News Summary
Generated by OK AI. Editorially reviewed.- बालबालिका जिद्दी गर्नु सामान्य व्यवहार हो र उनीहरू आफ्ना भावना व्यक्त गर्न सिक्दै हुन्छन्।
- अभिभावकले धैर्य, सही संवाद र व्यवहारिक सीमारेखा अपनाउनुपर्ने हुन्छ।
- जिद्दी कम गर्न अभिभावकले शान्त रहन, विकल्प दिन र सकारात्मक व्यवहारको प्रशंसा गर्नुपर्छ।
बालबालिका जिद्दी गर्छन्, भने त्यो सामान्य व्यवहार हो । उनीहरू आफ्ना भावना स्पष्ट रूपमा व्यक्त गर्न सिक्दै गरेको चरणमा हुन्छन्, त्यसैले, चाहेको कुरा तुरुन्त पूरा नभए रोने, चिच्याउने, भुइँमा पल्टिने वा रिस देखाउने जस्ता प्रतिक्रिया देखिन सक्छन् ।
हरेकपटक बच्चाको जिद्दीको अगाडि झुकिरहँदा यो बानी झन् बलियो बन्दै जान्छ । पछि यही व्यवहार घर, स्कूल र सामाजिक जीवनमा पनि समस्या बन्न सक्छ ।
अभिभावकका लागि सबैभन्दा चुनौतीपूर्ण कुरा भनेकै जिद्दी बच्चालाई कसरी शान्त, सकारात्मक र प्रभावकारी ढंगले सम्हाल्ने भन्ने हो । धेरैजसो अवस्थामा हामी तत्काल समस्या टार्न बच्चाले भनेको मानिदिन्छौं, तर यसले उसलाई ‘जिद्दी गर्दा कुरा पूरा हुन्छ’ भन्ने सन्देश दिन्छ ।
बच्चाको जिद्दी छुटाउन कठोर दण्डभन्दा पनि धैर्य, सही संवाद र व्यवहारिक सीमारेखा बढी प्रभावकारी हुन्छ । यहाँ केही यस्ता उपायहरू छन्, जसले बच्चाको जिद्दी कम गर्न र उसको व्यवहार सकारात्मक बनाउन मद्दत गर्छन् ।
१. पहिले आफैं संयम हुने
कराउन थालेपछि अभिभावक पनि रिसले चिच्याउन थाल्नु सामान्य प्रतिक्रिया हो । तर बच्चाले धेरै कुरा हामीबाटै सिकिरहेको हुन्छ । यदि हामी रिसमा विस्फोट हुन्छौं भने उसले पनि जिद्दी पूरा गराउन यही शैली अपनाउन सिक्छ ।
बच्चाले जिद्दी गर्दा सबैभन्दा पहिले आफ्नो स्वर, अनुहारको भाव र प्रतिक्रिया शान्त राख्नुपर्छ । त्यसका लागि गहिरो सास लिने, तुरुन्त प्रतिक्रिया नदिने र केही सेकेन्ड रोकिएर मात्र बोल्नुपर्छ ।
शान्त अभिभावकले बच्चालाई पनि विस्तारै शान्त बनाउँछ । बच्चाले सिक्ने पहिलो पाठ भनेकै ‘समस्या पर्दा कसरी प्रतिक्रिया दिने’ हो, जुन ऊ तपाईंको व्यवहारबाटै सिक्छ ।
२. बच्चासँग बहस होइन, संवाद गर्ने
जिद्दी बच्चासँग तर्क गरेर जित्न खोज्दा स्थिति झन् बिग्रिन सक्छ । ऊ सही–गलत छुट्याउने उमेरमा नहुन सक्छ, त्यसैले धेरै बहस गर्दा ऊ अझ अडिग बन्छ । बरू उसको भावना स्वीकार गर्नुहोस् । जस्तै, ‘तिमीलाई यो खेलौना अहिले नै चाहिएको छ, म बुझ्छु ।’
जब बच्चाले आफूलाई सुनेको महसुस गर्छ, उसले जिद्दी कम गर्छ । त्यसपछि नरम स्वरमा विकल्प वा कारण बुझाउन सजिलो हुन्छ ।
३. बीचमै रोकेर आदेश नदिने
प्राय बच्चा आफ्नो मनपर्ने खेल खेलिरहेको, चित्र कोरिरहेको वा भिडियोमा व्यस्त हुन्छन् । त्यही बेला अचानक बोलाएर अर्को काम लगाइयो भने उसले अस्वीकार गर्न सक्छ । यसलाई धेरै अभिभावक ‘जिद्दी’ ठान्छन् ।वास्तवमा बच्चालाई पनि आफ्नो व्यक्तिगत समय र मानसिक तयारी चाहिन्छ।
उदाहरणका लागि ‘५ मिनेटपछि खाना खान बस्ने है’ भन्दा उनीहरू मानसिक रूपमा तयारी हुन्छन् । यस्तो अग्रिम जानकारीले बच्चा मानसिक रूपमा तयार हुन्छ र प्रतिरोध कम हुन्छ ।
४. गर्नु हुँदैन मात्रै नभनी विकल्प दिने
सिधै हुँदैन, मिल्दैन, अहिले होइन भन्ने जवाफले बच्चामा असन्तुष्टि बढ्छ । जस्तो कि, यदि उसले महँगो खेलौना माग्यो भने ‘आज यो किन्न सकिँदैन, तर सानो अर्को खेलौना रोज्न सक्छौ ’ वा ‘आज पार्क जान सकिँदैन, तर बेलुका छतमा गएर खेलौं’ भन्नु सक्नुपर्छ ।
विकल्प दिने बानी बच्चाको जिद्दी कम गर्ने सबैभन्दा प्रभावकारी उपायमध्ये एक हो । यसले उसलाई निर्णयमा सहभागी भएको महसुस गराउँछ ।
५. हरेक कुरामा ‘नाइँ’ भन्नु हुँदैन
जसरी बच्चाको हरेक जिद्दी पूरा गर्नु गलत हो, त्यसरी नै हरेक कुरामा ‘नाइँ’ भन्नु पनि हानिकारक हुन्छ । उसका कुरा सुन्ने कोही छैन भन्ने बच्चाले महसुस गर्यो र त्यो क्रम धेरै चलिरह्यो भने उसले चिच्याएर वा रोएर ध्यान तान्न खोज्छ । त्यसैले, आवश्यक कुरामा ‘हो’ र अनुचित कुरामा मात्र ‘नाइँ’ भन्नुपर्छ।
यसले बच्चालाई तपाईं निष्पक्ष हुनुहुन्छ भन्ने महसुस हुन्छ ।
६.राम्रो व्यवहारको प्रशंसा गर्ने
बच्चाले जिद्दी नगरी राम्रोसँग कुरा मान्यो भने त्यसको प्रशंसा गर्नुपर्छ । जस्तो कि, ‘आज तिमीले धेरै राम्रोसँग कुरा बुझ्यौ । मलाई तिमीले शान्त भएर बोलेको मन पर्यो ।’ सकारात्मक प्रतिक्रियाले बच्चामा राम्रो व्यवहार दोहोर्याउने प्रेरणा बन्छ ।
७. नियम बनाउने र निरन्तरता दिने
यदि एक दिन जिद्दी गर्दा कुरा पूरा हुन्छ र अर्को दिन हुँदैन भने बच्चा अझ धेरै जिद्दी गर्छ । त्यसैले, घरमा स्पष्ट नियम र निरन्तरता जरुरी हुन्छ । जस्तो कि, ‘खाना अघि चकलेट होइन, सुत्नुअघि ३० मिनेट मात्र मोबाइल दिन्छु वा बजार जाँदा मात्र एउटा मात्र सामान किन्दिन्छु’ भन्न सकियो । जब नियम स्थिर हुन्छ, बच्चाले सीमा बुझ्छ ।
८. सार्वजनिक ठाउँमा जिद्दी गर्दा के गर्ने ?
मल, बजार वा आफन्तकहाँ गएका बेला बच्चाले जिद्दी गरेर के गर्नु कसो गर्न बनाउँछन् । यस्तो अवस्थामा धेरै अभिभावक लाजले उसले जे भन्छ त्यही मानिदिन्छन् । यहींबाट जिद्दीको बानी झन् बढ्छ । त्यस्तो बेला शान्त रहने, भीडबाट अलि पर लगेर बच्चालाई समय दिने र उ शान्त भएपछि मात्र कुरा गर्ने गर्न सकिन्छ । तत्काल जिद्दी पूरा गरिदिँदा बच्चाले सार्वजनिक ठाउँमा रोए भनेकै कुरा पूरा हुन्छ भन्ने सिक्छ ।
९. बच्चाको भावना बुझ्ने
कहिलेकाहीँ जिद्दीको कारण खेलौना होइन, थकान, भोक, निद्रा हुन सक्छ । उसको कुरा सुनिदेओस् भन्ने चाहेको पनि हुन सक्छ ।
सानो बच्चाले भावना शब्दमा भन्न नसक्दा जिद्दीमार्फत व्यक्त गर्छ । त्यसैले ‘किन जिद्दी गरिरहेको छ ?’ भन्दा ‘उसलाई अहिले के चाहिएको होला ?’ भनेर बुझ्ने प्रयास गर्न सकिन्छ ।
११. बच्चासँग समय बिताउने
हरेक दिन केही समय बच्चासँग रमाइला गतिविधिमा सहभागी हुनु आवश्यक हुन्छ । खेल खेल्ने, चित्र बनाउने वा रङ भर्ने, सिर्जनात्मक काम गर्ने, बगैंचामा काम गर्ने जस्ता गतिविधिले बच्चासँगको सम्बन्ध बलियो बनाउँछ ।
यस्तो बेला बच्चालाई नै अगुवाइ गर्न दिनु राम्रो हुन्छ र अभिभावकले उसको रुचिअनुसार सहभागी हुनुपर्छ । बच्चाले गरेको काममा ‘यसो होइन, त्यसो गर’ भनेर बारम्बार सच्याउन वा अनावश्यक हस्तक्षेप गर्न खोज्दा उसमा हिचकिचाहट बढ्न सक्छ । त्यसैले, उसलाई स्वतन्त्र रूपमा सिक्ने र रमाउने वातावरण दिनुपर्छ ।
१२. परिवारभित्रको संवाद शैली सुधार्ने
परिवारभित्र अभिभावकले एकअर्कासँग गर्ने संवाद र बच्चासँग बोल्ने तरिकाले उसको व्यवहारमा ठूलो प्रभाव पार्छ । शान्त, सभ्य र सम्मानजनक शैलीमा कुरा गर्दा बच्चाले पनि त्यही व्यवहार सिक्छ । घरमा अत्यधिक कराउने, चर्को स्वरमा बोल्ने वा धेरै कोलाहल हुने वातावरण भएमा बच्चामा व्यवहारसम्बन्धी समस्या बढ्ने जोखिम रहन्छ ।
त्यसैले, घरको वातावरण सकेसम्म शान्त, स्नेहपूर्ण र सकारात्मक राख्नु महत्त्वपूर्ण हुन्छ ।
प्रेम र सीमाको सन्तुलन नै समाधान
अन्ततः बच्चाको जिद्दी छुटाउने सबैभन्दा प्रभावकारी उपाय भनेको माया, धैर्य र सीमारेखा बीचको सन्तुलन हो । न धेरै कठोर, न धेरै नरम । बरु स्थिर र समझदार अभिभावक बन्ने प्रयास गर्नुहोस् । बच्चाले जिद्दी गर्दा तुरुन्त झुक्नुको सट्टा कारण बुझ्ने, विकल्प दिने र शान्त रहन सक्नुभयो भने बिस्तारै यो बानी घट्दै जान्छ ।
बच्चालाई सुधार्न समय लाग्छ, तर सही तरिकाले सम्हाल्दा ऊ केवल जिद्दी कम गर्ने मात्र होइन, आफ्नो भावना स्वस्थ रूपमा व्यक्त गर्न पनि सिक्छ।
प्रतिक्रिया 4