+

सुनिल नरायनको अलराउण्ड प्रदर्शनमा कोलकाताले दिल्लीलाई हरायो

२०८२ वैशाख  १६ गते २३:५० २०८२ वैशाख १६ गते २३:५०
सुनिल नरायनको अलराउण्ड प्रदर्शनमा कोलकाताले दिल्लीलाई हरायो

१६ वैशाख, काठमाडौं । सुनिल नरायनले ब्याटिङ, बलिङ र फिल्डिङ तीनवटै क्षेत्रमा शानदार प्रदर्शन गरेपछि कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा चौथो जित निकालेको छ ।

कोलकाताले दिल्लीलाई १४ रनले हराएको हो । कोलकाताले दिएको २०५ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १९० रन बनायो ।

फाफ डुप्लेसीले सर्वाधिक ६२ तथा कप्तान अक्षर पटेलले ४३ रन बनाएपनि पर्याप्त हुन सकेन । ६० रनमा ३ विकेट गुमेपछि फाफ र अक्षरले ७६ रनको साझेदारी गरे ।

१४औं ओभरको दोस्रो बलमा अक्षर र अन्तिम बलमा ट्रिस्टन स्टब्स तथा १६औं ओभरमा फाफलाई नरायनले आउट गरेपछि कोलकाता खेलमा फर्किएको थियो ।

सुनिल नरायनले ४ ओभरमा २९ रन दिएर ३ विकेट लिए । उनले एक डाइरेक्ट हिटमार्फत केएल राहुललाई पनि आउट गराए भने एक क्याच पनि लिए ।

अन्त्यतिर विपराज निगमले १९ बलमा ३८ रन बनाउँदै झिनो आशा जगाएका थिए । कोलकाताका वरुण चक्रवर्तीले २ तथा अनुकुल रोय, आन्द्रे रसेल र वैभव अरोराले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ९ विकेट गुमाएर २०४ रन बनाएको थियो । अंगकृश रघुवंशीले सर्वाधिक ४४ तथा रिंकु सिंहले ३६ रन बनाए । सुनिल नरायनले २७ तथा रहमनुल्लाह गुरबाज र अजिन्क्या रहानेले समान २६ रन बनाए ।

दिल्लीका लागि मिचेल स्टार्कले ३ विकेट लिँदा विपराज निगम र अक्षर पटेलले २-२ तथा दुस्मान्था चमीराले १ विकेट लिए ।

यस जितपछि सातौं स्थानको कोलकाताको १० खेलमा ९ अंक भएको छ भने चौथो स्थानको दिल्लीको १० खेलमा १२ अंक छ ।

सुरुवाती ४ खेलमा लगातार जित निकालेको दिल्लीले त्यसयता ६ खेलमा २ खेल मात्र जितेको छ ।

आईपीएल क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय