+
+

मतगणनामा प्रत्येक उम्मेदवारलाई प्रतिनिधि राख्न नदिनु शंकास्पद : बालेन

'मतगणना नै शान्तिपूर्ण हुँदैन कि भन्ने शंका उत्पन्न गराइँदैछ'

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३१ गते ०:३२

३१ वैशाख, काठमाडौं ।  काठमाडौंमा महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन)ले मतगणना प्रतिनिधि राख्नेबारे जिल्ला निर्वाचन कार्यालयले गरेको व्यवस्थामा आपत्ति जनाएका छन् । बालेनका अनुसार मतगणना गर्दा पाँच जना स्वतन्त्र उम्मेदवारको एकजना प्रतिनिधि राख्न सकिने जानकारी निर्वाचन अधिकृतले गराएका छन् ।

‘सबै उम्मेदवार बराबर भनेर लोकतान्त्रिक पद्धतिको निर्वाचन भएको छ । उम्मेदवारी दिने समय होस् वा शुल्क वा प्रक्रिया, कतै पनि पार्टीगत उम्मेदवार र स्वतन्त्र उम्मेदवारको भिन्नता सोचिएको छैन,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,’हरेकलाई हरेकसँग प्रतिस्पर्धी मानिएको छ । हरेकले पाउने प्रत्येक मतको मतभार बराबर छ । यस्तोमा दलगत र स्वतन्त्र भनेर गणनामा किन फरक गर्न खोजिदैछ ?’

उनले स्वतन्त्रहरु आफैमा फरक फरक विचार, समूह र उम्मेदवार भएको बताएका छन् । उनीहरु आफै बीचमा प्रतिस्पर्धा हुन्छ । उनले पाँच जना स्वतन्त्र भनेर के आधारमा एकै डालोमा राखिएको भन्ने प्रश्न उठाएका छन् ।

‘कुन कुन विचारधारा वा सम्बन्धले पाँच जना स्वतन्त्र उम्मेदवारले एकजना मात्रै प्रतिनिधि छान्ने हो ? पाँच जनाले एकजना मात्रै प्रतिनिधिको छनौट गर्ने प्रकिया र बिधि के हो ? आयोगले सो किसिमको चुनावका लागि बनाएको कार्यबिधि कहाँ छ ? पक्कै पनि यसको लोकतान्त्रिक जवाफ छैन,’ उनले लेखेका छन् ।

सामान्य प्राबिधिक कुराहरुमा सम्झौता नगर्न लोकतन्त्रसँग र आफ्नो प्रतिनिधि राख्न पाउने उम्मेदवारको अधिकारसँग खेलवाड नगर्न बालेनले सचेत गराएका छन् । ५ जना स्वतन्त्रको एकजना साझा प्रतिनिधि भन्ने कुरा कानुनी, व्यवहारिक र लोकतन्त्रको कसीमा हदैसम्मको अन्यायपूर्ण भएको उनले बताएका छन् ।

‘यो लोकतन्त्रको विरुद्धमा छ । यसले विवादको सिर्जना गरेर मतगणना नै शान्तिपुर्ण हुँदैन कि भन्ने शंका उत्पन्न गराउँछ । यसप्रति निर्वाचन आयोग सजग बनोस् । र, हरेक स्वतन्त्र उम्मेदवारलाई पनि आफ्नो प्रतिनिधि मतगणनामा सामेल गर्न दिओस्,’ उनले लेखेका छन्,’यसमा निर्वाचन आयोगको ध्यानाकर्षण र तत्काल कार्यान्वयनका लागि अपिल गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?