+
+

गठबन्धनबाट कांग्रेसलाई बढी लाभ

तालमेलको मद्दतमा बन्यो स्थानीय तहमा पहिलो दल

लिलु डुम्रे लिलु डुम्रे
२०७९ जेठ ४ गते २१:४०
भक्तपुरको मध्यपुर थिमीको मेयरमा निर्वाचित सुरेन्द्र श्रेष्ठ । यहाा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले गठबन्धन गरेका थिए ।

४ जेठ, काठमाडौं । स्थानीय तहको निर्वाचनमा भएको गठबन्धनबाट सर्वाधिक लाभ नेपाली कांग्रेसले उठाउने भएको छ ।

सत्ताघटकका अन्य दलको साथ लिएर कांग्रेसले प्रमुख प्रतिपक्ष दल एमालेलाई दोस्रोमा धकेलिदिएको छ । माओवादी केन्द्र केही सुधारसहित तेस्रो स्थानमा यथावत् छ । सत्तारुढ दलका सहयात्री माओवादी केन्द्र,जनता समाजवादी,एकीकृत समाजवादी र जनमोर्चाको साथले कांग्रेसले अन्य दललाई धेरै पछि पारेको छ ।

स्थानीय तहका निर्वाचित जनप्रतिनिधि बहुसंख्यक कांग्रेसबाट हुनेमा अब संशय रहेन । कथं, तालमेल नभएको भए कांग्रेसले यसै अनुपातको नतिजा प्राप्त गर्न नसक्नेमा आशंका पनि कायमै छ । सत्ताघटका अन्य दलको सहयोगमा कांग्रेसले स्थानीय तहमा अध्यक्ष र प्रमुख गरी २१० स्थानमा जित निकालिसकेको छ । अग्रता संख्यामा पनि कांग्रेस अरु दल भन्दा अघि नै छ । गणना हुँदै गरेका १०५ पालिकामा कांग्रेसको अग्रता छ ।

गणना सकिएका, जारी रहेका तथा मतगणना बाँकी रहेका पालिकाहरुको आधारमा आकलन गर्दा कांग्रेसबाट निर्वाचित हुनेको संख्या ३२० को हारहारी हुने देखिन्छ । ३२० पालिका विजयी भएकोलाई आधार मान्दा कांग्रेसले प्रमुख/अध्यक्षमा ४२ प्रतिशत स्थानमा जित निकाल्छ ।

सत्ता घटकका दलहरु वीच अघिल्लो चुनावमा आफू विजयी भएका स्थान र दोस्रो भएको भए सोही दलबाट उम्मेदवार बनाउने सहमति जस्तै बनेको थियो । तर,सत्तारुढ दलहरु वीच बहुमत स्थानमा तालमेल हुन सकेन । मूलतः एमालेले जितेका स्थानमा सत्ताघटकबाट प्रतिस्पर्धा गर्ने गरि तालमेल गरिएको थियो ।

औपचारिक रुपमा तालमेल गरिएका स्थानीय तहको संख्या २१६ थिए । कांग्रेसले १४०, माओवादीले ५०, एकीकृत समाजवादीले १९, जनमोर्चाले ४ र जनता समाजवादीले ३ स्थानमा प्रमुख तथा अध्यक्ष उठाउने गरी तालमेलको सहमति बनेको थियो । कांग्रेसले कुनै जिल्लामा एउटा मात्रै पालिकाको नेतृत्वको उम्मेदवार बनाउन तालमेल गरेको थियो भने कतिपय जिल्लाका पाँच पालिकामा नेतृत्वको लागि उम्मेदवार बनाउन पाएको थियो ।

कतिपयमा उम्मेदवारको मनोनयन फिर्ता लिने समय सकिएपछि पनि एकले अर्कालाई सहयोग गर्ने गरी वचनवद्धता गरी उम्मेदवारी निष्क्रिय गराएका थिए । त्यस अनुसार करिब २५० स्थानमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा गठबन्धनका दलहरु वीच तालमेल भएको थियो ।

तालमेलबाट आफूलाई प्राप्त १४० स्थानमा प्रमुख वा अध्यक्षको उम्मेदवार निर्वाचितको बलमा सिट बढाउन कांग्रेस सफल भएको छ । सत्ताघटको तालमेल र एमाले विभाजित भएको प्रत्यक्ष लाभको भरपुर उपयोग कांग्रेसले गरेको छ ।

विभाजित कम्युनिस्टलाई ‘उपयोग’ गरेर २०७४ सालमा प्राप्त २६६ सिटलाई उच्च अंकले वृद्धि गरेको छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा पक्षको जोडबलमा कांग्रेसले तालमेल गरेको थियो । संस्थापन पक्षको जोडबलको प्रतिफल नतिजा मार्फत कांग्रेसले प्राप्त गरेको छ ।

२०७४ सालमा कांग्रेसले पाएको मत, तत्कालिन शक्ति सन्तुलन, अहिले विजयी भएको स्थानमा परेको मतान्तरलगायत आधारमा  विश्लेषण गर्दा विना तालमेल कांग्रेसलाई यो शक्ति प्राप्त हुने थिएन । अघिल्लोपटक कांग्रेस दोस्रो भएका कतिपय स्थानमा तालमेल मार्फत कांग्रेसले झिनो अन्तरले जित निकालेको छ । सत्ता सहयात्री दलको साथ पाउँदा समेत झिनो अन्तरले जित्नुले तालमेल नभएको भए शक्ति बढाउन कांग्रेसलाई कठिन नै मत परिणामले देखाएको छ ।

गठबन्धन हुँदा पनि जित कठिन

ताप्लेजुङको पाथीभरा याङवरक, सिदिङ्वा आठराई त्रिवेणी र सिरिजंघामा कांग्रेसले प्रमुख पद लिएर तालमेल गरेको थियो । आठराई त्रिवेणी,सिरिजंघा र सिदिङ्वामा यसअघि पनि कांग्रेसले नै जितेको स्थान हो । एमालेले जितेको पाथीभरा याङवरकमा यसपटक कांग्रेसले अध्यक्षको उम्मेदवार बनायो ।

एमालेका उम्मेदवारले तत्कालिन समयमा अध्यक्षका उम्मेदवारले २ हजार ५१७ मत पाएर निर्वाचित भएका थिए । २ हजार १८१ मत सहित कांग्रेस उम्मेदवार दोस्रो स्थानमा थिए । यस पालिकामा तत्कालिन समयमा माओवादी केन्द्रबाट उपाध्यक्ष उम्मेदवारले १ हजार ५४७ मत पाएका थिए । तालमेल गरेर पनि यस पालिकामा कांग्रेसले निर्वाचन जित्न सकेन ।

एमालेका केशरकुमार सुब्बाले दुई हजार ८९८ मत विजयी हुँदा कांग्रेसका रामकुमार थेवेले दुई हजार ८७४ मत पाएर पराजय भोगे । माओवादी केन्द्रको शक्तिको साथमा पनि कांग्रेसले जित निकाल्न सकेन । आठराई त्रिवेणी र पाथीभरा याङवरकमा पनि तालमेलको बलले सार्थकता पाएन ।

सिरिजंघा गाउँपालिकामा भने कांग्रेसले कठिन सहित जित निकाल्यो । एमालेका उम्मेदवारसँग कांग्रेसको मतान्तर मात्रै ६८ छ । २०७४ सालमा विजयी कांग्रेस र तेस्रो स्थानको मत ल्याएको माओवादी मिल्दा समेत मात्रै ६८ मतको अन्तर रह्यो । यही यथार्थकै आधारमा पनि भन्न सकिन्छ, कांग्रेसले तालमेलकै बलमा यो तहको नतिजा ल्याउन सकेको हो ।

पाँचथरको पाँच पालिकाको नेतृत्वका लागि कांग्रेसले अन्य दलसँग तालमेल गरेको थियो । अघिल्लोपटक एमालेले जितेको कुम्मायक, हिलिहाङ,याङवरकमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार अध्यक्षका प्रत्यासी थिए । कुम्मायकमा माओवादीको बलमा कांग्रेसका बमप्रसाद लावतीले झिनो अन्तरले जित निकाले ।

लावतीले एमालेका अध्यक्षका उम्मेदवार भीमप्रसाद साम्बाहाङ्फेलाई हराए । सम्बाहाङ्फेले दुई हजार ९०० मत ल्याए । तालमेल गर्दा समेत १५७ अंकले जित निकाल्नुको अर्थ माओवादीको साथ नभएको भए कांग्रेसले जित निकाल्न असम्भव प्रायः थियो ।

पाँचथरकै अर्को स्थान हिलिहाङमा समेत कांग्रेसले कठिन जित निकालेको छ । निर्वाचित कांग्रेसका उम्मेदवारले तालमेलको बलमा समरबहादुर अधिकारीले चार हजार ५६५ मत ल्याए । एमालेका भुवानी प्रसाद लिङ्देनले चार हजार ३५८ ल्याएका छन् । यसपालिकामा कांग्रेसले तालमेल नगरेको भए जित एमालेको पक्षमा जाने सम्भावना बढी थियो । पाँचथरकै अर्को पालिका याङवरकमा तालमेल गर्दा पनि कांग्रेसले जित निकाल्न सकेन ।

इलाममा देउमाई, मासेबुङ र सन्दुकपुरमा कांग्रेसले गठबन्धनबाट पालिकाको नेतृत्वको लागि उम्मेदवार बनाएको थियो । यी तीन पालिकामा अघिल्लो निर्वाचनमा देउमाई र सन्दुकपुरमा अघिल्लो पटक एमालेले जितेको थियो । देउमाई नगरपालिकामा सत्ता गठबन्धनका अन्य दलको साथ पाएपनि कांग्रेसलाई जित निकाल्न धौ धौ देखिएको छ ।

एमालेका उम्मेदवार सूर्यप्रसाद पोखरेलले फराकिलो अन्तरले कांग्रेसका होमप्रसाद दुलाललाई पछि पारेका छन् । तालमेल गरेर पनि कांग्रेसले माङ्सेबुङमा जित निकाल्न सकेन । तालमेलकै कारण कांग्रेसले सन्दकपुरमा भने जित निकाल्यो । तुलाराम गुरुङले एमालेलाई हराए ।

झापामा अर्जुनधारा, कन्काइ, कमल, मेचीनगरमा सत्ता गठबन्धनबाट कांग्रेसले प्रमुख उठाएको थियो । अर्जुनधारा र कन्काई नगरपालिका साथै कमल गाउँपालिकामा अघिल्लोपटक एमाले विजयी भएको स्थान हुन् । तालमेल गरेर पनि कांग्रेस अर्जुनधारा नगरपालिकामा पछि परेको छ ।

कन्काईमा पनि कांग्रेसले जित निकाल्न सकेन । सत्ता गबन्धनका साझा उम्मेदवार कांग्रेसका रुद्रप्रसाद चिमरिया पराजित भए । कमल गाउँपालिकामा भने कांग्रेस जित निकाल्ने तयारीमा छ । एमालेका उम्मेदवार भन्दा कांग्रेसका प्रत्यासी मतमा धेरै अघि बढिसकेका छन् ।

धनकुटामा कांग्रेसबाट निर्वाचितले गठबन्धनकै बलमा नतिजा आफ्नो पक्षमा पारेका छन् । छथर गाउँपालिकामा कांग्रेसका उम्मेदवारले झिनो मतले निर्वाचित भए । पाख्रिवास, महालक्ष्मी, साँगुरीगढीमा पनि विजयी भएको कांग्रेसले थोरै अन्तरले एमालेलाई पराजित गरेको छ । विजयी उम्मेदवारको मतान्तर विश्लेषण गर्दा तालमेल नभएको भए कांग्रेसले पुनः पराजय भोग्ने अवस्था थियो ।

मोरङको विराटनगर, लेटाङ र सुन्दर हरैंचामा नेतृत्वको उम्मेदवार कांग्रेसले लिएको थियो । गठबन्धनको बलमा कांग्रेसका उम्मेदवार नागेश कोइराला विराटनगरमा फराकिलो अन्तरले अघि छन् ।

दोलखाको जिरी नगरपालिकामा गठबन्धनका साझा उम्मेदवार शिवप्रसाद ढकाल जारी मतगणनामा अघि देखिएका छन् । यस पालिकामा गत निर्वाचनमा एमाले विजयी हुँदा माओवादी दोस्रो र कांग्रेस तेस्रो स्थानमा थिए । दोस्रो र तेस्रो शक्ति एक हुँदा जारी मतगणनामा एमाले पछि परेको छ ।

मनाङका चार पालिकाको नेतृत्व कांग्रेसबाट उठेका थिए । गठबन्धनको बल हुँदा पनि कांग्रेसले मनाङका दुई पालिकामा मात्रै जित निकाल्न सक्यो । नार्पाभूमि र नासों गाउँपालिकामा मात्रै कांग्रेसका उम्मेदवार निर्वाचित भए ।

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा गठबन्धनको मेयरका साझा उम्मेदवार कांग्रेसबाट बनेका थिए । तालमेल हुँदा समेत कांग्रेसलाई जित निकाल्न हम्मे हम्मे परेको थियो । करिब चार सय मतान्तरले यहाँ कांग्रेसका उम्मेदवार मिनबहादुर गुरुङ विजयी भएका छन् । नवलपुरको कावासोतीमा कांग्रेसले मेयरको उम्मेदवार उठाउँदा जित निकाल्न सकेन । सत्ता गठबन्धनलाई यहाँ एमालेले पराजित गर्‍यो ।

बुटवल र नेपालगञ्जमा कांग्रेसलाई गठबन्धन फापेको छ । यी दुबै स्थानमा कांग्रेसका उम्मेदवार फराकिलो अन्तरले अघि बढेका छन् । दार्चुलाको दुहुँ र व्यासमा कांग्रेसलाई सत्ताघटकका अरु दलले कांग्रेसलाई सघाएका थिए । तर, कांग्रेस उम्मेदवार पराजित भए । यसअघि व्यासमा एक्लै जितेको कांग्रेसले अहिले अरु दलको बल पाउँदा पनि पराजय भोग्यो । स्याङ्जाको आँधीखोलामा कांग्रेसलाई सत्ताघटकका अरु दलले सघाउँदा पनि पराजित भएको छ ।

पाल्पाको तानसेन नगरपालिकामा तालमेलको बलमा कांग्रेसले जित हासिल गरेको छ । गठबन्धनको बलमा जितेको कांग्रेसको मतान्तर एक हजार भन्दा पनि कम छ ।

नौबहिनी गाउँपालिकामा अध्यक्ष उठाएको कांग्रेसले तालमेलको बलमा पनि जित निकाल्न सकेन । प्युठानै स्वर्गद्वारी  नगरपालिकामा भने कांग्रेसले एमालेलाई फराकिलो अन्तरले पराजित गर्‍यो ।

गुल्मीको कालीगण्डकी, गुल्मीदरवार, छत्रकोट, मुसीकोट, रेसुङ्गा, सत्यवतीमा सत्ता घटकबाट कांग्रेसले प्रमुखको उम्मेदवार बनाएको थियो ।

छत्रकोट, मुसिकोट र सत्यवतीमा कांग्रेसका उम्मेदवारले पराजय भोगे । कालिगण्डकीमा कांग्रेस उम्मेदवारको मतान्तर एमालेसँग १३३ मात्रै छ ।

अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा विजयी कांग्रेस उम्मेदवारले मात्रै १८३ मतले एमालेलाई हराएका छन् । सोही जिल्लाको पाणिनीमा कांग्रेसले गठबन्धनबाट जित निकाल्न सकेन । अर्घाखाँचीकै शीतगंगा नगरपालिकामा कांग्रेस झिनो मतले अघि छ । वागलुङमा काठेखोला,गल्कोट,निसिखोला,बागलुङ नगरपालिका,बडिगाडमा भने कांग्रेसले सत्तारुढ दलको सहयोगमा सहज जित निकालेको छ ।

चितवनको इच्छाकामना गाउँपालिकामा कांग्रेसले तालमेल गरेर उम्मेदवार बनाएपनि जित निकाल्न सकेन । पर्वतको फलेवासमा गठबन्धनबाट कांग्रेसका साझा उम्मेदवार झिनो अंकले अग्रता लिइरहेका छन् ।

सुदूरपश्चिमको बाजुरामा दुई पालिकामा तालमेल गरी उम्मेदवार बनाएको कांग्रेस दुवै स्थानमा पराजित भयो । जगन्नाथ गाउँपालिका र बुढीनन्दा नगरपालिकामा कांग्रेस उम्मेदवारले जित निकाल्न सकेनन् ।

अछाम र बझाङमा तालमेलबाट विजयी कांग्रेसका उम्मेदवारले ठूलो मतान्तर कायम गर्न सकेनन् । बाजुराको जगन्नाथ गाउँपालिकामा तालमेल मार्फत कांग्रेसको उम्मेदवार बनेका कालीबहादुर शाहीले पराजय भोगे । बझाङको साइपालमा तालमेल भएपनि कांग्रेस हार्‍यो ।

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?