+
+

मभित्रको पुरुषवाद

गीता पोखरेल गीता पोखरेल
२०७९ वैशाख ७ गते १३:२५

केही अगाडिको कुरा हो । म पर्यटन व्यवसायमा काम गर्थें । यसै सिलसिलामा पर्यटक लिएर पोखरा पुगेकी थिएँ । अघिल्लो दिन साइट सिन थियो, भोलिपल्ट आराम गर्ने दिन । आराम गर्ने समयमा कोही आफूखुसी बाहिर घुम्न जान्थे भने कोही साँच्चै आराम गर्थे ।

एउटा निकै राम्रो जोडी थियो । उनीहरू ३० वर्षको वैवाहिक उत्सव मनाउन होलिडे बुक गरेर नेपाल आएका थिए । म होटलको लवीमा बसेर पत्रिका पढ्दै थिएँ । उनीहरू लगायत अरू धेरै पर्यटक आ–आफ्नो रुममा थिए, बाहिर पानी परेको थियो ।

एक्कासि महिला तल झरिन् र मलाई कुनामा बोलाइन् । म उनको नजिक गएँ । उनी रुँदै मलाई भन्न थालिन्– ‘मेरो बुढाको मोबाइलमा म्यासेज आएको घण्टी बजेको सुनेर मोबाइल हेरें । बुढा मस्त निद्रामा थिए । एउटी केटीको म्यासेज रहेछ । मैले उनीहरूको च्याट सबै पढें ।

मेरो बुढाले मलाई चिटिङ गरेको रहेछ । उसले बाहिर सम्बन्ध राखेको रहेछ । मैले सहन सकिनँ । ऊ अहिले सुतिराखेको छ । म यो सम्बन्ध अहिल्यै यहीं टुङ्ग्याउन चाहन्छु, तिम्रो सहयोग चाहियो ।’

यति भनिसक्दा उनका आँखाबाट बलिन्द्रधारा आँसु बगिराखेको थियो । मलाई श्रीमान् छोड्नु बुद्धिमानी हो जस्तो लागेन र म उनलाई तत्काल यस्तो फैसला नगर भनेर सम्झाउन थालें । उनी मेरो कुरा सुन्ने पक्षमा थिइनन् ।

मलाई अर्को कोठा मिलाइदिन आग्रह गरिन् । मैले होटलसँग कुरा गरेर अर्को कोठा मिलाइदिएँ । उनी तत्काल कोठामा गएर श्रीमान्‌को लगेज बाहिर निकालिदिइन् र ठूलो–ठूलो स्वरमा ‘धोकेबाज मेरो जीवनमा अब तेरो केही स्थान छैन’ भनेर श्रीमान्‌लाई पनि कोठाबाट बाहिर निकालिदिइन् ।

श्रीमान् आफू निर्दोष भएको भन्न थाल्यो तर श्रीमती आफूले पढेका म्यासेज र फोटाहरू गलत नभएको भनेर अडिग रहिन् । उनी विचलित थिइन् । केही दुर्घटना नहोस् भनेर मैले उनलाई सकभर एक्लै रहन दिइनँ । साँझमा सँगै खाना खान नजिकैको होटल गयौं, अरू दुई जना थप विदेशी महिलाहरू जो सोही समूहमा थिए उनीहरू पनि हामीसँग आउन चाहे । हामी चार जना भयौं ।

एक जनाले कुरा निकालिन्, तिमीहरूको जोडी कति राम्रो छ । कति भयो विवाह भएको अनि बच्चा कति छन् ? उनले जवाफ फर्काइन्– दुई वटा बच्चा छन् । छोरीको बिहे नजिकिंदैछ । हामी १९ वर्ष हुँदा बिहे भएको थियो । आजको दिनभन्दा पहिला मलाई पनि हाम्रो जोडी राम्रो लाग्थ्यो तर आज मलाई धोका दिएको चाल पाएँ ।

मलाई अचम्म लाग्यो यो कुरा त्यहाँ भन्न आवश्यक थिएन । म भए सायद भन्दिनथिएँ होला । तर उनले भनिदिनाले अब म आफ्नो दक्षताले सकेसम्म उनलाई सम्झाउन पाउने बाटो खुलेको थियो । मैले भने नेपालमा यस्तो घटना सामान्य हो ।

बाहिर लागेकै भरमा म भए श्रीमान् छोड्दिनथें । तिमीले अझै छोराछोरीलाई सोध्नुपर्छ । उनले सबैको अगाडि छोरीलाई फोन गरिन् र सबै कुरा सुनाइन् । उनकी छोरी रिसले आगो भएकी थिइन्— तिमीले त्यो बाबुलाई अहिल्यै त्यागिनौ भने मलाई छोरी भन्नू पर्दैन ।

म जे चाहन्थें झन् उल्टो हुँदै थियो । छोराको त्यस्तै जवाफ आयो । म अचम्ममा परें अनि सोधें छोराछोरीको हकमा के हुन्छ अब । मेरो प्रश्न नसकिंदै उनी भन्दै थिइन् छोराछोरीका लागि उनी असल बाबु हुन् । यो घटनाले म र मेरो पतिको सम्बन्ध समाप्त भएको हो छोराछोरी र बाबुको सम्बन्ध होइन ।

समाजले मलाई यस्तो परिस्थिति आएको खण्डमा दोस्रो मौका दिनुहुन्न भनेर सिकाएन । अनि हामीले माफी दिने नाममा आफैंलाई पीडा दिइराख्यौं ।

भोलिपल्ट तिनले श्रीमान्लाई आफ्नो नजरबाट हट्न चेतावनी दिइन् । श्रीमान् आफ्नो देश फर्कियो उनले टुर सकिन् । मलाई यो घटना मुटुभित्र बिझेको थियो । दिनरात यही घटना मानसपटलमा घुम्थ्यो ।

एकदिन त सम्झँदा सम्झँदै स्कुटर रातो बत्तीमा चलाएछु । कारबाहीमा परें । मलाई किन किन परिवार नटुटेको भए हुन्थ्यो जस्तो लागेको थियो । केही विदेशी साथीलाई घटना म्यासेज गरेर उनीहरूको विचार बुझ्ने कोसिस गरें । सबैले महिलाले ठिक गरेको कुरा भने तर म मान्न तयार थिइनँ । पछि ती महिलालाई इमेल गरेर सम्बन्धको बारेमा बुझें, उनले कानुनी रूपमा नै सम्बन्धविच्छेद गरिछन् ।

नेपालमा छिमेकी एउटा परिवार थियो । त्यो परिवारकी एउटी छोरी थिइन् उनको भर्खर बिहे भएको थियो । सुहागरातकै दिन केटाले आफ्नी प्रेमिका भएको र सोही प्रेमिकाबाट छोराको जन्म भएको सुनाएको थियो रे ! प्रेमिका तल्लो जातकी भएकोले विवाह गर्न नसकेको रे ! तर ती बहिनीले सायद यो कुरा सामान्य लिइन् होला, विवाह तोडिनन् ।

लगभग एक वर्ष बितेपछि उनी गर्भवती भइन् । पेटमा बच्चा ६ महिनाको भएपछि घरझगडा हुन थाल्यो । केटाले त्यही प्रेमिका ल्याउँछु भनेर निहुँ खोज्न थालेछ । बहिनीले तिम्रो छोरो मेरो काखमा राखिदेऊ, म मेरो कोखबाट जन्मिएको बच्चा जस्तै माया गरी हाम्रो र तिम्रो बच्चा हुर्काउँछु भनिछन् । तर केटोले मानेन । अन्त्यमा बहिनीले सम्बन्धविच्छेद गरेर पेटको बच्चा एबोर्सन गरिन् ।

म हुर्केको वातावरण, मेरो समाज, पुरुषप्रतिको हाम्रो लगाव मलाई यस्ता घटनामा महिलाले माफी दिएर अगाडि बढ्नुपर्छ भनेर सिकाउँछ । हामीले तत्काल सम्बन्ध तोड्नुपर्छ भनेर जानेनौं । समाजले मलाई यस्तो परिस्थिति आएको खण्डमा दोस्रो मौका दिनुहुन्न भनेर सिकाएन । अनि हामी माफी दिने नाममा आफैंलाई पीडा दिइराख्यौं ।

पीडा मुक्ति हुने साँचो आफ्नै हातमा भएको महसुससमेत गरेनौं । पुरुषका गल्तीलाई नजरअन्दाज गर्दै महिलाले परिवार समेटेर लैजानुपर्छ भनेर हामीले सिक्यौं । माफी दिनु सुन्दर पक्ष हो तर सधैं माफी आवश्यक छैन । म बेलायत आएँ । यहाँ आएको ६ महिनापछि महसुस गरें मभित्रको पुरुषवादले नराम्रो गरी जरा गाडेको रहेछ ।

म अब त्यो सोच कि ‘मलाई’ माफ गर्न नसक्ने गरी पश्चात्ताप गर्दैछु, तर थाहा छैन अझै मैले पूर्णरूपले कहिले पुरुषवादी सोचबाट मुक्ति पाउँछु । मलाई आफ्नै मानसिकतादेखि ग्लानि भएको छ । सायद यो शुभ–सङ्केत हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?