
२३ वैशाख, काठमाडौं । ८ देखि १९ मेसम्म टर्कीको इस्तानबुलमा हुने आईबा विश्व महिला बक्सिङ च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीलाई शुक्रबार राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्यसचिव टंकलाल घिसिङले विदाई गरेका छन् ।
८३ देशका १९३ खेलाडीले प्रतिस्पर्धा गर्ने विश्व च्याम्पियनसिपमा नेपालबाट ४ खेलाडी, दुई प्रशिक्षक र एक व्यवस्थापकको सहभागिता रहनेछ ।
नेपाली टोलीमा ४८ केजीमुनी तौलसमूहमा सुष्मा तामाङ, ५२ केजीमुनी तौलसमूहमा मिनु गुरुङ, ५७ केजीमुनी तौलसमूहमा चन्द्रकला थापा र ६० केजीमुनी तौलसमूहमा पुनम रावलले प्रतिस्पर्धा गर्नेछन् ।
यीमध्ये तामाङ आईबा युथ विश्व च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्दै विश्व वरीयतामा छैठौं स्थानमा छिन् । मिनु १३औं दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेता हुन भने पुनमले अघिल्लो महिना थाइल्याण्ड ओपन इन्टरनेशसनमा कांस्य पदक जितेकी थिइन् ।
बक्सिङका प्रमुख प्रशिक्षक प्रकाश थापामगर र दीपक महर्जनले प्रशिक्षकको भूमिकामा रहनेछन् भने बक्सिङ संघका केन्द्रीय सदस्य योगाचार्य पुस्करराज पन्त व्यवस्थापक छन् ।
्यस प्रतियोगितामा स्वर्ण, रजत र कांस्य विजेता खेलाडीले क्रमसः १ लाख, ५० हजार र २५ हजार अमेरिकी डलर पुरस्कार पाउनेछन् । बक्सिङ संघले आसन्न १९औं एसियाली खेलकुदको तयारीका लागि पनि यो प्रतियोगिता महत्वपूर्ण हुने आशा राखेको छ ।
यही प्रतियोगिताको दौरानमा विश्व बक्सिङ महासंघ (आईबा)को नयाँ नेतृत्वका लागि निर्वाचनसमेत हुँदैछ । त्यसका लागि बक्सिङ संघका अध्यक्ष राम अवाले र केन्द्रीय सदस्य मान बहादुर भण्डारी पनि अर्को हप्ता इस्तानबुल जानेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4