News Summary
Generated by OK AI. Editorially reviewed.- व्यवसाय सुरु गर्दा वित्तीय रोडम्याप बनाउनुपर्छ जसले लगानी, खर्च र आम्दानीको स्पष्ट योजना दिन्छ।
हामीमध्ये धेरैजना एक न एक दिन आफ्नै व्यवसाय सुरु गर्ने सपना देखिरहेका हुन्छौं । तर पैसाको अभाव, राम्रो योजना नहुनु र सही जानकारीको कमीले गर्दा धेरैले यो सपना पूरा गर्न सक्दैनन् ।
सुरुवाती लगानी जुटाउनेदेखि लिएर त्यसको राम्रोसँग उपयोग गर्नेसम्म सबै कुरा निकै चुनौतीपूर्ण हुन्छ । तर यो जति गाह्रो देखिन्छ, त्यति गाह्रो छैन भन्छन् उद्यमी र वित्तीय विशेषज्ञहरू । अलिकति दूरदर्शिता, तर्कसंगत सोच र राम्रो वित्तीय योजना बनाएर अगाडि बढ्न सकिन्छ ।
वित्तीय रोडम्याप कुनै पनि व्यवसायको आधारशिला हो । यसले व्यवसाय सुरु गर्नेदेखि चलाउने, विस्तार गर्ने र भविष्यमा कहिले कति पैसा चाहिन्छ भन्ने कुरा स्पष्ट पार्छ । लगानीकर्ता वा बैंकले पनि पैसा दिनुअघि यो रोडम्याप हेर्न रुचाउँछन्।
सबैभन्दा पहिले आफूलाई यो प्रश्न सोध्नुहोस्– मलाई कति पैसा चाहिन्छ ?
यो कुरा व्यवसाय पूँजी प्रधान छ कि श्रम प्रधान छ र कति चाँडो आम्दानी सुरु गर्न सकिन्छ भन्नेमा निर्भर गर्दछ । निश्चित खर्च जस्तै भाडा, तलब, बिजुली र भेरिएबल खर्च जस्तै कच्चा पदार्थ, मार्केटिङ आदिमा लाग्ने रकमको राम्रो लेखाजोखा राख्नुपर्छ ।
आपतकालीन अवस्थाका लागि पनि २० देखि ३० प्रतिशत अतिरिक्त बजेट राख्नु राम्रो हुन्छ । कम्तीमा आगामी १२ महिनाको विस्तृत योजना बनाउनुपर्छ ।
कर्मचारी भर्ती, मार्केटिङ, सोसल मिडिया, प्रमोशन र सम्भावित आम्दानी सबै अनुमान गर्नुपर्छ । साना व्यवसायमा सफलताको मुख्य जड भनेको निश्चित खर्चलाई सकेसम्म कम र नियन्त्रणमा राख्नु हो । कहिल्यै भविष्यमा हुने आम्दानीमा भर पर्नुहुँदैन । सधैं आफ्नो हातमा भएको पैसाअनुसार मात्र खर्चको योजना बनाउनुपर्छ ।
अर्को महत्वपूर्ण प्रश्न हो– मलाई पैसा कहाँबाट मिल्छ ?
सबैभन्दा राम्रो विकल्प आफ्नै बचतबाट सुरु गर्नु हो । तर यो सबैका लागि सम्भव नहुन सक्छ । त्यसैले साथी तथा परिवारबाट सापटी लिन सकिन्छ । नगद प्रवाह राम्रो भएपछि पैसा फिर्ता गर्न सकिन्छ । एन्जेल इनभेस्टर अर्थात् व्यक्तिगत लगानीकर्ता वा क्राउड फन्डिङबाट पनि कोष जुटाउन सकिन्छ ।
नेपालमा बैंक तथा वित्तीय संस्थाबाट पनि ऋण लिन सकिन्छ । विशेष गरी सरकारको स्टार्टअप उद्यम कर्जा कार्यक्रम अन्तर्गत ३ प्रतिशत ब्याजमा बिना धितो ऋण उपलब्ध छ । युवा स्वरोजगार ऋण र महिला उद्यमशीलता ऋण जस्ता सहुलीयतपूर्ण योजनाहरू पनि छन् । ऋण लिनका लागि राम्रो व्यवसाय योजना र प्रोजेक्ट रिपोर्ट तयार पार्नुपर्छ । नयाँ उद्यमीहरूलाई सहयोग गर्ने संस्थाबाट मेन्टोरशिप र विशेषज्ञ सल्लाह पनि लिन सकिन्छ।
नयाँ व्यवसाय सुरु गर्दा केही आर्थिक कठिनाइहरू पनि सामना गर्नुपर्ने हुन सक्छ । सबैभन्दा ठूलो चुनौती लगानीकर्ता वा बैंकलाई आफ्नो पैसा सुरक्षित फिर्ता हुन्छ भनी विश्वास दिलाउनु हो ।
बैंकले ब्रेक–इभन कहिले आउँछ भन्ने विस्तृत रिपोर्ट माग्छन् । भेन्टर क्यापिटलिस्टहरूले व्यवसायको व्यावहारिकता जाँच्ने मात्र होइन, उनीहरूले जति ठूलो जोखिम उठाएका हुन्छन् त्यति नै ठूलो प्रतिफलको अपेक्षा पनि गर्छन् ।
नेपालको प्रतिस्पर्धात्मक बजारमा आफ्नो उत्पादन वा सेवाको अलग अस्तित्व प्रमाणित गर्न पनि गाह्रो हुन सक्छ । यस्ता चुनौतीहरूको सामना गर्न राम्रो डकुमेन्टेसन, नियमित क्यास फ्लो ट्र्याकिङ र अनुभवी सल्लाहकार सहयोग लिनुपर्छ ।
कस्ता आर्थिक कठिनाइहरूको सामना गर्नुपर्ने हुन सक्छ ?
असफलताको सम्भावनालाई पनि ध्यानमा राख्नुहोस् । केही असफलता आउन सक्छ भनेर सुरुदेखि नै प्लान बी तयार राख्नुहोस् । कुनै पनि आइडियालाई वास्तविकतामा बदल्न समय लाग्छ, त्यसैले धैर्य गर्नुपर्छ । सुरुदेखि नै केवल नाफाको पछाडि लाग्नु हुँदैन । मुख्य कुरा आफ्ना ग्राहक र लगानीकर्तालाई व्यवसायप्रति विश्वस्त पार्नु र ग्राहकको सन्तुष्टिमा ध्यान दिनु हो ।
नेपालमा कृषि, पर्यटन, आईटी, हस्तकला, खाद्य प्रशोधन जस्ता क्षेत्रमा कम पूँजीमा पनि राम्रो व्यवसाय सुरु गर्न सकिन्छ । सानो स्तरबाट सुरु गर्नुपर्छ सरकारी योजनाको लाभ लिनुपर्छ र निरन्तर सिक्दै अगाडि बढ्नुपर्छ । राम्रो योजना, धैर्य र सिक्ने इच्छाशक्ति भएमा धेरैले आफ्नो व्यवसाय सफल बनाइरहेका छन् ।
प्लान बीबारे पनि सोच्नुपर्छ
यदि सुरुको योजना अनुसार व्यवसाय अगाडि बढेन भने के गर्ने भन्ने वैकल्पिक योजना पनि बनाउनुपर्छ । उदाहरणका लागि, व्यवसायको साइज घटाउने, उत्पादन वा सेवा परिवर्तन गर्ने, अर्को सानो क्षेत्रमा फोकस गर्ने वा केही समयका लागि जागिर गरेर पैसा जम्मा गर्ने जस्ता विकल्प सोच्न सकिन्छ ।
पर्याप्त क्यास फ्लो कायम राख्नुपर्छ ताकि अचानक समस्या आए पनि व्यवसाय बन्द गर्न नपरोस् । राम्रो सेवा वा उत्पादन दिएपछि बाँकी कुराहरू आफैं मिल्दै जान्छन् । असफल भएमा पनि त्यसबाट सिक्नुपर्छ र नयाँ जोसका साथ अर्को प्रयास गर्न तयार रहनुपर्छ ।
प्रतिक्रिया 4