+
+

कास्कीका नेतालाई देउवाको निर्देशन : पोखरामा विवाद नगर्नू, जिताएर पठाउनू

अमृत सुवेदी अमृत सुवेदी
२०७९ वैशाख ६ गते १८:११

६ वैशाख, पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कास्कीका पार्टी नेतालाई काठमाडौं बोलाएर पोखरा महानगरपालिकाको मेयरका विषयमा विवाद नगर्न र गठबन्धनका उम्मेदवारलाई जिताउन निर्देशन दिएका छन् ।

देउवाले बोलाएपछि मंगलबार काठमाडौं पुगेका कांग्रेसका गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, कास्की जिल्ला सभापति किशोरदत्त बराल र नेता यज्ञबहादुर थापालाई जसले टिकट पाए पनि विवाद नगरी जिताएर पठाउन निर्देशन दिएका हुन् ।

‘कास्कीमा कांग्रेसले टिकट पाएमात्र जित्न सम्भव हुन्छ, एकीकृत समाजवादीलाई टिकट दिँदा धेरै जना रूष्ट हुन सक्छन् भनेर पोखराको यथार्थ जानकारी गरायौं,’ देउवालाई भेटेर पोखरा फर्किँदै गरेका कास्की सभापति बरालले टेलिफोनमा भने, ‘गठबन्धन भएपछि सबै ठाउँमा हाम्रैले पाउँछन् भन्ने हुन्न, जसले पाए पनि गठबन्धन जिताउन लाग्नू भन्ने उहाँको निर्देशन थियो ।’

देउवाले गठबन्धन भएकाले जसले पाए पनि कार्यकर्तालाई बुझाएर चुनावी अभियानमा लाग्न निर्देशन दिएका थिए । देउवाले गठबन्धनको यथार्थ बताउन र चुनावी अभियानमा लाग्न निर्देशन दिन नेताहरूलाई काठमाडौं बोलाएका थिए ।

सत्तारुढ गठबन्धनले भागवण्डा गर्दा पोखरा महानगरपालिका एकीकृत समाजवादीको भागमा परेको खबरसँगै कास्की कांग्रेस सचिव भानु ढकाल र देवेन्द्र रानाभाटले एकीकृत समाजवादीसँग गठबन्धन टुटेको र मित्रवत प्रतिस्पर्धा गर्ने भन्दै सोमबार विज्ञप्ति निकालेका थिए ।

सोमबार काठमाडौंमा गठबन्धनको बैठकमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पोखरा कांग्रेसले छोड्न नसक्ने अडान लिएका थिए । पौडेलले केन्द्रमा कुनै निर्णय नभएको भन्दै कास्कीमा पनि अडान नछाड्न भनेका थिए । त्यसलगत्तै कास्कीमा गठबन्धनको बैठक चलिरहँदा बाहिर सचिवहरूले विज्ञप्ति निकालेका थिए । त्यही विज्ञप्तिपछि काठमाडौंमा गठबन्धनको बैठक स्थगित भएको थियो ।

कांग्रेस पोखरा महानगर समितिले पनि विज्ञप्ति निकालेर एकीकृत समाजवादीले हैसियतभन्दा ठूलो भाग खाजेको बचाउँदै पोखरा कांग्रेसले नछोड्ने बताएको थियो ।

कांग्रेस गण्डकी सभापति शुक्रराज शर्मा, कास्की तथा नगरका सभापतिहरूको बैठक बसिरहँदा देउवाले फोन गरेर तुरून्त काठमाडौं आउन भनेका थिए । देउवाले भेट्न बोलाएपछि पुगेका नेताहरूलाई वक्तव्यबाजी नगर्न, विवाद नझिक्न र कार्यकर्तालाई बुझाएर गठबन्धनलाई जिताउन निर्देशन दिएका थिए ।

कास्कीका नेताहरू पोखरामा कांग्रेसलाई नै टिकट दिनुपर्ने भन्दै केही दिनअघि पनि देउवालाई भेट्न काठमाडौं पुगेका थिए । त्यतिबेला पनि देउवाले गठबन्धनको मर्म बुझेर चुनावी अभियानमा लाग्न निर्देशन दिएका थिए ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?