+
+

पोखराका सहकारीबाट मात्र ३ अर्ब अपचलन, ६ वटा सहकारी पीडित एकजुट

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ८ गते १९:४७

८ वैशाख, पोखरा । गीतेन्द्रबहादुर राई (जीब) नेतृत्वको पोखराको सूर्यदर्शन सहकारी पीडितले बचत रकम फिर्ताको माग गर्दै जिल्ला प्रहरी, प्रशासनदेखि गृहमन्त्री प्रधानमन्त्रीसम्म गुहार्न थालेको २ वर्ष नाघिसक्यो । तर, यो सहकारी ठगीका मुख्य आरोपी जीबी राई अझैसम्म फरार हुँदा पीडितले न्याय पाउने आशा गर्न सकेका छैनन् ।

त्यसमाथि सहकारी ठगीका मुख्य आरोपी जीबीराईसँग विगतमा गोर्खा मिडिया नेटवर्कमा साझेदार रहेका रवि लामिछाने नै गृहमन्त्री रहेकाले वचत फिर्ता हुने र दोषीलाई कारबाही हुनेमा पीडितहरु सशंकित बनेका छन् । पोखराको सूर्यदर्शन सहकारीबाटमात्रै १८ हजार ७ सय पीडित छन् । उनीहरुको १ अर्ब ३५ करोड बचत अपचलन भएको अनुसन्धानले देखाएको छ ।

बागलुङ र पोखरामा सञ्चालित इमेज सहकारीका पीडितहरुले पनि न्यायको लडाईँ लड्न थालेको दुई वर्ष भन्दा बढी भयो । बागलुमा ३ र पोखरामा एउटा गरी चार शाखाबाट इमेज सहकारी चलाएका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली पनि गत सालको जेठ ५ गतेदेखि फरार छन् ।

पोखराको इमेज सहकारीबाट मात्र ८ हजार २३१ पीडित छन् । उनीहरुको ६४ करोड ८८ लाख अपचलन भएको छ । बागलुङमासमेत गरी सवा २ अर्ब त इमेज सहकारीबाट मात्र अपचलन भएको तथ्यांक छ । पोखराकै शिवशिखर सहकारीका पनि ७ हजार १७० जना पीडित छन् ।

पोखराका शिवशिखर सहकारीका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् तर बचतकर्ताले रकम फिर्ता पाउन सकेका छैनन् । पोखराको शिवशिखरबाट ५४ करोड २३ लाख ८ हजार अपचलन भएको प्रहरीको तथ्यांक छ ।

पोखराकै बलिदानी सहकारीबाट ६ हजार ३४५ जनाको १० करोड ६९ लाख अपचलन भएको पाइएको छ । यसैगरी मित्रमिलन सहकारीबाट ३ हजार ४ सय ४६ पीडित र ३१ करोड ७८ लाख २२ हजारको हिसाब नदेखिएको प्रहरीको भनाइ छ ।

बिन्दवासिनी सहकारीबाट पनि करिब १० करोड हिनामिना भएको आरोप छ । यसरी पोखराका ६ वटा सहकारीबाट मात्र करिब ३ अर्ब रुपैयाँ अपचलन भएको प्रहरीको भनाइ छ ।

लामो समयदेखि छुट्टाछुट्टै संघर्ष गर्दा दबाब नपुगेको भन्दै पोखराका यी ६ सहकारीका पीडित बचतकर्ता एकै ठाउँमा उभिएका छन् । पोखराका समस्याग्रस्त बनेका सहकारीका पीडितहरुले एक जुट भएर आन्दोलनको तयारी गरेका हुन् ।

राजनीतिक दलदेखि सरकारसम्मलाई सहकारीका समस्या समाधान गरी बचतकर्ताको रकम फिर्ता गराउन दबाब दिने उद्धेश्यले आन्दोलन गर्ने रणनीतिसहित एकै ठाउँमा भेला भएको सूर्यदर्शन सहकारी पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले जानकारी दिए ।

गत वैशाख ५ गते पोखराका सूर्यदर्शन, इमेज, शिवशिवर, मित्रमिलन, बलिदानी र विन्दवासिनी सहकारीका पीडित बचतकर्ताको उपस्थितिमा कास्की सहकारी बचत पीडित संघर्ष समिति गठन भएको हो । समितिले सहकारीमा देखिएका समस्या समाधान गर्न ध्यानाकर्षण गराउनेदेखि आन्दोलनका कार्यक्रमसम्मलाई बलियो बनाउन एक जुट भएर लाग्ने उद्देश्य लिएको छ ।

सूर्यदर्शनका वचतकर्ता श्रेष्ठकै अध्यक्षतामा कास्की सहकारी बचत पीडित संघर्ष समिति गठन भएको छ ।

समितिको उपाध्यक्षमा इमेज सहकारीका हरिबहादुर खत्री, सचिवमा मित्रमिलन सहकारीका प्रकाश पौडेल, कोषाध्यक्षमा शिवशिखर सहकारीका टंकराज तिमिल्सिना, सहसचिवमा सदस्यमा बलिदानी सहकारीका ओम पुन र सदस्यहरुमा विन्दवासिनी सहकारीका इन्द्रबहादुर गुरुङ, सूर्यदर्शनकी अनुराधा श्रेष्ठ, सूर्यदर्शनकै प्रेम रेग्मी, मित्रमिलन सहकारीकी प्रभा सुवेदी, सूर्यदर्शनकै राजेन्द्र शर्मा छन् ।

यसैगरी सदस्यमै बलिदानी सहकारीका जीवन भट्टराई, इमेज सहकारीका बद्री पोखरेल र विन्दवासिनी सहकारीका डिल्लीराम पौडेल सदस्य छन् ।

सहकारी पीडितको बचत फिर्ता गर्नभन्दा पनि सरकार र पार्टीहरूले राजनीति गर्न थालेपछि एक जुट भएको श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?