बनाएको अड्डा सहित सम्पूर्ण शासन सत्ता आफ्नो हातमा लिएको थियो ।

अफगानी अधिकारीहरूले भने देशमा पुन: अमेरिकाको उपस्थितिको विरोध जनाउँदै आएका छन् ।

अमेरिकी प्रशासनका वर्तमान तथा पूर्व अधिकारीहरूले भने बग्राम एयरबेस पुन: कब्जा गर्नु अफगानिस्तानमा फेरि आक्रमण गरे सरह नै हुने प्रतिक्रिया दिएका छन् ।

अमेरिकाले यस्तो कदम चाल्न १० हजारभन्दा बढी सैनिक र उच्चस्तरीय हवाई सुरक्षा प्रणाली आवश्यक पर्ने उनीहरूको भनाइ छ ।

ट्रम्पले यसअघि पनि पनामा नहरदेखि ग्रीनल्याण्डसम्मका विभिन्न भू-भागमा अमेरिकाले नियन्त्रण कायम गर्नुपर्ने अभिव्यक्ति दिँदै आएका थिए ।

अफगानिस्तानको बग्राम सैन्य अड्डामा पनि लामो समयदेखि उनले विशेष ध्यान दिँदै आएको देखिन्छ ।

शनिबार पत्रकारहरूले बेस पुन: कब्जा गर्न सेना पठाउनेबारे सोध्दा उनले स्पष्ट जवाफ दिएनन् । उनले भने, ‘त्यसबारे हामी कुरा गर्दैनौँ । हामी अहिले अफगानिस्तानसँग कुरा गर्दैछौं, हामीलाई यो तुरुन्तै चाहिन्छ । यदि दिएनन् भने के हुन्छ भन्ने कुरा पछि थाहा पाउनुहुनेछ ।’

अफगानिस्तानमा चलेको दुई दशक लामो युद्ध अवधिभर बग्राम एयरफिल्ड अमेरिकाको प्रमुख एयबेस थियो । एयरबेसभित्रै फास्ट-फूड रेस्टुराँदेखि लिएर इलेक्ट्रोनिक्स र अफगानी गलैंचा बेच्ने पसलसम्म थिए । एयरबेसमा ठूलो कारागारसमेत बनाइएको थियो ।

विशेषज्ञहरूले सैन्य एयरबेसलाई अमेरिकाले नियन्त्रणमा लिएर सुरक्षितरूपमा चलाउन  ठूलो संख्यामा सैनिक आवश्यक पर्ने बताएका छन् ।

यदि तालिबानले मानिहाले पनि इस्लामिक स्टेट, अल–कायदा जस्ता विद्रोही समूह र इरानले गर्न सक्ने सम्भावित मिसाइल आक्रमणबाट जोगाउन कठिन हुने उनीहरूको विश्लेषण छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?