News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवाको भोटेकोशी बाढीले हिमाल, हिमताल, हिमनदी र जलवायु परिवर्तनका जोखिमलाई सतहमा ल्याएको विपद्विज्ञ डा. नारायण गुरुङले बताए ।
- उनले भोटेकोशीको विनाशलाई सेती बाढीसँग मिल्दोजुल्दो भन्दै हिमाली क्षेत्रको चट्टान खस्ने, हिमताल फुट्ने र बस्ती जोखिममा पर्ने चेतावनी दिए ।
- गुरुङले सेती, कालीगण्डकी र भोटेकोशीका नदी किनार र घाँटीमा रहेका बस्ती सार्न, चट्टान हटाउन र चौबीसै घण्टा निगरानी प्रणाली जडान गर्न सुझाव दिए ।
१० भदौमा रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले महाप्रलय निन्त्याएपछि हिमाल, हिमताल, हिमनदीहरूको अवस्था र जलवायु परिवर्तनले निम्त्याइरहेको जोखिमका मुद्दा सतहमा आएको छ । भोटेकोशीमा आएको भयानक बाढीले पोखरालाई पनि विगततर्फ फर्काइदिएको छ ।
पोखराको उत्पत्ति नै महाप्रलयबाट भएको हो । अहिले पनि पोखरा त्यसै महाविपत्तिको जोखिममा रहेको विज्ञहरूले बताइरहेका छन् । करिब १२ सय र ८ सय वर्षअगाडि महाभूकम्पले हिमाल नै भाँचिएर आएको महाविपत्तिले पोखरा उपत्यकाको निर्माण भएको इतिहास छ ।
२०६९ साल वैशाख २३ गते अन्नपूर्ण हिमालको विशाल चट्टान खसेर सेतीको ग्लेसियर रहेको ठाउँमा पर्दा आएको बाढीले ७२ जनाको ज्यान लिएको थियो । त्यो बाढी भोटेकोशीकै जस्तो स्वरूपको थियो । यो बाढीले भोटेकोशीको जस्तो विनाश ननिम्त्याए पनि प्रकृति उस्तै थियो ।
यी बाढीले एकातिर विगतबाट पाठ सिक्न सुझाएको छ भने अर्कोतिर हाम्रा हिमशृंखला र नदी तथा जलवायु परिवर्तनका मुद्दालाई पनि केन्द्रमा ल्याएको बताउँछन्, विपद्विज्ञ डा. नारायण गुरुङ ।
सेती र काली नदी क्षेत्रको विपद्सम्बन्धी विद्यावारिधि गरेका गुरुङ जलवायु परिवर्तन, तीव्र भूक्षय, हिमालहरूको पग्लाइ र नदी किनारमा बढेको अकल्पनीय मानवीय अतिक्रमणले हाम्रा हिमाल, हिमताल र नदीहरूलाई भयावह बनाइरहेको उनी बताउँछन् ।
भोटेकोशीको बाढी र सुक्खा क्षेत्रमा बज्रिएको अकल्पनीय विपत्ति
हालै रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले उत्तरी छिमेकी चीनसँगको प्रमुख व्यापारिक नाकासँगै सडक सञ्जाल र जलविद्युत् पूर्वाधारहरू तहसनहस बनाइदिएको छ । यसअघि पनि भोटेकोशीमा विभिन्न समयमा ठूलो बाढी आएका इतिहास छन्, तर अहिलेको बाढीको प्रकृति र यसले पारेको प्रभाव भिन्न र खतरनाक देखिन्छ ।
‘सायद हाम्रो शताब्दीमा, हाम्रो जेनेरेसनमा हामीले देखेको सबैभन्दा ठूलो बाढी अहिले भोटेकशीमा आएको छ । र, यो ठ्याक्कै सेती बाढीसँग मिल्दोजुल्दो छ । यस अर्थमा कि, यसको उत्पत्ति जहाँबाट भयो, जसरी भयो, त्यो चाहिँ भोटेकोशी बाढी र सेती बाढीको एउटै हो,’ डाक्टर गुरुङ भन्छन् ।
अहिलेको प्रारम्भिक रिपोर्टबाट करिबकरिब १२ सय देखि १५ सय मिटर अग्लो ठाउँबाट चट्टान तल खसेको कुरा आइरहेको गुरुङको भनाइ छ । जसका कारण भोटेकोशीमा आँधी नै आएको गुरुङले बताए ।
‘एकदम अग्लो ठाउँबाट खस्यो, एकैचोटी १२ सय, १५ सय मिटर तल भर्टिकल फल भयो । त्यसपछि त्यहाँ ग्लेसियर हिमनदीमा बज्रियो । ग्लेसियरमा स्वाभाविक रूपमा हिउँको थुप्रो हुन्छ, त्यसलाई सोहोरेर लग्यो,’ गुरुङ भन्छन्, ‘यो असाधारण थियो ।’

भर्खर विश्वविद्यालयमा हिमनदी, हिमतालका विषयमा अध्ययन हुन लागेकोले मानवहरू त्यहाँसम्म पुग्न गाह्रो भइरहेको उनी बनाउँछन् । ‘हिमालमा के भइरहेछ भन्ने जान्न स्याटेलाइट इमेजबाहेक अरू माध्यम हामीसँग छैन । त्यसले गर्दा यो पूर्वानुमान गर्न गाह्रो छ । तर यति कुरा हामीले भन्न सक्छौँ, जान त एकदिन जान्छ,’ गुरुङले भने ।
हाम्रा हिमाल एकदमै जोखिमपूर्ण अवस्थामा रहेको उनाको भनाइ छ । हिन्दुकुश हिमालमा करिबकरिब ३७ वटा हिमतालहरू जोखिमपूर्ण छन् भनेर इसिमोडले प्रतिवेदन नै निकालेको उनले बताए । ‘तीमध्ये २१ भन्दा बढी त नेपालमै पर्छन् । यस्तो जोखिमपूर्ण अवस्था छ,’ उनले भने ।
भोटेकोशीको क्षतिलाई महाप्रलयले नै भन्न सकिने उनले बताए । खोला किनारमा बस्नेहरूलाई पनि एक दिन बाढी आउँछ र लैजान्छ भन्ने डर भएको तर यत्रो आउँछ भन्ने नलागेको उनको भनाइ थियो । ‘एक दिन बाढी आउँछ है, अब ५० वर्षमा आउँछ कि, ५१ वर्षमा आउँछ कि अथवा भोलि नै आउँछ भन्ने चाहिँ थियो,’ उनको भनाइ छ ।
‘हाम्रो इन्जिनियरिङ प्रविधि, हाम्रो विज्ञान हामी चमत्कारी छौँ, खोलालाई जित्न सक्छौँ भन्ने किसिममा भयो । हामीले खोला यति अतिक्रमण गर्दै गयौँ कि, त्यो खोला हिँड्ने ठाउँ पनि नछोडेर बस्ती बसाल्यौँ । त्यसैको परिणाम एकपछि अर्को भोग्दै छौँ, चाहे त्यो भोटेकोशीमा होस्, चाहे भोलि सेतीमा हुनसक्छ,’ उनले भने ।
पृथ्वीको बढ्दो तापक्रमसँगै जलवायु परिवर्तनले बेमौसमी बाढी आइरहेको गुरुङले बताए । २०६९ सालमा पोखरामा आएको बाढी पनि बेमौसमी नै थियो । ‘भारतको उत्तराखण्ड चमोलीमा २०७७ सालमा बाढी गयो । त्यो पनि बेमौसमी थियो । त्यसले २०० भन्दा बढी मान्छे मार्यो,’ उनले भने, ‘यस्ता बाढी आउनुमा जलवायु परिवर्तनको कारण पनि एक हो ।’
हिमालय पर्वतहरू खस्ने, हिमतालहरू फुट्ने, तल्लो तटीय क्षेत्रमा बाढी आउने त हजारौँ वर्षदेखि चलिरहेको प्रक्रिया भएको उनी बताउँछन् । पछिल्लो समय जब मानव बस्ती र मानवलाई यसले असर गर्यो, विपद्मा परिणत भयो । त्यसपछि बल्ल हाम्रो आँखा यसमा परेको उनको तर्क छ ।

हिमाली क्षेत्रको भू–बनोट आफैँमा काँचो र भिरालो छ । पहिला पानी नै नपर्ने वा नगण्य रूपमा पर्ने भनिएका रेन–स्याडो वा ट्रान्स–हिमालयन क्षेत्रहरूमा अहिले जलवायु परिवर्तनका कारण तीव्र र अत्यधिक वर्षा हुन थालेको छ ।
‘हामी धेरै सजिलो भाषामा यसलाई जलवायु परिवर्तन भन्दिन्छौँ । सायद त्यो पनि एउटा कारण होला,’ डा. गुरुङ भन्छन्, ‘तर हिमाली क्षेत्रमा पानी पर्न सुरु गरेको छ । कहिल्यै बाढी नआउने मनाङमा त्यत्रो बाढी आयो । अहिले जोमसोम र कागबेनीतिर बाढी आइरहेको छ ।’
माथिल्लो भेगमा हिमचट्टान फुटेर वा हिमतालहरूमा हलचल भएर आउने लेदोयुक्त बाढीले क्षणभरमै तल्लो तटीय क्षेत्रको बस्ती सोहोरेर लैजान्छ । यस्ता घटनाबाट पाठ सिक्दै अबका दिनमा माथिल्लो तटीय क्षेत्रमा चौबीसै घण्टा निगरानी गर्ने अटोमेटेड पूर्वसूचना प्रणाली जडान गर्नैपर्ने गुरुङको भनाइ छ ।
त्यसका साथै, नदीको बहाव क्षेत्र वा ‘फ्लड प्लेन’ मा पूर्वाधार बनाउने परिपाटीलाई तुरुन्तै रोकेर दीर्घकालीन भू–उपयोग नीतिको कडा कार्यान्वयनतर्फ राज्य ढिलाइ नगरी लाग्नुपर्ने विपद्विज्ञ डा. गुरुङले बताए ।
अन्नपूर्णको खतरा र धेरै निल्न सक्ने सेतीका ‘घाँटी’
पोखरा दृश्यका हिसाबले जति मनमोहक र रोमाञ्चक देखिन्छ, भौगर्भिक सुरक्षाको दृष्टिले उत्तिकै संवेदनशील र डरलाग्दो अवस्थामा छ । सेती नदी खोँचैखोँच भएर बगेको दृश्यले पर्यटकलाई लोभ्याए पनि त्यसभित्र लुकेको खतरा भने कतिखेर विस्फोट हुन्छ भन्ने ठेगान छैन ।
अन्नपूर्ण हिमशृंखलाको अवस्थाबारे डा. गुरुङ भन्छन्, ‘अन्नपूर्ण हिमालको चट्टान खसेर सेती ग्लेसियर रहेको ठाउँमा परेपछि २०६९ मा सेतीमा बाढी आएको थियो । अर्को जोखिम जुनसुकै बेला पनि माथि ग्लेसियर फुटेर, हिमचट्टानहरू फुटेर आउन सक्ने सम्भावना पनि उत्तिकै छ । त्यसैले सेतीलाई नियन्त्रण गर्न गाह्रो छ ।’
पोखरा बजारका लागि सबैभन्दा ठूलो भौगर्भिक चुनौती भनेको सेती नदीको बहावमा रहेका साँघुरा ‘घाँटीहरू’ हुन् । साँघुरो बोटलनेकमा बेलाबेला सेती थुनिइरहेको हुन्छ । यो पोखराका निम्ति धेरै मान्छेहरू निल्ने गरी आउने विपत्ति बन्न सक्ने गुरुङको चेतावनी छ ।
‘सेती नदी बगेर आउने केआई सिङ पुलमा हेर्नुस् त, त्यो घाँटी छ । त्यो पुलकै ढिस्को खसेर थुनियो भने कता बग्छ त्यो खोला ? खोला त भरिन्छ, त्यसपछि बगरतिर बग्ला त्यो खोला । कहीँ न कहीँ त बग्नुपर्यो नि,’ गुरुङ भन्छन्, ‘बाढी नै आउँदा के होला ?’

सेती बग्ने क्रममा नारायणथानमा घाँटी छ, रामघाटमा घाँटी छ, रातोपहिरोमा घाँटी छ र तल ढुंगेसाँघुमा पुग्दा फेरि घाँटी छ । यी सबै स्थानमा नदी किनारका चट्टान तथा ढिस्कोहरू खसेर नदी थुनिन सक्ने सम्भावना रहेको उनको भनाइ छ ।
रातोपहिरोको वर्तमान अवस्था चित्रण गर्दै डा. गुरुङ भन्छन्, ‘रामघाटबाट तल रातोपहिरोसम्म अहिले हो कि भरे हो, ढिस्को खसिहाल्छ भन्ने अवस्था छ । जम्मै चिरा परेर कति त ढल्किएकै अवस्थामा छ । चैतमा केही भाग खस्यो रातोपहिरोमा र अहिले बर्खामा त्यसमाथिबाट पानी आयो ।’
खतरनाक स्थितिबाट पोखरालाई बचाउन डा. गुरुङले केही साहसिक र प्राविधिक निकासहरू पनि औँल्याएका छन् । जहाँ–जहाँ पहिरो वा ढिस्कोले नदीलाई थुनिरहेको छ, त्यहाँ नियन्त्रित रूपमा ‘बम ब्लास्ट’ गरेर भए पनि नदीको बाटो खुला गरिदिनुपर्ने उनको तर्क छ ।
‘जहाँ–जहाँ चट्टानहरू खसेको छ, त्यो ठाउँलाई खोल्दिन सक्छौँ बम ब्लास्ट गरेर । जहाँ अहिले ढिस्कोहरूले सेतीलाई थुनिरहेको छ, त्यसको बहावलाई रोकिरहेको छ, त्यहाँ बम ब्लास्ट गरेर सेतीलाई फराकिलो, खुल्लमखुला हिँड्न सक्ने बनायौं भने सेती थुनिने जोखिम कम हुन्छ,’ उनले भने, ‘खस्ने अवस्थामा रहेका ढिस्कोहरूलाई पनि बम ब्लास्ट गरेर विस्तारै खसाल्न सकिन्छ । त्यसको लागि राज्य नै लाग्नुपर्छ । जति सेतीलाई ओपन बनाइयो, मुखहरू खुला गरियो, त्यति नै भोलि सेती थुनिने डर कम हुन्छ ।’
यसबाहेक, पोखराको लालटिन बजार, शान्ति टोलदेखि तनहुँको गगनगौडा र भीमादसम्मका ८–९ ठाउँमा अव्यवस्थित बस्तीहरू बढ्दै गएका छन् ।
‘जसरी अहिले अव्यवस्थित रूपमा सेतीको किनारमा हजारौँ परिवारहरू बसिरहेका छन् । ती सबैले के बुझ्नुपर्यो भने, हामी एउटा महाविपत्तिको पर्खाइमा छौँ ।’ यो एउटा टाइम बम हो, कतिखेर पड्किन्छ भन्ने मात्रै हो ।’
कालीगण्डकीले जोमसोमदेखि बेनीसम्म जोखिम
केरुङ नाका अवरुद्ध भएपछि चीनसँगको व्यापारका लागि मुस्ताङको कोरोला नाकालाई विकल्पका रूपमा अघि सार्ने बहस चलिरहेको छ । तर कोरोला पुग्ने कालीगण्डकी करिडोर आफैँमा कति सुरक्षित छ ? डा. गुरुङको अध्ययनले कालीगण्डकी नदी र यसको आसपासको भूगोल पनि उत्तिकै जोखिममा रहेको देखाउँछ ।
‘अहिले पनि जोमसोम सहज रूपमा पुग्न सकिँदैन । हरेक बर्खामा कहीँ न कहीँ पहिरो खसेर दु:ख दिएकै छ । यो हाम्रा लागि कालीगण्डकी करिडोर सुरक्षित छैन भन्ने प्रमाण हो,’ डा. गुरुङ भन्छन्, ‘विशेषगरी कालीगण्डकी करिडोरको शीरमा हिमतालहरू पनि छन् । कुनै बेला ती हिमताल फुट्न सक्छन् र धेरै ठूलो बाढी आउन सक्छ ।’
अर्को कुरा, कालीगण्डकी नदी जुन भूगोलबाट बगिरहेको छ, त्यहाँ यति भिरालो जमिन छ कि ठाउँठाउँमा कुनै पनि बेला पहाड फुटेर पहिरो आउन सक्छ । त्यो पहिरोले कालीगण्डकी थुनिन सक्छ ।
नदी थुनिएर तत्कालै फुट्नु र लामो समयपछि फुट्नुमा आकाश–पातालको फरक हुन्छ । यदि महिनाौँसम्म थुनिएर एक्कासि ब्लास्ट भयो भने अकल्पनीय विनाश हुन्छ । करोडौँ क्युबिक मिटर पानी कालीगण्डकीको साँघुरो गल्छीबाट एकैचोटी पोखिँदा तल्लो तटीय क्षेत्रका सम्पूर्ण बस्ती सोहोरिने दाबी उनको छ ।
कालीगण्डकी किनारमा रहेका बस्तीहरूको अवस्था मूल्यांकन गर्दै डा. गुरुङ भन्छन्, ‘बेनी बजारदेखि जोमसोमसम्म दर्जनौँ असुरक्षित बस्तीहरू छन् । हामी ‘फ्लड प्लेन’ भन्छौँ । खोला हिँडेर बनाएको बगरमा, पहिले एकचोटी खोला हिँडिसकेको ठाउँमा हामी बस्ती बसिरहेका छौँ । भनेपछि त्यो अति नै जोखिममा छ,’ उनले थपे, ‘म त भन्छु बेनी बजार आफैँमा एकदम जोखिममा छ । यता, म्याग्दी खोलाबाट पनि जोखिम छ ।’
जोमसोम बजार झण्डै–झण्डै कालीकै सतहमा छ भने कागबेनीमा २०८० साउन २८ मा आएको बाढीले पूर्वसंकेत गरिसकेको छ । डा. गुरुङको अनुसन्धान टोलीले कागबेनी बाढीको विस्तृत अध्ययन गरी अनुसन्धान लेखसमेत प्रकाशित गरेको छ ।
‘हामीले के पायौँ भने, त्यहाँ एक्स्ट्रिम रेनफल (अत्यधिक वर्षा) भएको हो । पहिला पानी नपर्ने क्षेत्र भनिने हिमाली भागमा अहिले पानी पर्न सुरु गरेको छ । मुस्ताङमा पानी पर्न थाल्यो, कागबेनीमा बाढी आयो र त्यसले ठूलो क्षति पुर्यायो,’ गुरुङले भने ।
नागरिकले बुझ्नुपर्यो– टाइम बममाथि छौं
महाविपत्तिबाट उत्पत्ति भएको पोखरा र हाम्रा हिमाली बस्तीहरू फेरि अर्को महाविपत्तिको पर्खाइमा देखिएका छन् । अब पनि चेतेनौँ र बहस मात्रै गरेर बस्यौँ भने भोलि सोच्नै नसकिने क्षति बेहोर्नु पर्नेछ । डा. गुरुङले यो विनाशकारी सम्भावनाबाट बच्न र पाठ सिक्न मार्गचित्र सुझाएका छन् ।
नेपालका हिमाल, हिमनदी र जलवायुको मुद्दालाई गम्भीरताका साथ लिने र आवाज अन्तर्राष्ट्रियस्तरमै पुर्याउनुपर्ने उनको भनाइ छ । सेती र कालीगण्डकीका घाँटीहरूमा खसेका चट्टान र पहिरोका थुप्रा हटाउनु प्राथमिक आवश्यकता हो ।
नदी किनारका ‘फ्लड प्लेन’ र जोखिमयुक्त घाँटीमा बसेका बस्तीहरूलाई तुरुन्तै सुरक्षित स्थानमा सार्नुपर्छ । ‘हामी अहिले १० मिटर वा २० मिटरको मापदण्डमा बहस गर्छौं, त्यो बेकारको कुरा हो । सेतीमा बाढी आयो भने त सयौँ मिटर, उस्तै परे ५–६ सय मिटरसम्म तहसनहस पार्न सक्छ । त्यसकारण त्यस्तो कुरामा व्यक्ति आफैँ पनि सचेत हुनुपर्यो । सरकारले पनि भू–उपयोग नीतिलाई व्यवहारमा लागु गर्नुपर्यो ।’
चाहे त्यो भोटेकोशी होस्, चाहे यो सेती क्याचमेन्ट । चाहे कालीगण्डकी नै किन नहोस् । पुर्खाहरूले खोला छेउमा बस्नु हुँदैन, पहाडको फेदमा बस्नु हुँदैन भनेर किन भनेका रहेछन् भनेर यस्ता घटनाले पनि देखाउने उनले बताए ।
ठूला नदीहरूको शीर धेरै टाढा भएकाले बाढी तल्लो क्षेत्रमा आइपुग्न निश्चित समय लाग्छ । सूचना प्रणालीको विकास गर्नेबारे अब सरकारले गम्भीरताका साथ लिनुपर्ने उनको भनाइ छ ।
‘सबैभन्दा पहिला त नागरिक आफैँले बुझ्नुपर्यो कि, हामी एउटा टाइम बममाथि छौँ । सरकारले पनि हरेक विपद्पछि भू–उपयोग नीति परिमार्जन गर्ने तर व्यवहारमा लागु नगर्ने परिपाटी सच्याउनुपर्छ,’ उनको सुझाव छ ।
हरेक वर्ष बाढीले विनाश गर्दा पनि कसैले नसिकेको उनको भनाइ छ । ‘हरेक बाढीले विनाश गरेको छ, अर्बौंको सम्पत्ति विनाश गरेको छ । कति मान्छे मारेको छ । खोई त चाहिँ पाठ सिकेको ?,’ उनले भने, ‘त्यसकारण विपत् व्यवस्थापन सरकारले मात्रै गर्ने कुरा होइन । विपत् व्यवस्थापनमा सरकार एउटा हो, त्यसपछि समुदाय हो । त्यसपछि हरेक नागरिकको कर्तव्य हो ।’
प्रतिक्रिया 4