+
+
Shares
फलोअप :

२ अर्ब बढी नोक्सान पारेर नफर्किएका प्राध्यापकलाई त्रिविले दियो ३५ दिनको समय, नत्र कारबाही

अध्ययन बिदा सुव्यवस्थापन कार्यान्वयन समितिले शुक्रबार सूचना निकालेर त्रिविलाई नोक्सान पारेर नफर्किएका शिक्षक कर्मचारीलाई ३५ दिन भित्र सम्पर्कमा आउन भनेको हो ।

दिनेश गौतम दिनेश गौतम
२०८२ कात्तिक १४ गते १६:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएर नफर्किएका शिक्षक कर्मचारीलाई ३५ दिनभित्र सम्पर्कमा आउन भनेको छ।
  • त्रिविले अध्ययन बिदा दुरुपयोग गर्ने ३९८ शिक्षक कर्मचारीबाट २ अर्ब बढी रकम फिर्ता लिनुपर्ने देखिएको छ।
  • त्रिविको अध्ययन बिदा सुव्यवस्थापन समितिले सम्पर्कमा नआए कानुनी कारबाही र नाम सार्वजनिक गर्ने योजना बनाएको छ।

१४ कात्तिक, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएर नफर्किएका शिक्षक कर्मचारीलाई सम्पर्कमा आउन ३५ दिनको समय दिएको छ ।अध्ययन बिदा लिएर शिक्षक तथा कर्मचारी सेवामा नफर्किंदा त्रिविलाई २ अर्ब बढी नोक्सान भएको छ ।

अध्ययन बिदा सुव्यवस्थापन कार्यान्वयन समितिले शुक्रबार सूचना निकालेर त्रिविलाई नोक्सान पारेर नफर्किएका शिक्षक कर्मचारीलाई ३५ दिन भित्र सम्पर्कमा आउन भनेको हो ।

‘अध्ययन बिदा उपभोग गरी हाजिरी नभएका, सर्तअनुसार पूरा समय काम नगरेका, सेवाबाट हटाइएका, राजीनामा स्वीकृत गरी बुझबुझारथ नगरेका, राजीनामा पेस गरी स्वीकृत नभएका शिक्षक कर्मचारीहरूले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र समितिको कार्यालय वा studyleave@tu.edu.np मार्फत सम्पर्क गर्नुहुन अनुरोध छ,’ सूचनामा भनिएको छ।

अध्ययन बिदा लिएपश्चात् त्रिविमा फर्की सेवा नगर्ने शिक्षक तथा कर्मचारीबाट अध्ययन बिदाको सर्त उल्लंघन गरेको समितिको सूचनामा भनिएको छ । त्रिविका उपप्राध्यापक डा. जीवन काफ्लेको संयोजकत्वमा गठित समितिले ३५ दिन भित्र सम्पर्कमा नआएमा कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउने जनाइएको छ ।

त्रिविको कार्यकारी परिषद्ले डा. काफ्लेको अध्यक्षतामा अध्ययन बिदा सुव्यवस्थापन कार्यान्वयन समिति बनाएको हो । उक्त समितिले रजिस्ट्रार कार्यालयमा हेल्प डेस्क बनाएर नफर्किएका शिक्षक कर्मचारीलाई सम्पर्कमा ल्याउन र रकम फिर्ता गराउन सहजीकरण गरिरहेको छ ।

यसअघि त्रिविका शिक्षक कर्मचारीले अध्ययन बिदा लिएर नफर्किएको समाचार प्रकाशित भएपछि उपप्राध्यापक डा. काफ्लेकै संयोजकत्वमा खोनबिन समिति बनाइएको थियो । समितिले खोजबिन गर्दा ३९८ जना शिक्षक कर्मचारीले अध्ययन बिदाको दुरुपयोग गरेको भेटिएको थियो । यी शिक्षक कर्मचारीबाट त्रिविले २ अर्ब बढी रकम फिर्ता लिनुपर्ने देखिएको छ ।

त्रिविको नियमअनुसार प्राध्यपकले ५ वर्षसम्मको अध्ययन बिदा पाउँछन् । बिदा सकिएपछि सेवामा फर्किनुपर्ने हो । ३ वर्षभन्दा बढी ५ वर्षसम्मको अध्ययन बिदा उपभोग गरेका शिक्षकले फर्केर कम्तीमा ५ वर्ष सेवा गर्नुपर्ने नियम छ।

यदि ३ वर्षको अध्ययन बिदा उपभोग गरेमा कम्तीमा ३ वर्ष विश्वविद्यालयको सेवामा रही काम गर्नुपर्ने नियम छ । तर बिदा सकिएपछि शिक्षक कर्मचारी सेवामा फर्किने गरेका छैनन् ।

अध्ययन बिदा सकिएपछि शिक्षक नफर्किएमा बिदामा बस्दा त्रिविको ढुकुटीबाट खाईपाई आएको तलब भत्तामा १० प्रतिशत ब्याजसहित फिर्ता गर्नुपर्ने हुन्छ । तर ५ वर्षसम्म त्रिविको तलब खाने र बिदा सकिएपछि विदेशमै लुक्ने गरेका छन्।

त्रिविका शिक्षक कर्मचारी नफर्किएमा वा अध्ययन पूरा गर्न नसकेमा बिदामा बस्दा खाएको तलब-भत्ता फिर्ता गर्ने भनी शिक्षकले कबुलियत गरेका हुन्छन् । खाईपाई आएको तलब-भत्ता फिर्ता नगरेमा जायजेथाबाट असुल गर्नु भनी ३ जना साक्षी राखेर कबुलियत समेत गरिएको हुन्छ । तर शिक्षकले कबुलियतको पालना गर्ने गरेका छैनन् । त्यसैले रकम फिर्ता गराउन त्रिविले हेल्क डेस्क नै स्थापना गरेको हो।

‘भौतिक रूपमा कार्यालयमै आउन सक्नुहुन्छ । आउन नसक्नेले इमेलबाट पनि सम्पर्क गर्न मिल्ने व्यवस्था गरेका छौँ,’ समितिका संयोजक काफ्लेले भने, ‘नफर्किएका शिक्षकले कति फिर्ता गर्नुपर्ने छ हिसाब निकालेर सहजीकरणको काम गर्छौं । फास्ट ट्र्याकबाट काम हुन्छ ।’

समितिले रकम फिर्ताको लागि अभिलेख फारम भर्न पनि शिक्षक कर्मचारीलाई भनेको छ । उक्त अभिलेख फारम समितिले सार्वजनिक गरेको छ ।यदि ३५ दिनभित्र पनि सम्पर्कमा नआएमा विदेशको कुन विश्वविद्यालयमा कार्यरत हो खोजी गरेर उक्त संस्थामा समितिले इमेल पठाउने छ ।

त्यसरी खोजी गर्दा पनि सम्पर्कमा नआएमा नाम सार्वजनिक गर्ने योजना त्रिविको छ । समितिका अनुसार अहिले २०-२५ जना शिक्षक रकम फिर्ताको लागि सम्पर्कमा आएका छन् ।

‘रकम फिर्ताको लागि शिक्षकहरू सम्पर्कमा आइरहनुभएको छ,’ काफ्लेले भने । त्रिविका अनुसार अहिलेसम्म ५ जना शिक्षकले रकम फिर्ता गरेका छन् । ५ जनाबाट १ करोड ६७ लाख रकम उठेको छ ।

अध्ययनमा गएर नफर्किने र अध्ययन पूरा नगर्ने शिक्षक कर्मचारीलाई गत असार २९ मा त्रिविले ब्याजसहित रकम फिर्ता गर्न ३५ दिनको अल्टिमेटम दिएको थियो । त्यसपछि ५ जनाले मात्र रकम फिर्ता गरेका हुन् । रकम फिर्ताको लागि कानुनी जटिलता भएपछि अहिले अध्ययन बिदा सुव्यवस्थापन कार्यान्वयन समिति गठन गरेर रकम उठाउन लागिएको हो ।

त्रिविले अध्ययन बिदाको दुरुपयोग गर्ने शिक्षक कर्मचारीबाट उठ्ने रकम निवृत्तिभरण कोष वृद्धिमा राख्ने छ ।

आर्थिक वर्ष २०८२/८३ को बजेटमा त्रिविले उक्त रकम निवृत्तिभरण कोष वृद्धिमा राख्ने उल्लेख गरेको थियो । बजेटमा त्रिविले यो शीर्षकलाई आन्तरिक आम्दानीको स्रोतमा पनि राखेको छ ।

लेखक
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?