+
+

‘नेपाल विश्वविद्यालय : पाठ्यक्रम र पढाउने शैली फरक’

हाम्रा जति पनि विश्वविद्यालय छन् उनीहरूले विभिन्न क्षेत्रमा जनशक्ति उत्पादन गरिरहेका छन् । तर, मुलुकलाई त्यतिले मात्रै पुग्दैन । अब आलोचनात्मक रूपमा सोच्न सक्ने जनशक्ति उत्पादन हुनुपर्छ । त्यो काम हामी गर्छौं ।

डा.अमिना सिंह डा.अमिना सिंह
२०७९ जेठ २३ गते ९:५५

विश्वविद्यालयको अभावले अथवा भएका विश्वविद्यालय पर्याप्त भएनन् भनेर नेपाल विश्वविद्यालयको परिकल्पना भएको होइन । अथवा भएका विश्वविद्यालयले शिक्षित जनशक्ति उत्पादन गर्न सकेनन् भनेर पनि होइन । अहिले भएका हाम्रा विश्वविद्यालयबाट शिक्षित उत्पादन भइरहेका छन् । अहिलेसम्मका हाम्रा जति पनि विश्वविद्यालय छन् उनीहरूले राम्रो काम गरेका/गरिरहेका छन् । विभिन्न क्षेत्रमा जनशक्ति उत्पादन गरिरहेका छन् ।

तर, त्यसले अहिलेको शैक्षिक प्रणालीमा कस्तो जनशक्ति आवश्यकता छ र त्यो पूरा भइरहेको छ/छैन भन्ने हो । शिक्षित जनशक्तिको पनि आवश्यकता छ तर, मुलुकलाई त्यतिले मात्रै पुग्दैन । आलोचनात्मक रूपमा सोच्न सक्ने जनशक्ति उत्पादन हुनुपर्छ । त्यो हामीले गर्नुपर्छ भन्ने हो । जनशक्तिको खाँचो पूरा गर्ने भन्दा पनि नयाँ खालको नयाँ दक्षता भएको जनशक्ति उत्पादन गर्ने भन्ने मुख्य कुरा हो । हाम्रो विश्वविद्यालयले त्यो सबै पूरा गर्छ भन्ने पनि होइन, हामीले पनि भएकोहरूमा थप गर्ने मात्रै हो ।

अहिले उत्पादन भइरहेका स्नातकोत्तर पढेका विद्यार्थीले एउटा लेख पढेर आलोचनात्मक विश्लेषण गर्न सक्दैनन् । शिक्षाले बुझ्न, पढ्न मात्रै नभएर आलोचनात्मक चेतसहितको जनशक्ति उत्पादन हुनुपर्छ भन्ने मान्यता राख्छ । यसै कारण हामीले नेपाल विश्वविद्यालयको आवश्यकता महसुस गरेका हौं । मैले नै कति वर्षदेखि पढाउँदै आइरहेकी छु । त्यो तहको विद्यार्थी उत्पादन गर्न सकिरहेका छैनौं । परम्परागत शैलीमा किताबी ज्ञान बाहेक हामीले विद्यार्थीलाई दिनुपर्ने अरू पनि धेरै कुरा छन् ।

विश्वविद्यालयले समाजमा उत्पादनमूलक नागरिकको रूपमा चाहिने आधारभूत क्षमता दिनुपर्नेछ । जसको लागि पाठ्यक्रम र पढाउने शैली पनि फरक हुनुपर्छ । उच्च शिक्षामा पढाउने तौरतरिका अर्थात् पठनपाठनको तरिका परिमार्जन हुनुपर्छ, त्यसको लागि पाठ्यक्रम नै छुट्टै खालको हुनुपर्छ । हामी त्यसैगरी काम गरिरहेका छौं ।

त्यति मात्रै नभएर त्यसको लागि शैक्षिक संस्थाको संरचना पनि फरक खालको हुनुपर्छ भन्ने हाम्रो मान्यता छ । मेरो तर्क चाहिं दुइटा पक्षमा छ । एउटा पढ्ने तरिका फरक हुनुपर्‍यो, त्यसको लागि संरचना हुन्छ, वातावरण हुन्छ, आवश्यक भौतिक पूर्वाधार हुनुपर्छ ।

यसरी हामी जगैदेखि नयाँ कुरा किन नबनाउने भनेर पटक-पटक छलफल, बहस गरेर निर्माणमा जुटेका छौं । हामीले परिकल्पना गरेको विश्वविद्यालय अरू भन्दा फरक के कारणले पनि हुन्छ भने त्यहाँ कुनै पनि खालको राजनीतिक हस्तक्षेप हुँदैन । अर्थात् यो राजनीतिक हस्तक्षेपमुक्त विश्वविद्यालय हुन्छ ।

पहिला हाम्रो पालामा पढ्ने भनेको डाक्टर, इन्जिनियर जस्ता सीमित विकल्प थिए । तर, अहिलेका युवा पुस्ताले अरू विकल्प खोजिरहेका छन् । उनीहरूका ‘एक्स्पोजर’ पनि धेरै छन् । त्यसैले उनीहरूको रुचिमा विविधता छ । त्यही फरक रुचि भएका विद्यार्थीलाई समेट्ने प्रयास रहन्छ ।

त्यसको लागि सेमिनार, गोष्ठी गर्नुपर्ला । विद्यार्थी मात्रै नभएर अभिभावकलाई पनि सूचित गर्नुपर्ने हुन्छ । चारैतिरका विद्यार्थी आउने अथवा समेट्ने हाम्रो प्रयास रहन्छ । हामीले सुरु गर्न लागेको विश्वविद्यालय बहुविधागत नै हुनेछ । त्यसको लागि कुन कुन विधाहरू समेट्ने भनेर अनुसन्धान गरिरहेका छौं । एकैचोटि धेरैवटा विधा दिन नसकेर प्राथमिकताको आधार के हो भन्नका लागि पनि अध्ययन सुरु गरेका छौं ।

अध्ययनको निष्कर्षले के भन्छ त्यही आधारमा प्राथमिकता दिएर हामी काम गर्छौं । हामीलाई कुन क्षेत्रमा जनशक्ति चाहिन्छ अथवा आवश्यकता छ भनेर पेशागत आवश्यकतालाई भन्दा पनि दक्षताका कुरा जोडेर हेर्छौं । आलोचनात्मक चेतसहितको जनशक्तिको आवश्यकता अनुसार प्राथमिकता दिन्छौं ।

समाजमा रचनात्मक परिवर्तन ल्याउन जागरुक नागरिक हुनुपर्छ । त्यस्तो जनशक्ति उत्पादन शिक्षाले गर्छ । र, त्यस्तो शिक्षा दिने पाठ्यक्रम बनाउनुपर्छ भनेर हामी नेपाल विश्वविद्यालय टिम पाठ्यक्रम निर्माण गर्न जुटिरहेका छौं । हामीले जिम्मेवारी छुट्याएर त्यही अनुसार काम गरिरहेका छौं ।

(नेपाल विश्वविद्यालय विकास समितिकी सदस्य डा. सिंहसँग अनलाइनखबरकर्मी नुनुता राईले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?