+
+
दिलै खोलेर :

‘समाचार सुन्दाखेरि दिक्क लाग्छ’

मान्छेको जीवनमा सुधार आओस्, यसमा सुधार भएछ भन्ने देख्न पाइयोस्, विदेश जाँदा कसैले नेपाल सुन्दर र शान्त छ भनेर टिप्पणी गरुन् भन्ने लाग्छ । तर, त्यस्तो भएको छैन ।

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १५ गते २०:१३

कवि तथा गीतकार रमेश क्षितिज पेशाले निजामती कर्मचारी हुन् । उनका पर्वत पर्वतमा बटुवा घाम, घर फर्किरहेको मानिस लगायत कविता संग्रह प्रकाशित छ । उनीसँग गरेको कुराकानी :

१. हिजोआज के गर्दै हुनुहुन्छ  ?

म अहिलेचाहिँ कर्नालीतिर घुमिरहेको छु । भर्खरै रारा, जुम्ला गएर आएँ । रमाइलो लाग्यो । लेखकका रुपमा सोच्दा लेख्नका लागि हामीसँग धेरै मौलिक र सुन्दर कुरा छन् । जति लेख्नुपर्थ्यो, त्यति लेखिएको छैन ।

हाम्रो धेरै कथा भएको जनजीवन हो । लेख्ने विषयवस्तु अनगिन्ती छन् । ती पर्याप्त रुपमा बाहिर आएका छैनन् । लेखकका रुपमा कर्नाली घुम्दाखेरि त्यसमाथि प्रशस्त चिन्तन गर्ने अवसर पाएँ । यसका साथै अहिले कथा संग्रहका लागि नयाँ कथाहरु लेखिरहेको छु ।

२. हिजोआजको कुन समाचारले वा घटनाले खुशी हुनुभयो ?

नेपाली खेलाडी दीपेन्द्रसिंह ऐरीले ६ बलमा ६ छक्का हानेको समाचारले । म क्रिकेट हेर्ने मान्छे होइन । तर, उनले ६ छक्का हानेको बारे एकजना भारतीय कमेन्टेटरले यति सुन्दर तरिकाले बयान गरेको भिडियो हेरें, उनले युवराज सिंह र अरु खेलाडीसँग तुलना गरेर गजब प्रशंसा गरेको देखेर निकै खुशी लागेको थियो ।

३. अहिले के कुराले दिक्क बनाइरहेको छ ?

वास्तवमा समाचारहरु सुन्दाखेरि दिक्क लाग्छ । मान्छेको जीवनमा सुधार आओस्, यसमा सुधार भएछ भन्ने देख्न पाइयोस्, विदेश जाँदा कसैले नेपाल सुन्दर र शान्त छ भनेर टिप्पणी गरुन् भन्ने लाग्छ । तर, त्यस्तो भएको छैन । खासगरी समाचार र सामाजिक सञ्जालमा नेगेटिभ कुरा धेरै फैलिएको, र धेरै मान्छे त्यसमै इन्गेज भएको देख्दा दिक्क लाग्छ ।

४. नयाँ योजना के छन् ?

मुख्य त कथा संग्रह निकाल्ने नै छ । कवितामा मैले लामो समय खर्च गरें । २०४३ सालदेखि मेरो कविताहरु प्रकाशित हुन थालेका हुन् । निरन्तर म कवितामा मात्रै लागिरहें । तीनवटा कविता संग्रह प्रकाशित गरें । गीत संग्रह प्रकाशन र रेकर्ड गरें । अब कथा संग्रह आउँदैछ । कथा संग्रह सँगसँगै उपन्यासको पनि तयारी छ ।

५. आजका मितिमा तपाईंको जीवनमा सबैभन्दा महत्वपूर्ण कुरा के हो ?

आफ्नो परिवार, समाज, मलाई प्रेम गर्ने मान्छेहरु र मेरो लेखकको जीवन । जीवन त सबैको महत्वपूर्ण नै हो । मलाईचाहिँ लेखकका रुपमा सृजनात्मक जीवन महत्वपूर्ण छ ।

६. अचेल तपाईंलाई रोचक लागेको विषय के छ ? के कुरातर्फ रुचि बढिरहेको छ ? कुन कुराको पढाइ वा कुनै व्यक्तिको काम ?

हुन त यो पहिल्यैदेखि हो, एक्कासी भएको कुरा होइन, मलाई आध्यात्मिक यात्रातिर रुचि जागिरहेको छ । पहिले कविता र उपन्यास बढी पढ्थें । अहिले अध्यात्म र दर्शनमा रुचि बढिरहेको छ ।

अर्कोचाहिँ मेरो आफ्नो व्यस्तताले गर्दा कतिपय अवस्थामा आफ्नो रुचिको कुरालाई दबाएर हिँड्नुपर्‍यो, अहिलेचाहिँ साह्रै महत्वपूर्ण लागिरहेको र रुचि जागिरहेको कुरा चाहिँ यात्रा नै हो । अचेल रुचि जागेको अर्को विषय ध्यान हो । म बिहान ध्यान गर्छु ।

७. अहिलेको नेपाली समाजको सबभन्दा राम्रो र नराम्रो पक्ष के लाग्छ ?

नेपाली समाज साह्रै सुन्दर कुराहरु भएको समाज हो । मैले विश्वका धेरै ठाउँ घुमें । आफ्नो देश भनेर भनेको होइन, यस्तो मिलेर बसेको समाज, एकअर्काको जीवन पद्धति र आस्थालाई सम्मान गर्ने समाज हाम्रो सबभन्दा राम्रो हो ।

अर्कोचाहिँ नेपालीको फरक विशेषता के हो भने, जस्तो स्थितिमा पनि मुस्कुराउन सक्ने जाति हो । अप्ठेरो, कठिन, संघर्ष र अभावमा पनि कोही मुस्कुराइरहन्छ भने त्यो नेपाली हो । सहनशीलता, धैर्य र जीवनप्रतिको आस्था गजबको छ, नेपाली समाजको ।

नराम्रो कुरा चाहिँ हामीले आफ्नो मौलिक कुराहरु गुमाउँदैछौं । हाम्रा जुन मौलिक मूल्य र मान्यता थिए ती भत्किइरहेका छन् । अलि बढी निराशाको खेती गर्नेखाले क्रियाकलापलाई अलि बढी प्रश्रय दिइरहेको जस्तो लाग्छ ।

८. पत्रपत्रिका र अनलाइन न्यूज पोर्टल कत्तिको हेर्नुहुन्छ ? आजको पत्रकारिता तपाईंलाई कस्तो लागिरहेको छ ?

म हेर्छु । अचेल त अनलाइन धेरै हेरिन्छ । पत्रिका पढ्ने बानी लगभग हरायो । मेरो विचारमा हाम्रो समाजका प्रशस्त सबल र सुन्दर कुराहरुलाई बढी चर्चामा ल्याउनुपर्छ । जीवन जिउन उत्साह दिने समाचारलाई प्रोत्साहन गर्नुपर्नेमा नकारात्मकता बढी फैलिनेलाई बढी महत्व दिएको देखिन्छ । त्यो हामीले सुधार्नुपर्छ जस्तो लाग्छ ।

९. इतिहासमा फर्किएर आफूले गरेको कुनै काम फेरि गर्न पाए वा सुधार गर्न पाए कुन कामलाई सुधार गर्नुहुन्थ्यो ?

जुन गल्तीहरु मैले गरेर आएँ ती गल्तीहरु पनि मलाई प्रिय लाग्छन् । किनभने जीवन कुनै योजनाजस्तो बनाएको रुपरेखा चित्रजस्तो होइन । जुन गल्ती, त्रुटि भए वा सुन्दर कुरा भए ती सबैको मिश्रण जिन्दगी हो । सच्च्याउदै जाने हो भने एउटै रंगको यान्त्रिक जीवन बन्थ्यो होला ।

त्यसैले कुनै त्रुटि थियो भने पनि त्यो सिक्ने कुरा थियो । म त्यसलाई सच्याएर यान्त्रिक बनाउन चाहन्न । गल्तीबाट सिकेरै यहाँसम्म आइपुगेको हुँ ।

१०. आउँदो पुस्तालाई सोचेर आजको पुस्ताले नगरी नहुने काम के हो ?

मलाई त्यस्तो केही पनि छजस्तो लाग्दैन । हरेक पुस्ता आआफ्नो सम्भावना र सामथ्र्य बोकेर आउँछ । आफ्नो पुस्ताका लागि गरेको काम नै भविष्यका लागि फलदायी हुने हो । हामीले आज आफ्ना लागि रोप्ने रुखले भोलि आउनेलाई छहारी दिन्छ । वर्तमानलाई नै प्राथमिकता दिनुपर्छ भन्ने लाग्छ ।

किताब

१. पढ्ने बानी कसरी बस्यो ?

म सल्यानमा जन्मिएँ, हुर्किएँ दाङमा । मेरो पहिल्यैदेखि खेलकुद र हाहाहुहु भन्दा बढी एकान्त रुचाउने, रेडियो सुन्ने, किताब भेटेपछि पूरा पढ्ने स्वभाव थियो । हामी पढेको स्कुलमा काठको दराजमा किताब थिए । त्यसलाई पुस्तकालय भनिन्थ्यो ।

एकजना मिसले साइन गरेर दिनुहुन्थ्यो, म त्यहाँबाट किताब लिएर जान्थें । म एक रातमै मोटा मोटा किताब पढिसक्थें । ६–७ कक्षामा पढ्दा नै रुपमति, सेतोबाघ, बसन्ती, मुनामदनहरु पढें । मेरो घरमा कहाँबाट अकेला भन्ने उपन्यास थियो, हिन्दीमा ।

म प्रत्येक वर्ष बिदामा त्यो किताब पढ्थें । हाम्रोतिर अवधि बोल्नेहरु भएका र भारत पनि जाने भएकाले हिन्दी बुझ्थें । यस्ता किताबहरु पढ्दापढ्दै पढ्ने बानी बस्यो ।

२. पढ्न मनपर्ने विधा ?

मलाई कविता नै मन पर्छ । किनभने, थोरैमा धेरै कुराहरु भन्न सकिन्छ । मलाई अर्को मन पर्ने विषय आत्मकथा, जीवनी हो । अलि मौलिकखालका उपन्यासमा पनि गहिरो रुचि छ । घामका पाइला, उलार, कर्नाली ब्लूजजस्ता मौलिक कथा भन्ने उपन्यास । त्यस्ता लेख्न पाए हुन्थ्यो भन्ने लाग्छ ।

३. सबभन्दा मनपरेको वा प्रभाव पारेको पुस्तक ?

पछिल्लो समयमा साह्रै मन परेको किताब योगीको आत्मकथा र लिभिङ विथ द हिमालयन मास्टर्स । यी पुस्तकले गराउने अध्यात्मिक यात्रा सुन्दर छन् । यिनमा अध्यात्मिकलाई बुझ्न सघाउने चाखलाग्दा कथा छन् ।

४. निकै चर्चा भए पनि तपाईंलाई निराश बनाएको पुस्तक ?

छन् । यसको लामै सूची बन्नसक्छ । तर, अरुले त्यत्रो मेहनत गरेको कुरालाई मैले यसोउसो भन्ने धृष्टता नगरौं होला ।

५. पुस्तकहरु ज्ञानको प्रसारका लागि लेखिन्छन् कि ज्ञानमाथि नियन्त्रणका लागि ?

मान्छेले आफ्नो जीवन, समय, स्रोत खर्च गरेर दिएको निष्कर्ष हो नि पुस्तक त । त्यसलाई लेख्नेले पनि र पढ्नेले पनि गम्भीर तरिकाले लिनुपर्छ भन्ने लाग्छ ।

६. नेपालमा के कस्तो विषयमा पुस्तक लेखिनुपर्छ ?

हाम्रो आफ्नै कथाहरुको अपार सम्पदा भएको समाज हो । तपाईं तराइ मधेशमा जानुस्, थारु गाउँमा जानुस्, कर्णालीमा जानुस्, नेपालको कुनै पनि ठाउँमा पुग्नु भयो भने हाम्रा फरक र मौलिक कथा छन् । हाम्रो आफ्नो समाजका कथा नै धेरै भन्दा धेरै लेखिनुपर्छ ।

७. तपाईंका प्रिय लेखकहरु ?

प्रिय लेखक भनेर त्यस्तो ठ्याक्कै यही भन्ने छैन । विधागत रुपमा धेरै लेखक मन पर्छन् । एउटा नाम लिएर अरुलाई जिस्क्याउने खतरा नमोलौं ।

८. कवि लेखकहरुले पढ्नुपर्ने पुस्तक ?

कवि लेखकले पढ्नुपर्ने आफ्नो रुचिअनुसार होला । मेरो रुचिअनुसार अरुले किन पढ्ने ?

९. एक दिन बिताउन पाए कुन लेखक वा पात्रसँग बिताउनुहुन्थ्यो ?

लेखकमा बीपी कोइराला, पात्रचाहिँ सिल्भिया भन्ने मेरो पात्र, जो मेरो सृजना हो र जसबाट मैले धेरै कुरा सिकेको पनि छु । सम्भव भएदेखि उसैसँग बिताउँथे ।

सिनेमा

१. पहिलोचोटी फिल्म हेर्दाको सम्झना कस्तो छ ?

मैले पहिलोपटक हेरेको अमिताभ बच्चनको मर्द भन्ने फिल्म हो । दाङ तुल्सीपुरमा स्कुलबाट भागेर बोराको पर्दा हालेको हलमा बेञ्चमा बसेर हेरेको हुँ । त्यो बेला अमिताभ बच्चन चिनें । त्यतिबेला स्कुलमा शुभकामना कार्ड लेख्ने चलन थियो ।

कार्डमा फोटो देखेपछि यो अमिताभ रहेछ भनेर चिनें । पहिलोचोटी मान्छे हिँडेको, कुदेको, फाइट गरेको देख्दा बडो मज्जा आयो । स्कुलमा साथीहरुलाई यसको कथा सुनाएको पनि याद छ ।

२. कस्ता फिल्म हेर्न मन पर्छ ?

अहिले अलि बढी फरक विषयवस्तुका आर्ट फिल्महरु मनपर्छ । लाइक समवन इन लभ मैले अहिलेसम्म बिर्सन सकेको छैन । हालसालै युट्युबमा शाहरुखको देवदास हेरें । तीनचार दिन अगाडि डिग्री माइला हेरें । फिल्म ठिकै लाग्यो ।

३. साह्रै मन परेका फिल्म ?

इरानी निर्देशक अब्बास किरुस्तामीको ‘लाइक समवन इन लभ’ । यो फिल्मको सेटिङ जापानमा छ ।

४. चर्चा सुनेका तर हेर्दा खासै नलागेका कुनै फिल्म छन् ?

यसको पनि सूची लामै हुन्छ, यसमा पनि खतरा नमोलौं ।

५. फिल्म हेर्दाको कुनै विशेष स्मृति ?

काठमाडौंमा कलेज पढ्थ्यौं । कमलपोखरीमा कुमारी हल थियो । क्लास बंक गरेर फिल्म हेर्न जाने योजना बन्यो । पर्दाअगाडिकै थर्ड क्लासको टिकटको पैसा उठाएर ६ सातजना साथीहरुले फिल्म हेरियो । सस्तैमा पाइयो भन्ने भयो । फिल्म हेर्नेबेला त मान्छे त अजंगको देखिन्छ ।

औंला उठायो भने मान्छेजत्रो देखिन्छ । फिल्म हेरेर बाहिर आएर कुरा गर्दा कुनै पनि साथीलाई फिल्मको कथा याद थिएन । के फिल्म हेरियो, फिल्मको कथा के थियो भन्ने नै थाहा भएन ।

६. मन पर्ने कलाकार वा फिल्ममेकर ?

निर्देशकमा अब्बास किरुस्तामी । उनका अरु पनि हेरेको छु । कलाकारहरुमा यही भन्ने छैन ।

७. नेपालमा कस्ता फिल्म बनुन् जस्तो लाग्छ ?

बाहिरचाहिँ फिल्ममा क्रमिक विकास भएको छ । उदाहरणका लागि भारतमा सत्यजित रेका फिल्म बने, आर्ट, सोसल, कर्मर्सियल फिल्म क्रमिक रुपमा बने । नेपाली फिल्मचाहिँ युरिया मल हालेको मुला जसरी आएको छ । यसले मौलिक कुराको खोजी गरेर हाम्रा कथाहरु चित्रित गर्नुपर्छ ।

८. सिनेमाले मानिसलाई यथार्थसँग साक्षात्कार गराएको ठीक कि एकछिन भए पनि अर्कै संसारमा पुर्‍याएको ?

दुईवटै ठीक हो । मेरो विचारमा फिल्म राम्रो र नराम्रो हुन्छ । एकछिन मनोरञ्जन दिने पनि राम्रो हो, प्रेरणा दिने समाजको चित्र देखाउने पनि राम्रो हो ।

खाना

१. नियमित खानाको रुटिन कस्तो छ ? खानाको कत्तिको सोखिन हुनुहुन्छ ?

मेरो कुनै खाना विशेष भनेर छैन । सबै किसिमको खाना मिठो लाग्छ । रुटिन खासै केही छैन ।

२. सबभन्दा मनपर्ने खाना ?

मनपर्ने खाना दालभात तरकारी, साग, गुन्द्रुक मन पर्छ । कर्णाली आइसकेपछि रातो चामलको भात र सिमीको दाल मन परेको छ ।

३. खाएको सबभन्दा मिठो परिकार ?

म हुर्केको गाउँबाट बुबाको पछि लागेर तुलसीपुर आएँ । त्यो बेला बुबाले मिठाई पसलमा लगेर एउटा नयाँ चिज खुवाउनुभयो– लालमोहन । पहिलोचोटी लालमोहन खाँदाको सम्झना अझै छ । अर्कोचाहिँ जापान जाँदाखेरि खाएको सीफुड । अलिअलि गन्धचाहिँ हुने र फरक लागेकाले सम्झनामा बसेको छ ।

४. सबभन्दा नमिठो परिकार ?

खाना कुनै विशेष र साधारण भन्ने हुँदैन । मान्छेको स्वादअनुसार राम्रो लाग्ने हो ।

५. संसारमा लडाईं खानाका लागि छ कि ? लड्नका लागि खाना जम्मा गर्नलाई छ ?

लडाईं भनेको अहंकार हो । यत्तिका विषयले मात्रै लडाईं हुन्छजस्तो मलाई लाग्दैन । लडाईंको कुरा गर्ने हो भने संसारमा खानाभन्दा अहंकार ठूलो छ । पेट भरिएपछि मान्छेले निहुँ खोज्छ ।

६. तपाईंलाई मिठो पकाउन आउने परिकार ?

मैले मिठो पकाउने भनेको चाउचाउ हो । किनभने, जतिखेर विद्यार्थी जीवन बिताएँ, त्यत्रो वर्षको विद्यार्थी जीवनमा भाँडा माझ्ने पालो मैले लिन्थें, पकाउनै पर्ने भयो भने चाउचाउ पकाउँथें ।

७. भान्साबाट कुनै समाजबारे कत्तिको थाहा पाउन सकिन्छ ?

धेरै चिज थाहा पाइन्छ । पहिलो त बजार मूल्य र उत्पादन थाहा हुन्छ । हामी कृषिप्रधान देश भन्छौं, यो कत्तिको हो भन्ने थाहा पाइन्छ । तरकारी सिधै बजारबाट ल्याएर खान मिल्ने छैन, विषादीले गर्दा । हाम्रो समग्र आर्थिक सामाजिक प्रणालीको अध्ययन भान्साबाट हुनसक्छ ।

राजनीति

१. नेपालको राजनीतिलाई एक वाक्यमा भन्नुपर्दा ?

एक वाक्यमा भन्नुपर्‍यो भने– टिप्पणी नगरौं ।

२. हाम्रो राजनीतिको मुख्य समस्या के देख्नुहुन्छ ?

समस्याको कुरा गर्नलाई नै समस्या भयो ।

३. नेताहरुको एउटा गुण वा चरित्र सुधार्न मिल्ने भए के सुर्धानुहुन्थ्यो ?

कृपया, कि राम्रा किताबका कुरा गरौं, कि संगीतको कुरा गरौं ।

४. तपाईंलाई मन परेका नेता ? सबभन्दा कमसल लागेका नेता ?

सिंगापुरका लिक्वान युको थर्ड वल्र्ड टु फर्स्ट पढेपछि नेता भनेको त्यस्तो हुनुपर्छ जस्तो लाग्यो ।

५. मानौं तपाईं प्रधानमन्त्री हुनुभयो, सबभन्दा पहिला के काम गर्नुहुन्थ्यो ?

म प्रधानमन्त्री भएदेखि राम्रो र सक्षम अर्को प्रधानमन्त्री खोज्ने थिएँ । किनभने, यो मेरो शोखको विषय होइन ।

६. एक दिन बिताउनुपर्‍यो भने नेपालको÷संसारको कुन नेता छान्नुहुन्छ ?

जंगबहादुर राणा ।

सामाजिक सञ्जाल

१. दिनको कति घन्टा मोबाइल र संजालमा बिताउनुहुन्छ ? बढी चलाउने कुन ?

ठ्याक्कै नियमित यति भन्ने त छैन । दिनमा एक डेढ घण्टा । फेसबुक र युट्युब । युट्युबमा म ओशो सुन्छु, विके सिवानी सुन्छु । प्रकृतिसम्बन्धी भिडियोहरु हेर्छु ।

२. बिहान उठ्नासाथ र राति सुत्नेबेला फोन चलाउने बानी छ कि छैन ?

छैन । बिहानको ध्यान–योग सकेपछि बल्ल फोन चलाउँछु । अफिसबाट फर्किएपछि हेर्छु । सुत्नेबेलामा हेर्दिनँ ।

३. सामाजिक सञ्जालको राम्रो र नराम्रो पक्ष के लाग्छ ?

कतिपटक चलाउँदिनँ फेसबुक भनेर निष्क्रिय बनाएको पनि छु । तर, बेलाबेला आउने गहकिला, लेख, स्मरणजस्ता सृजनात्मक कुरा आउने भएकाले त्यसले तान्छ । नराम्रोचाहिँ मान्छेको सृजनात्मकतामा ह्रास ल्याएको छ । जतिखेर सामाजिक सञ्जाल थिएन, त्यो बेला लेख्ने पढ्नेमा समय बढी जान्थ्यो । अहिले यसले समय खाने र एकाग्रता हराउने भएको छ ।

४.सामाजिक सञ्जालले अभिव्यक्ति स्वतन्त्रता र वैकल्पिक सूचना सञ्जालको काम बढी गरेको छ कि गलत सूचना फैलाउने र मान्छेलाई भुलाउने काम बढी गरिरहेको छ ?

हाम्रो सन्दर्भमा हेर्दाखेरि चाहिँ यसले अलि बढी समय मान्छेलाई अल्मल्याउने काम नै गरेको जस्तो देखिन्छ ।

५. सामाजिक सञ्जालले किताब र पत्रपत्रिकालाई विस्थापित गरिरहेको छ वा गर्नेछ भन्ने गरिन्छ । त्यस्तो लाग्छ ?

मलाई त्यस्तो लाग्दैन । विदेशतिर जाँदाखेरि म देख्छु, ट्रान्जिटमा, ट्रेनमा, प्लेनमा मान्छेहरु मोटामोटा किताब लिएर पढिरहेको देख्छु । किताब पढ्ने उनीहरुको जीवन पद्धति बनिसकेको छ । कफी सपहरुमा कफी लिएर किताब पढिरहेका हुन्छन् । अल्मलिनका लागि सामाजिक सञ्जाल छँदैछ तर किताबलाई ज्ञानको माध्यम मान्नेहरुलाई यसले विस्थापित गर्छजस्तो लाग्दैन ।

बरु, राम्रा किताबबारे थाहा दिन यसले सहयोग नै गर्छ । मेरो किताब पर्वत पर्वतमा बटुवा घामको जम्मा एउटा समीक्षा छापियो, एउटा अनौपचारिक कार्यक्रम भयो, विमोचनहरु भएन । तर, वर्षमा आएका किताबमा यसको चर्चा भयो, बिक्री पनि भयो । यसमा सामाजिक सञ्जालको भूमिका प्रमुख छ भन्ने मलाई लाग्छ ।

पेशा/व्यवसाय

१. तपाईंको कामको सबभन्दा राम्रो र नराम्रो कुरा के छ ?

कर्मचारीका रुपमा मेरो पेशाको राम्रो पक्ष भनेको मैले आफ्नो पेशाका क्रममा हजारौं मान्छे भेट्ने मौका पाएँ । संवाद गर्ने मौका पाएँ । देशको अत्यन्त दुर्गम ठाउँदेखि युरोपका देशसम्म घुम्ने, अध्ययन गर्ने अवसर पाएँ ।

एउटा मान्छेको जीवनमा यति धेरै विविधता पूर्ण अनुभवहरु संग्रह गर्ने अवसर मेरो पेशाले दियो । नराम्रो चाहिँ समयको पनि सीमा हुन्छ, सरकारी कर्मचारीको आफ्नै प्रकारको सीमा र पेशागत मर्यादा हुन्छ । त्यसका साथै समयको सीमितिता भयो ।

२. कुन समयमा तपाईंलाई यही काम गर्नुपर्छ भन्ने लाग्यो ?

जतिबेला म काठमाडौंमा बेरोजगार घुमिरहेको थिएँ, कविका रुपमा पहिचान बनाउने प्रयासमा थिएँ, त्यतिबेला सरकारी सेवामा भएको एकजना साथीले बडो नकारात्मक तरिकाले ‘तैंले पढेर शिक्षा हासिल गरेर पनि उपयोग गर्न सकिनस् बरु गाउँतिर फर्किने हो भने म बसको टिकट हाल्दिम्ला’ भनेर भन्यो । त्यसको भोलिपल्ट बिहानै गएर मैले लोकसेवा आयोग परीक्षा तयारीको किताब किनेको थिएँ ।

३. सरकारी सेवामा नगएको भए के बन्नुहुन्थ्यो होला ?

म केही हुन पनि सक्थें, नहुन पनि सक्थें । समय र उमेर अनुसार मान्छेका रुचि बदलिँदा रहेछन् । कुनैबेला मलाई जोगी बन्ने कुरामा आकर्षण थियो, कुनै बेला लेखक, कुनैबेला खेलाडी बन्ने रहर थियो । जिन्दगीको ठेगान छैन । अथवा, तपाईंजस्तो पत्रकार भएर तपाईंजसरी प्रश्न गरिरहेको पनि हुनसक्थें ।

४. तपाईंको कोही रोलमोडल छ ? कसैबाट प्रभावित हुनुहुन्छ ?

मैले अघि भनें, मलाई एउटै व्यक्ति रोलमोडल लाग्दैन । संसार विचित्रका मानिसहरुको जमघट भएको ठाउँ हो । धेरै खाले चरित्रहरुले भरिएको छ । तर, जीवनचाहिँ अलिकता संघर्ष र उतारचढाव, अनुभवको विविधता भएको हुनुपर्छ । मलाई त्यसमा रुचि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?