+
+

महिलालाई उद्यमी बनाउँदै वुमन्स क्रियसन

दिव्या अग्रवालसँग क्यालिग्राफी (सुलेखन) अर्थात राम्रो र विभिन्न तरिकाले अक्षर लेख्न सक्ने कला छ । उनी अलनलाइन कक्षा सञ्चालन गरेर महिला र बालबालिकालाई सिकाउने पनि गर्छिन् । साथै हातैले महत्वपूर्ण भनाइहरु लेखेर फ्रेमिङ गरेर बिक्री गर्छिन् । कोठा सजाउन मन पराउनेहरुले उनका उत्पादन किन्छन् । कतिपयले उपहार दिने भनेर लगेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १९ गते १३:५४

१९ असार, वीरगञ्ज। मारवाडी समुदायका महिलाहरुको समूह ‘वुमन्स क्रियसन्स’ले शनिबार वीरगञ्जको जैन भवनमा ‘साउन धमाका’ नामको मेला आयोजना गर्‍यो । मेलामा, कपडा तथा श्रृङ्गारका सामान, राखी, खानाका परिकार, रमाइला खेलहरू लगायतका ४३ स्टल थिए ।

मेलामा अधिकांश महिलाले आयातीत सामानको बिक्री गरे पनि केहीले आफ्नै उत्पादन बेच्न राखेका थिए । वीरगञ्ज स्थित कैदीबन्दी सुधार गृहका कैदीबन्दीले बनाएको मुढा, ऊनको लाइटर खोल, चाबीको रिङ, पर्स, टोपी, कपासको बत्ती, बाँस र नाइलनले बनेको डाइनिङ सेट समेत प्रदर्शनीमा राखिएको थियो ।

वीरगञ्जकी सलोनी अग्रवालले उत्पादन गरेको अर्गानिक साबुन र मैनबत्ती बेच्न राखिन् । बाख्राको दूध, घिउकुमारी लगायतका वस्तु मिलाएर उनी घरमै साबुन र बास्नादार मैनवत्ती बनाउँछिन् । मेलामा आफ्नो उत्पादन बिक्री भएकामा उनी खुशी छन् । अब सामाजिक सञ्जाल प्रयोग गरेर व्यवसाय विस्तार गर्ने सोचमा छिन् उनी ।

दिव्या अग्रवालसँग क्यालिग्राफी (सुलेखन) अर्थात राम्रो र विभिन्न तरिकाले अक्षर लेख्न सक्ने कला छ । उनी अलनलाइन कक्षा सञ्चालन गरेर महिला र बालबालिकालाई सिकाउने पनि गर्छिन् । साथै हातैले महत्वपूर्ण भनाइहरु लेखेर फ्रेमिङ गरेर बिक्री गर्छिन् । कोठा सजाउन मन पराउनेहरुले उनका उत्पादन किन्छन् । कतिपयले उपहार दिने भनेर लगेका छन् ।

‘म प्रडक्ट बनाउनेमा भन्दा पढाउनेतिर बढी केन्द्रित छु, सिक्न चाहनेलाई सिकाउन सक्छु’ उनले भनिन्, ‘हातले लेख्दा मेसिनले लेखाउँदा भन्दा सस्तो पर्छ । प्रिन्टेड भन्दा हस्तलिखितको महत्व नै बेग्लै हुन्छ ।’

वीरगञ्ज –७ रामटोलकी श्रद्धा कादमियाले आफ्नै हातले लड्डु गोपालको सजावटका सामानहरु तयार गर्ने गरेकी छन् । साथी र परिवारका सदस्यले हौसला दिएपछि सीपलाई व्यवसायिक रुप दिएको उनले बताइन् । ‘टाइमपास गर्न सजावटको सामान बनाउन थालेकी थिएँ, माग धेरै आउन थालेपछि व्यवसायिक रुप दिएँ’ उनले भनिन् ।

वुमन्स क्रियसन्स २००२ मा मारवाडी समुदायका महिलाले स्थापना गरेको संस्था हो । कोभिड–१९ महामारीको दुई वर्षबाहेक हरेक वर्ष यो संस्थाले मेला सञ्चालन गर्दै आएको छ ।

वुमन्स क्रियसन्सकी अध्यक्ष हेमा अग्रवाल महिलालाई सशक्तिकरण गर्ने उद्देश्यले कार्यक्रम गर्ने गरिएको बताउँछिन् । ‘मारवाडी महिलालाई पनि घरबाहिर ल्याउनुपर्छ, काममा लगाउनुपर्छ भनेर ४ जना महिलाले सुरु गरेको अभियानमा ४० जना महिला सदस्य नै बनिसकेका छन्’ उनले भनिन् । विस्तारै अन्य समुदायका महिलालाई जोड्दै जाने उनले बताइन् ।

संस्थामा हाल मारवाडी, पञ्जाबी, बैंगाली, मुस्लिम र पहाडी समुदायका महिला पनि जोडिएका छन् । मारवाडी समुदायलाई आर्थिक रुपमा सम्पन्न मानिन्छ । तर अझैपनि कतिपयले घरबाट महिलालाई बाहिर निस्कन दिँदैनन् । अन्य समुदायमा पनि महिलालाई घरकै चुला चौकामा सीमित राख्ने परम्परा छ ।

वुमन क्रियसन्सकी पूर्व अध्यक्ष नुतन सरावगी कतिपय महिलाले उत्पादन गरेको सामग्री प्रयोगशाला परीक्षण र ब्राण्डिङ गर्न नसक्दा बिक्री गर्न कठिन भएको बताउँछिन् । ‘खानेकुरा, शरीरमा प्रयोग गर्ने कुरा परीक्षण नगरी बजारमा पठाउनुहुँदैन’ उनले भनिन् ‘एउटा दुईवटा महिलाले घरमा बनाएको सामानलाई त्यसरी परीक्षण र ब्रान्डिङ गर्न समस्या छ ।’

महानगरपालिका वा उद्योग वाणिज्य संघ जस्ता निकायले ‘मेड इन वीरगञ्ज’ अभियान ल्याएर महिला सशक्तिकरणका कार्यमा सहयोग गरिदिनुपर्ने उनको भनाइ छ ।

शनिबार मेला अवलोकन गर्न आएका वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहले ‘महिला ग्राम उद्योग’ बनाएर वीरगञ्जमा घरमा त्यसै बसिरहेका महिलालाई सशक्त बनाउने सोच लिएको बताए ।

‘घरमा खाली बस्नु भन्दा केही काम गरेर बसेको राम्रो हो । काम गरेपछि आय आर्जन पनि हुन्छ’ उनले भने ‘एक्लै एक्लै गर्नुभन्दा सामूहिक रुपमा गर्छन् भने महानगरले सहयोग गर्न सक्छ । तर काम देखिनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?