News Summary
Generated by OK AI. Editorially reviewed.- त्रिभुवन विश्वविद्यालयबाट अध्ययन बिदा लिएर काम नगरेका ४०० प्राध्यापकले रकम फिर्ता गर्नुपर्ने भएको छ।
- रास्वपा सांसद आनन्द चन्द र कांग्रेस सांसद जगत तिमिल्सिनाले क्रमशः ४४ लाख ५६ हजार र ३३ लाख ५० हजार रकम फिर्ता गरेका छन्।
- त्रिविले अध्ययन बिदा दुरुपयोग गर्ने प्राध्यापकबाट हालसम्म २० जनाले ६ करोड रुपैयाँ फिर्ता गरिसकेको छ र थप फिर्ता हुने तयारीमा छन्।
४ वैशाख, काठमाडौं । त्रिभुवन विश्वविद्यालयबाट अध्ययन बिदा लिई पूरा अवधि काम नगरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसका सांसदले रकम फिर्ता गरेका छन् ।
कैलाली–५ बाट निर्वाचित रास्वपा सांसद डा. आनन्द चन्द र गण्डकी प्रदेशबाट राष्ट्रिय सभामा निर्वाचित कांग्रेस सांसद जगत तिमिल्सिनाले रकम फिर्ता गरेका हुन् । सांसद हुनुअघि उपप्राध्यापक चन्द त्रिवि पाटन संयुक्त क्याम्पस र सहप्राध्यापक तिमिल्सिना व्यवस्थापन केन्द्रीय विभागमा कार्यरत थिए ।
पाटन क्याम्पस र केन्द्रीय विभाग स्रोतका अनुसार चन्दले गत ३० चैतमा ४४ लाख ५६ हजार र तिमल्सिनाले गत २ वैशाखमा ३३ लाख ५० हजार रकम फिर्ता गरेका हुन् ।
‘केन्द्रीय कार्यालयमा उहाँहरूले रकम बुझाएको पत्र आइपुगेको छ,’ पाटन क्याम्पस र व्यवस्थापन विभागका एक अधिकारीले भने, ‘बिदा लिएपछि फर्किएर पूरै समय पढाउनुपर्ने हो । तर राजीनामा दिएर चुनाव लड्न जानुभयो । काम नगरेपछि त्रिविलाई रकम फिर्ता गर्नुभएको हो ।’
त्रिविको शिक्षक, कर्मचारी सेवासम्बन्धी नियम २०५० मा ३ वर्षभन्दा बढी ५ वर्षसम्मको अध्ययन बिदा उपभोग गरेका शिक्षकले फर्केर कम्तीमा ५ वर्ष सेवा गर्नुपर्ने उल्लेख छ । यदि ३ वर्षको अध्ययन बिदा उपभोग गरेमा कम्तीमा ३ वर्ष विश्वविद्यालयको सेवामा रही काम गर्नुपर्ने नियम छ ।
अध्ययन बिदा सकिएपछि नफर्किएमा बिदामा बस्दा त्रिविको ढुकुटीबाट खाइपाइ आएको तलब भत्तामा १० प्रतिशत ब्याजसहित फिर्ता गर्ने भनेर कबुलियतनामा गरिएको हुन्छ ।
सोही कबुलियतनामा अनुसार चन्द र तिमिल्सिनाले फर्केर त्रिविमा सेवा नगरेपछि रकम फिर्ता गरेका हुन् । त्रिवि अधिकारीका अनुसार चन्द र तिमिल्सिनाले पीएचडीका लागि बिदा लिएका थिए । तर चन्दले चुनावअघि पीएचडी सके भने तिमिल्सिनाले पीएचडी पनि पूरा गरेका छैनन् ।
तिमिल्सिना २०५७ असार ९ मा त्रिवि सेवामा प्रवेश गरेका थिए । उनले अध्ययन बिदा २०७७ माघ १ देखि २०८० पुस १३ सम्म लिएका थिए । अध्ययन बिदामा पीएचडी पूरा नगरे पनि उनी त्रिवि सेवामा फर्किएका थिए । त्रिविको रेकर्डअनुसार फर्किएर उनले २०८२ पुस २१ सम्म सेवा गरे । र, २२ पुसमा राजीनामा दिए ।
‘फर्किएपछि उहाँले तीन वर्ष सेवा गर्नुपर्ने हो । तर नगरेपछि अध्ययन अवधिको मात्र सावाँ र १० प्रतिशत ब्याजसहित फिर्ता गर्नुभएको छ,’ त्रिविका एक अधिकारीले भने ।
उनले यही साता रकम फिर्ता गरेका हुन् । ‘बिदा सकिएपछि दुई वर्ष १ महिना पढाएको हुँ । तर नियमले फिर्ता गर्नुपर्छ भनेपछि तिरेको हो,’ राष्ट्रिय सभा सदस्य तिमिल्सिनाले भने, ‘पार्टीले टिकट दियो । बाध्यतामा परियो । त्रिविलाई पाँच पैसा पनि घाटा नहोस् भनेर फिर्ता गरियो ।’
कोभिडका कारण पीएचडी पूरा गर्न नसकिएको उनको दाबी छ । पीएचडी गर्न थाइल्यान्डको एक विश्वविद्यालयबाट उनले छात्रवृत्ति पाएका थिए ।
‘पीएचडी गर्न जाने भनेको हो, लकडाउन भयो । अनलाइन कक्षा भएको थियो । तर आमालाई कोभिड भयो । कक्षालाई निरन्तराता दिन सकिएन,’ तिमिल्सिनाले भने, ‘पीएचडी गर्न समय बाँकी नै थियो । ७ वर्षसम्मको समय थियो । यता तीन वर्षको बिदा थियो ।’ त्यसपछि राष्ट्रिय सभाको टिकट पाएकाले राजीनामा दिएर चुनावमा होमिएको उनले बताए ।
अध्ययन बिदा पूरा गरेपछि आफूले हसिल गरेको उपलब्धिको रिपोर्ट त्रिविमा बुझाउनुपर्ने हुन्छ । यदि अध्ययन पूरा नगरेमा पनि सो अवधिमा त्रिविबाट खाइपाइ आएको तलब फिर्ता गर्नुपर्ने हुन्छ ।
त्यसैगरी, रास्वापका सांसद चन्द २०६५ सालबाट त्रिवि सेवामा प्रवेश गरेका थिए । उनले अध्ययन बिदा २०७८ मंसिर ५ देखि २०८२ पुस ३० सम्मको लिएका थिए । पीएचडी सकिँदै गर्दा उनी २१ फागुनको चुनावमा होमिएका हुन् ।
चन्दले चुनावअघि पीएचडी पूरा गरेका हुन् । एउटा ‘डिफेन्स’ चुनावअघि र अर्को चुनावपछि गरेका हुन् । ‘पीएचडीको सबै प्रक्रिया उहाँले चुनावपछि पूरा गर्नुभएको हो,’ त्रिविका ती अधिकारीले भने, ‘तर चुनावअघि त्रिविमा राजीनामा दिनुभएको हो ।’
सांसद चन्दले पनि रकम फिर्ता गरेको स्वीकार गरेका छन् । ‘अध्ययन बिदा लिएको थिएँ । चुनावमा जाने भएपछि राजीनामा दिएको हुँ,’ उनले भने, ‘चार वर्षको तलब ब्याजसहित तिरेको छु । आफैंले फलो गरेर तिरेको हुँ । देशको काम गर्नेले इथिकल त हुनुपर्यो नि ।’ सबै प्रक्रिया पूरा गरेर पीएचडीको सर्टिफिकेट लिएको सांसद चन्दले बताए । ‘पीएचडी सकेर सर्टिफिकेट लिइसकें,’ उनले भने ।
त्रिवि अधिकारीका अनुसार चन्दले समयमा नै पैसा फिर्ता गरेका हुन् । ‘उहाँ (चन्द) को पीएचडी सकिनु र चुनावमा जानु सँगैसँगै जस्तो भयो । समयमा नै फरफारक गर्नुभएको हो,’ ती अधिकारीले भने ।
२० प्राध्यापकले फिर्ता गरे ६ करोड
त्रिविले विज्ञ शिक्षक उत्पादन गर्न तलब सहितको अध्ययन बिदा दिने गरेको छ । तर अध्ययन बिदाको चरम दुरुपयोग हुने गरेको छ । जसका कारण त्रिविले आर्थिक क्षति अनि शैक्षिक समस्या र नैतिक नोक्सानी बेहोरिरहेको छ ।
अध्ययन बिदामा विदेश गएकामध्ये नफर्किनेको संख्या वर्षेनी बढिरहेको रिपोर्ट अनलाइनखबरले प्रकाशित गरेको थियो । त्यसपछि त्रिविले डा. जीवन काफ्लेको संयोजकत्त्वमा छानबिन कमिटी बनाएको थियो । उक्त कमिटीको प्रतिवेदनअनुसार ४०० प्राध्यापकले अध्ययन बिदाको दुरुपयोग गरेको भेटिएको छ ।
डा. काफ्लेकै संयोजकत्त्वमा ‘हेल्प डेस्क’ बनाएर अहिले पनि काम गरिरहेको छ । हालसम्म २० जना प्राध्यापकले रकम फिर्ता गरेका छन् । जसबाट ६ करोड रकम संकलन भएको त्रिविले जनाएको छ । ‘५०–६० जना तिर्ने तयारीमा हुनुहुन्छ,’ कमिटीका संयोजक डा. काफ्लेले भने, ‘असारसम्ममा काम सक्छौँ ।’ थप फाइलहरू पनि फेला परेकाले असारसम्मको समय आवश्यक परेको कमिटीले जनाएको छ ।
त्रिविका रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजालका अनुसार अझै भेरिफाइ गर्ने काम पनि भइरहेको छ । ‘भेरिफाइड भइरहेको छ । पैसा फिर्ता गर्न आइरहनुभएको छ,’ उनले भने ।
कस–कसले फिर्ता गरे रकम ?
रकम फिर्ता गर्नेमा मित्रमणि सुवेदी, हिमाकुमारी राउत, रिना श्रेष्ठ, पुष्पराज आचार्य, ज्ञानप्रसाद गौतम, डा. आशुतोषकुमार सिंह, जीवनाथ लम्साल, डा. बुना भण्डारी, दीपक पुडासैनी छन् ।
त्यसैगरी सरस्वती दवाडी, थिरबहादुर बुढाथोकी, नारायण सुवेदी, प्रकाश आचार्य, शम्भु पौडेल, जगत तिमल्सिना, बालहरि पौडेल, वीरेन्द्रप्रसाद गुप्ता, अर्चना न्यौपाने तिमिल्सिना, शैलेन्द्रनाथ अधिकारी र आनन्दबहादुर चन्द छन् ।
त्रिविले अध्ययन बिदाको दुरुपयोग गर्ने शिक्षक कर्मचारीबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राखेको छ । आर्थिक वर्ष २०८२/८३ को बजेटमा त्रिविले यो शीर्षकलाई आन्तरिक आम्दानीको स्रोतमा पनि राखेको छ ।

४०० ले गरे दुरुपयोग, २ अर्ब बढी रकम उठ्न बाँकी
यसरी अध्ययन बिदाको दुरुपयोग गर्ने प्राध्यापकको संख्या ४०० रहेको छ । यसबाट २ अर्ब बढी त्रिविले फिर्ता लिनुपर्ने छ । तर कतिपय प्राध्यापक अझै सम्पर्कमा आएका छैनन् । सम्पर्कमा नआएका प्राध्यापकलाई खोजीखोजी त्रिविले पत्रचार गरिरहेको छ । स्थायी प्राध्यापक अध्ययन बिदामा गएर नफर्किंदा त्रिविले अस्थायी प्रकृतिका शिक्षक राख्नु परेको छ । स्थायी शिक्षक नफर्किंदा त्रिविलाई दोहोरो घाटा भइरहेको छ ।
बिदामा गएर विदेशमै लुक्छन्
अध्ययन बिदामा विदेश गएका त्रिविका प्राध्यापक विदेशै लुक्ने गरेको भेटिएको छ । धेरैजसो शिक्षकहरू ५ वर्षसम्म त्रिविको तलब खाने र बिदा सकिएपछि अमेरिका, अस्ट्रेलिया, क्यानडा तथा युरोपका विभिन्न मुलुकमै बस्ने गरेको पाइएको हो ।
त्रिविको नियममा शिक्षक लगातार ९० दिनसम्म बिनासूचना क्याम्पस वा कार्यालयमा अनुपस्थित रहेमा सेवाबाट हटाउने वा बर्खास्त गर्न सकिने भनिएको छ । विदेशबाट राजीनामापत्र त्रिविमा पठाउने तर रकम भने फिर्ता भने गर्दैनन् ।
मानविकी तथा सामाजिकशास्त्र संकाय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान र इन्जिनियरिङ अध्ययन संस्थानका धेरै प्राध्यापकले अध्ययन बिदाको दुरुपयोग गरेका छन् ।
३९८ जना प्राध्यापकले अध्ययन बिदाको दुरुपयोग गरेकोमा मानविकी तथा सामाजिकशास्त्र संकायमा ११४ जना, विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा १०६ जना र इन्जिनियरिङ अध्ययन संस्थानमा ९९ जना छन् ।
त्यसैगरी, वन विज्ञान अध्ययन संस्थानमा २८ जना, कृषि र पशु विज्ञान अध्ययन संस्थानमा १३ जना, चिकित्साशास्त्र अध्ययन संस्थानमा ९ जना, शिक्षाशास्त्र संकायमा ९ जना, व्यवस्थापन संकायमा १९ जना र कानुन संकायमा १ जना प्राध्यापक रहेका छन् ।
छानबिन समितिले तयार पारेको प्रतिवेदनमा नफर्किएका १९१ जना र बिदा लिएर अध्ययन पूरा नगर्नेमा २०७ जना गरी ३९८ जना प्राध्यापक छन् । विभिन्न विभागका थप ५० भन्दा बढी नयाँ फाइल पनि भेटिएकाले यो संख्या अझै बढ्ने छ । अध्ययन बिदाको दुरुपयोग गर्नेमा २०३५ सालपछिका फाइलसमेत भेटिएको छ ।
अध्ययन बिदाको दुरुपयोगका विषयमा प्रधानमन्त्री बालेन शाह र शिक्षामन्त्री सस्मित पोखरेलले चासोका साथ अध्ययन गरिरहेका छन् । प्रधानमन्त्री बालेनको सचिवालय र शिक्षामन्त्री पोखरेल समितिका संयोजक डा. काफ्लेसँग अघिल्लो साता छलफल गरेका छन् ।
प्रतिक्रिया 4