News Summary
Generated by OK AI. Editorially reviewed.- पोखरामा जेनजी आन्दोलनका क्रममा थापाको घर, बगैँचा रिसोर्ट, होटल गुडविल, होटल सरोबर, भाटभटेनी र इभेन्ट सेन्टरमा तोडफोड तथा आगजनी भएको थियो।
- आगजनीपछि व्यवसायीहरूले वर्षौंको मिहिनेत र ठूलो लगानी नष्ट भएको भन्दै पुनर्निर्माण र सञ्चालन थालिएको बताए।
- सञ्चालकहरूले आन्दोलनको नाममा भएको क्षतिमा संलग्नलाई पहिचान गरी कानुनअनुसार कारबाही गर्न माग गरेका छन्।
२४ भदौ, पोखरा । जेनजी आन्दोलनअघि ‘नेपोबेबी’ का नाममा गण्डकी प्रदेशका मन्त्री एवं व्यवसायी विन्दुकुमार थापाका छोरा सौगातको फोटो राखेर भिडियो भाइरल बनाइयो । त्यतिबेला मन्त्री पदमै रहेका थापाका छोरा सौगातको जीवनशैलीलाई लिएर धेरैले प्रश्न उठाएका थिए ।
२४ भदौमा केही समयअघि मात्र सौगातको नेतृत्वमा खुलेको बगैंचा रिसोर्टलाई अराजक भिडले निशाना बनायो । मन्त्री थापाको नयाँ बजारमा रहेको घरदेखि बगैंचा रिसोर्टसम्म जलाएर ध्वस्त बनाए । घर अहिले पनि पुननिर्माण भइसकेको छैन भने बगैंचा रिसोर्ट भने सौगातले सञ्चालनमा ल्याएका छन् ।
‘एक वर्षअघि आजकै समय सम्झिँदा अझै पनि मन भारी हुन्छ । आगोले मेरो व्यवसाय मात्र जलाएन, वर्षौंको मिहिनेत, सपना र बाल्यकालसँग जोडिएका धेरै सम्झनाहरू खरानी बनायो,’ सौगात भन्छन्, ‘त्यो पीडा सहजै बिर्सन सकिने थिएन । तर जीवनले एउटा कुरा सिकाउँदो रहेछ– ढलेपछि उठ्नु नै वास्तविक जित हो ।’
आफैंलाई सम्हाल्दै त्यो कठिन समय पार गरेको उनको अनुभव छ । आन्दोलनले उठाएका प्रश्नको आफू विरोधी नभएको उनले बताए । नवयुवाहरूको आक्रोश आफूमाथि नभएर देशको नेतृत्वप्रति भएको हिसाबले आफूले बुझेको सौगातले बताए ।
‘परिवर्तनका नाममा कसैको घर, व्यवसाय र वर्षौंको मिहिनेत जल्नु चाहिँ निकै पीडादायी हुँदोरहेछ,’ सौगातले भने, ‘कतिपय रात राम्ररी निदाउन पनि सकिएन ।’ करोडौं रुपैयाँ लगानी भएको व्यक्तिको सम्पत्ति तोडफोड र आगजनी गरेर कसले के पायो भन्ने अहिले पनि बुझ्न नसकेको सौगातले बताए । कसैको केही नबिगारेको भए पनि बुबा धनी भएकै कारण आफूहरूमाथि प्रहार गरिएको उनको भनाइ छ ।
सौगातले अनलाइनखबरसँग भने, ‘मेरो बुवाले राजनीति गर्नुभयो, मन्त्री हुनुभयो र जीवनको लामो समय समाजसेवामा बिताउनुभयो । त्यस क्रममा उहाँले आरोप–आक्षेप पनि खेप्नुभयो । तर त्यसको रिस ममाथि पोखिएको जस्तो लाग्छ ।’
सौगातले अहिले अंशुवरा ग्रुपको व्यवस्थापनसँगै बगैँचा रिसोर्ट लगायतका व्यवसायिक गतिविधिमा सक्रिय छन् ।
‘हामीले यस्तो समाज बनाउनुपर्छ जहाँ सफल हुनु अपराध नहोस्, व्यवसाय गर्नु अपराध नहोस् र कसैको परिवारको मिहिनेत उसको पुस्ताका कारण अपमानित नहोस्,’ सौगात भन्छन् ।
जीवनभरको मिहिनेत जलेको दृश्य वर्णन गर्न सकिँदैन : मिलन
थापाको घर, व्यवसाय र रिसोर्टसम्म जेनजी आन्दोलनको निशानामा परेका थिए । सांसद थापाको भाइ भएकै कारण व्यवसायी ध्रुव थापाको घर र व्यवसायसमेत जलाएर धस्त पारेका थिए । नेपाल अटोमोबाइल डिलर्स एसोसिएसनका पूर्वअध्यक्षसमेत रहेका थापाको घरव्यवसाय जलाएर खरानी बनाएका थिए । त्यही क्रममा घरमा काम गर्ने एक महिलाको जलेर ज्यानसमेत गएको थियो ।
घर,व्यवसाय जलेर पनि अहिले बाढी पीडितका निम्ति ५० लाखभन्दा धेरै सहयोग गरेका थापा परिवारले जेनजी आन्दोलनको त्यो क्षणले विक्षिप्त बनाएको मिलन थापा स्मरण गर्छिन् ।
‘त्यो समय सम्झँदा आज पनि मन भारी हुन्छ । आन्दोलनका क्रममा मेरो घर र व्यवसायमा आगलागी भयो । वर्षौँको मिहिनेत, सपना, पसिना र पुस्तौँदेखि सुरक्षित राखिएका महत्वपूर्ण दस्तावेज तथा अनगिन्ती पारिवारिक सम्झनाहरू पनि खरानी बनायो,’ मिलनले भनिन्, ‘आफ्नै आँखाअगाडि आफूले जीवनभर मिहिनेत गरेर बनाएका संरचना जलेर समाप्त भएको दृश्य शब्दमा वर्णन गर्न सजिलो छैन ।’

व्यक्तिको सम्पत्ति यसरी जलाएर ध्वस्त पारिँदा सत्यतथ्य अनुसन्धान र प्रमाणबाट बाहिर आउनुपर्ने उनको भनाइ छ । हिमालय अटो अन्तर्गतको म्यासेज कम्पनी तथा अटो वर्ल्ड कम्पनीलाई उनीहरुले क्षतिका बाबजुद पनि अगाडि बढाएका छन् ।
भदौ २३ गते १९ जना बालबालिकाको गोली लागेर ज्यान गएपछि भदौ २४ गते पोखरामा पनि बिहानैदेखि युवाहरु सडकमा आएका थिए । जब काठमाडौंमा एकपछि अर्को सरकारी कार्यालयदेखि व्यावसायिक भवनसम्म जलाएर ध्वस्त पार्न थालेपछि पोखराको भिड पनि उग्र बनेको थियो । पोखरा महानगरपालिकाको कार्यालयदेखि आगो सल्किन थालेको थियो ।
पोखरा महानगरको कार्यालयको भवनदेखि थापाको घर, व्यवसाय, मेयर धनराज आचार्यको घर, मेयर आचार्यकोसमेत लगानी रहेको भन्दै इभेन्ट सेन्टर, होटल सरोबर, होटल गुडविलमा तोडफोड र आगजनी भएको थियो ।
गण्डकीका एमाले सांसद देवका पहारीको होटल एडम, पुष्पकमल दाहाल ‘प्रचण्ड’को लगानी रहेको भन्दै वरपिपल रिसोर्टमा आन्दोलनकारीले आगो झोसेर खुसी मनाएका थिए । एमाले सांसद गणेशमान गुरुङको परिवारले चलाएको होटल गुडविल पनि पूरै आगो लगाएर ध्वस्त पारेका थिए ।
पोखराको भाटभटेनीदेखि साना व्यवसायीहरुले ससानो टहरा बनाएर चलाइरहेको पसलसम्म अराजक भिडले जलाएको थियो । पोखरा महानगर हुँदै एकपछि अर्को सरकारी कार्यालयहरुमा आगो लगाउँदै हिँडेको समूहले निजी क्षेत्रलाई पनि आतंकित बनाएको थियो । पोखरामा मात्रै ३ अर्ब रुपैयाँ बराबरको क्षति जेनजी आन्दोलनमा भएको अनुमान थियो ।
३ पुस्ताको सपना जोडिएको सरोबर
पोखरामा भरतराज पहारी परिवारले चलाइरहेको होटल गुडविल अझै खरानीबाट उड्न सकेको छैन । देशमै उद्यम, व्यवसाय गर्ने योजनासहित विदेशबाट फर्किएका भरतराजका छोरा प्रतिकले गुडविलमा भविष्य देखेका थिए भने आतिथ्यतामा नयाँनयाँ अभ्यास गरिरहेका थिए ।
उनको होटल सरोबर पनि सबै जलेर ध्वस्त भएको थियो । जुन होटल पुनर्निर्माणमा मात्र ५५ करोड रुपैयाँ लाग्ने सञ्चालक प्रतीकले सुनाए । नोभेम्बरसम्ममा होटल सञ्चालनमा ल्याउने योजना उनको छ ।
भदौ २४ गते अराजक समूहले सबैभन्दा पहिले होटलको अग्नि नियन्त्रण प्रणालीमा क्षति पुर्याए । त्यसपछि उनीहरूले जे–जति लुट्न सके, लुटे र अन्तत: होटलमा आगो लगाए ।

‘त्यो मेरो जीवनकै सबैभन्दा अँध्यारा दिनहरूमध्ये एक थियो । हामी पूर्ण रूपमा असहाय भएका थियौँ । आफ्नै सम्पत्ति जलिरहेको फोटो र भिडियोहरू हामी हेर्न बाध्य थियौं । तर केही गर्नसक्ने अवस्थामा थिएनौँ,’ प्रतीकले अनलाइनखबरसँग सुनाए, ‘हामी आफ्नै सुरक्षाका विषयमा पनि अत्यन्त चिन्तित थियौँ । त्यो दिन हामीले कस्तो अनुभूति गरेका थियौँ भन्ने कुरा शब्दमा व्यक्त गर्न निकै कठिन छ ।’
नेकपा अध्यक्ष प्रचण्डको लगानी रहेको भन्दै बरपिपल रिसोर्टमा आगो लगाइएको थियो । त्यहीँका कर्मचारीहरूले चलाखीका साथ सबै भवनमा आगो लाग्नबाट बचाएका थिए । गाडीहरू र एउटा घरबाट आगो लगाइएको भए पनि ठूलो क्षति भने हुन पाएन ।
फर्केर हेर्दा धेरै पीडा हुन्छ : बिन्दा
जेनजी आनदोलनमा ध्वस्त भएका दुई होटल एमालेका दुई सांसदससँग जोडिएको थियो । सांसद गणेशमान गुरुङ र देवका पहारीको परिवारले चलाइरहेको होटल तोडफोड र आगजनी भएको थियो ।
गणेशमानको परिवार विन्दा रायमाझीले नेतृत्व गरिरहेको गुडविल सबै आगो लगाएर राति चोरी र तोडफोड भएको थियो । अहिले यो होटल आंशिक रूपमा मात्रै सञ्चालनमा आउन सकेको छ । अहिले पनि पुनर्निर्माणको काम भइरहेको छ ।
‘बितेको समयलाई फर्केर हेर्दा धेरै पीडा हुन्छ । त्यसैले त्यो क्षण फर्केर हेर्न पनि मन लाग्दैन । त्यो समय बितेर गयो । अहिले बल्ल आंशिक रूपमा होटल सञ्चालनमा ल्याउन सकेका छौं,’ सञ्चालक विन्दाले भनिन्, ‘दिउँसो साढे ४ बजेबाट होटलमा आगो लाग्न थालेको थियो । केही घन्टा दनदनी जलिरह्यो ।’
करिब साढे १२ करोड रुपैयाँको क्षति भएको र अहिले पनि पूर्णरुपमा सञ्चालनमा ल्याउन संघर्ष जारी रहेको विन्दाले सुनाइन् । हिमालयन देउराली रिसोर्ट चलाउँदै लेकसाइडमा पनि होटल गुडविल चलाएका उनीहरुले गाउँ र सहरलाई जोडेर काम गरिरहेका थिए ।
अझैसम्म जवाफ पाएको छैन : त्रिपाठी
अर्का सांसद देवका पहारीको परिवारले चलाएको होटल एडम भने सञ्चालनमा आइसकेको छ । आन्दोलनमा यति होटल एडम र एडम टुर, एडम ट्रेक्स, एडम मनी चेन्जर नष्ट भएका थिए ।
‘चिन्तामै डुबेर बस्नुभन्दा पनि यसलाई कसरी छिटो गर्न सकिन्छ भन्ने एउटा पाटो हामीले हेर्यौं भने अर्को पाटो, हाम्रो सिजनको मुखमा थियो त्यो,’ पर्यटन व्यवसायी वासु त्रिपाठीेले भने, ‘सिजनको लागि होटल लगभग सबै कोठा भरिने गरी एडभान्स बुकिङ थियो । त्यो भएको हुनाले हामीले सञ्चारमाध्यममा हाम्रो होटलको क्षतिलाई धेरै प्रचार गरेनौँ ।’
६ महिनाको पीडा, अथक प्रयास, मिहिनेत पछाडि होटल आंशिक रूपमा हामीले खोल्न सक्ने अवस्थामा पुगेको उनले सुनाए । ‘अब त्यो अनुभव कसैलाई पनि सेयर गरी साध्य छैन । त्यो पीडा अहिले अडियोमा, भिडियोमा वा रिटर्नमा कतै पनि व्यक्त गर्न सकिने पीडा होइन,’ त्रिपाठीले भने ।

मेयरको लगानी भन्दै जलाइएको इभेन्ट सेन्टर
एकै पटक २–४ हजार जनालाई सहभागी गराएर कार्यक्रम गर्ने हल नै पोखरामा थिएन । पोखरा सभागृहले मात्र यहाँ हुने कार्यक्रम धान्न सक्ने क्षमता पनि थिएन ।
यस्तो बेलामा खुलेको पोखरा इभेन्ट सेन्टर गतिलो विकल्प बनेको थियो । इभेन्ट सेन्टरमा एकै पटक ५ हजार जनालाई सहभागी गराएर कार्यक्रम गर्न सक्ने क्षमता छ ।
बुलौंदी खोला किनारमा बनेको इभेन्ट सेन्टरमा पोखराका मेयर धनराज आचार्यको पनि लगानी रहेको भन्दै सुरुदेखि नै आलोचना भएको थियो । मेयर आचार्यका भाइ शिवराज लगानी गर्ने समूहका सदस्य थिए ।
परिवारको सदस्य भएकै कारण भदौ २४ गते करोडौं रुपैयाँको लगानी रहेको पोखरा इभेन्ट सेन्टरमा उत्तेजक भिडले तोडफोड र आगजनी गरेको थियो । त्यो बेला पनि इभेन्ट सेन्टरमा कार्यक्रम नै चलिरहेको थियो । पोखरा महानगरमा आगो लागेलगत्तै एउटा समूह मेयर आचार्यको घरमा र अर्को समूह इभेन्ट सेन्टरमा पुगेको थियो ।
तोडफोड र आगजनी भएपछि कार्यक्रमबाट मानिसहरूको भागाभाग भएको थियो । इभेन्ट सेन्टरको इन्जिनियर रामचन्द्र पोखरेल अध्यक्ष छन् । राजेन्द्रकुमार बाटाजू, लक्ष्मण अधिकारी, शिवराज आचार्य र टिलादेवी अर्यालले इभेन्ट सेन्टरमा लगानी गरेका छन् ।
एक वर्ष डर, त्रास, अंश र अपेक्षासहित बितेको अध्यक्ष पोखरेलले बताए । अमुक व्यक्तिको नाम जोड्दै व्यवसायमाथि गरिएको आक्रमणले विक्षिप्त बनाएको पोखरेलको भनाइ छ ।
‘अमुक व्यक्तिको नाम जोड्दै हाम्रो व्यवसायमाथि जुन आक्रमण गरियो । यो निन्दाजनक, पीडादायी र व्यावसायिक वातावरण बिगार्ने काम भयो,’ पोखरेलले भने, ‘यो बीचमा डर, त्रास, भयका साथ लगानी गरेर गल्ती गरिएको भन्ने आत्मसमीक्षा चुनाव पछाडि होला भन्ने अपेक्षाका साथ बित्यो ।’
करिब १५ करोड रुपैयाँ रुपैयाँ पुननिर्माणमा खर्च भएको उनले बताए । जेनजी आन्दोलनमा भएको आक्रमणलाई सामान्यकरण गराउँदै अहिले इभेन्ट सेन्टर सञ्चालनमा आइसकेको छ ।
वास्तविक जेनजी आन्दोलनकारी नभई ‘आर्थिक, राजनीतिक र व्यक्तिगत स्वार्थका लागि सक्रिय आपराधिक गिरोह’ भएको ठहर गर्दै सञ्चालकहरूले निष्पक्ष छानबिन गरी कानुनअनुसार कारबाही गर्न मागसमेत उनीहरूको थियो । तर अहिलेसम्म राज्यले कारबाहीको दायरमा नल्याउनु दु:खद भएको पोखरेलको भनाइ छ ।
वैशाखबाट सञ्चालनमा आयो भाटभटेनी
जेनजी आन्दोलनका क्रममा पोखराका एकपछि अर्को सरकारी कार्यालयमा आगो दन्किरहँदा २४ गते साँझपख पोखराको भाटभटेनी सुपरमार्केटमा पनि आगो झोसियो ।
काठमाडौंसहित देशका विभिन्न ठाउँमा भाटभटेनीका भवनहरू जलेको फोटो, भिडियो सामाजिक सञ्जालमा आएसँगै पोखराको भाटभटेनीमा पनि लुटपाट, तोडफोड र आगजनी भएको थियो । सामान बोकेर ल्याएको गाडीसमेत बाटोमै रोकेर जलाइदिएका थिए भने सुपरमार्केटमा पनि आगो लगाइदिएका थिए ।

ध्वस्त भएको पोखरा–९ न्युरोडस्थित सुपरमार्केट वैशाखबाट सञ्चालनमा आएको छ । सात रोपनी क्षेत्रफलमा फैलिएको चारतले सुविधासम्पन्न आफ्नै भवनमा १३ वर्षअघि स्टोर सञ्चालनमा आएको हो ।
प्रदर्शनकारीले गण्डकीका भौतिक पूर्वाधारमन्त्री प्रकाशबहादुर केसीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अगाडि रहेको घर, एमालेका केन्द्रीय सदस्य तथा युवा इन्चार्ज राजीव पहारीको व्यक्तिगत घरसमेत जलाएका थिए ।
प्रदर्शनकारीले पोखरा सिर्जनाचोकमा जिल्ला समन्वय समितिको स्वमित्वमा रहेको जग्गामा सञ्चालित सस्तो तरकारी तथा फलफूल मण्डीमा पनि आगजनी गरेका थिए ।
जेनजी आन्दोलनले दिएको क्षति र अनुभव जति बाँडे पनि अधुरै हुने व्यवसायी त्रिपाठी बताउँछन् । त्रिपाठी भन्छन्, ‘जनजी आन्दोलनले सत्ता फेर्ने, सत्तामा नयाँलाई पठाउने बाहेक अरू केकेमा परिवर्तन ल्यायो भनेर देखिएन । देश जलाउनेहरूलाई कारबाही पनि भएन ।
प्रतिक्रिया 4