+
+

बागलुङमा प्रमुख र उपप्रमुखमा २ महिला मात्र निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ५ गते १४:१०
हिरा कुमारी छन्त्याल र गण्डकी थापा ।

५ जेठ, बागलुङ । १० वटा स्थानीय तह रहेको बागलुङमा प्रमुख र उपप्रमुख पदमा जम्मा २ जना मात्र महिला निर्वाचित भएका छन् ।

बडिगाड गाउँपालिकामा निर्वाचित गण्डकी थापा जिल्लाकै एकमात्र महिला पालिका प्रमुख हुन् । त्यसैगरी तमानखोला गाउँपालिका उपाध्यक्षमा निर्वाचित हिरा कुमारी छन्त्याल एकमात्र पालिका उपप्रमुख हुन् ।

४ सय ४५ जना जनप्रतिनिधिको लागि भएको स्थानीय तह निर्वाचनमा अनिवार्य गरिएका बाहेकका चुनिने महिला भने १० जना मात्र छन् ।

ताराखोला गाउँपालिकामा २, ढोरपाटन नगरपालिकामा १, बडिगाड गाउँपालिकामा ३, गलकोट नगरपालिकामा १ र जैमिनी नगरपालिकामा १ गरि ८ जना महिला खुल्ला सदस्यमा निर्वाचित भएका छन् ।

१० स्थानीय तहका ८५ वटा वडा रहेको बागलुङमा यो पटक एक जना पनि महिला वडा अध्यक्ष चुनिएनन् ।

२०७४ मा ६ महिला उपप्रमुख र २ जना महिला वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

नगरप्रमुख वा उपप्रमुख, अध्यक्ष वा उपाध्यक्ष र जिल्ला समन्वय समिति प्रमुख वा उपप्रमुखमा ५० प्रतिशत महिला  सहभागिता गराउने स्थानीय तह निर्वाचन ऐन २०७३ को मर्म भए पनि दलहरुले तालमेलका नाममा महिलालाई प्रमुख पदमा स्थान नदिँदा यो पटक २ महिला मात्र निर्वाचित भएका हुन् ।

एउटा दलले प्रमुख वा उपप्रमुख मध्ये एकमात्र पदमा उम्मेदवारी दिँदा महिला उम्मेदवार अनिवार्य गर्नुपर्ने व्यवस्था नभएकै कारण बागलुङमा महिला नेतृत्व घटेको हो ।

सत्तारुढ पाँच दलीय गठबन्धनले स्थानीय तहमा भागवण्डा गर्दा पालिका प्रमुख र उपप्रमुखमा पुरुष उम्मेदवार उठाए । वडा अध्यक्ष र खुल्ला सदस्यमा महिला उम्मेदवार नै उठाएनन् ।

नेकपा एमालेले जिल्लाका ९ स्थानीय तहको उपप्रमुख र एक वडाध्यक्षमा महिला उम्मेदवार उठायो । एमालेका सबै महिला उम्मेदवार सत्तारुढ पाँच दलीय गठबन्धनका उम्मेदवारसँग पराजित भए ।

भागवण्डा गर्दा आफ्नो भागमा परेका पालिकामा मध्ये बडिगाड गाउँपालिकाको प्रमुखमा नेपाली कांग्रेसले मात्र महिला उम्मेदवार उठायो । तमानखोलामा निर्वाचित उपाध्यक्ष हिरा कुमारी छन्त्याल पनि कांग्रेसकै उम्मेदवार हुन् । यसबाहेक कांग्रेसले काठेखोला गाउँपालिका–२ को अध्यक्षमा महिला उम्मेदवार उठाएको थियो । उनि नेकपा एमालेका उम्मेदवारसँग पराजित भइन् ।

गठबन्धनमा सहभागी भएका नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले एक जना पनि महिला उम्मेवार उठाएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?