+
+

नेपालगञ्जमा राजा वीरेन्द्रको सालिक राख्न खोज्दा तनाव

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १९ गते १०:५३

१९ वैशाख, बाँके । बाँकेको नेपालगञ्जस्थित धम्बोजी चोक (वीरेन्द्र चोक) तनावग्रस्त भएको छ । स्वर्गीय राजा वीरेन्द्रको सालिक राख्ने प्रयासमा प्रहरी प्रशासनले हस्तक्षेप गरेपछि तनाव भएको हो । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रुग्याँस प्रहारसमेत गरेको छ ।

२०६२/६३ को जनआन्दोलनमा धम्बोजी चोकस्थित वीरेन्द्रको सालिक तोडफोड भएको थियो । त्यसपछि वीरेन्द्रको सालिक हटाएर त्यहाँ राष्ट्रिय झण्डा राखिएको थियो । सो स्थानमा आज दरबार हत्याकाण्डको दिनको सन्दर्भ पारेर केही स्वतन्त्र अभियन्ता, राष्ट्रवादी युवा समूह र राप्रपाका नेता कार्यकर्ताहरु वीरेन्द्रको सालिक पुनःस्थापना गर्न भेला भएका थिए ।

उनीहरुले राष्ट्रिय झण्डा हटाएर वीरेन्द्रको सालिक राखेका थिए । तर सालिक ‘फिक्स्ड’ गर्न नपाउँदै प्रहरीले हस्तक्षेप गरेको थियो । अहिले वीरेन्द्रको सालिक त्यहाँबाट प्रहरीले हटाइसकेको छ ।

सोही क्रममा धम्बोजी चोक नजिकै रहेको सेतु विक चोकमा राखिएको सेतु विकको सालिक पनि तोडफोड भएको छ ।

सेतु विक चोकलाई दोस्रो जनआन्दोलन भन्दा अगाडिसम्म ज्ञानेन्द्र चोक भनिन्थ्यो । पछि जनआन्दोलनमा शहीद भएकी सेतु विकको नामबाट त्यसलाई सेतु विक चोक भनियो र सो स्थानमा उनकै सालिक राखियो ।

धम्बोजी चोक र सेतु विक चोकको तनावको क्रममा प्रहरी र राजावादी समूहबीच ढुंगा हानाहान भएको थियो । दुई पक्षबीच झडप हुँदा केही युवा घाइतेसमेत भएको राप्रपाका सहायक महामन्त्री ऋषिराज देवकोटाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?