
News Summary
Generated by OK AI. Editorially reviewed.- त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदाको दुरुपयोग गरेको आरोपमा ४०० प्राध्यापकको खोजबिन गरी प्रतिवेदन बुझाएको हो।
- समितिले १८७ जना शिक्षक अध्ययन बिदा सकेर नफर्किएको र २१३ जना प्रमाणपत्र नपेस गरेको उल्लेख गरेको छ।
- अध्ययन बिदाको दुरुपयोग रोक्न र कारबाही गर्न समिति थप समय र तथ्यांक संकलन गरिरहेको छ।
३० जेठ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका ४०० जना प्राध्यापकले अध्ययन बिदाको दुरुपयोग गरेका छन् । त्रिविले गठन गरेको खोजबिन समितिले ४०० प्राध्यापकले अध्ययन बिदाको दुरुपयोग गरेको पत्ता लगाएको हो ।
अध्ययन बिदाको दुरुपयोग भइरहेको समाचार प्रकाशित भएपछि त्रिविले गत पुस २९ मा उपप्राध्यापक डा. जीवन काफ्लेको संयोजकत्त्वमा खोजबिन समिति बनाएको थियो । समितिको सदस्य सचिवमा दीपक तिवारी र सदस्यमा कृष्णहरि आचार्य थिए ।
तीन सदस्यीय समितिले ५ महिना लगाएर खोजबिन गरी शुक्रबार त्रिविका पदाधिकारीलाई बुझाएको प्रतिवेदनमा ४०० प्राध्यापकले बिदाको दुरुपयोग गरेको उल्लेख छ ।
प्रतिवेदनमा १८७ जना शिक्षक/कर्मचारी अध्ययन बिदा सकेर पनि नफर्केको र २१३ जना उत्तीर्ण प्रमाणपत्र पेस नगरेको उल्लेख छ । ‘क्याम्पस-क्याम्पस गएर खोजबिन गरेका छौँ । प्रतिवेदन आज बुझाएका छौँ,’ समितिका संयोजक काफ्लेले भने, ‘उत्तीर्णको प्रमाणपत्र पेस नगर्ने प्राध्यापकको संख्या धेरै छ ।’
समितिले उपकुलपति प्रा.डा. खड्ग केसी, रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजाल र रेक्टर प्रा.डा. दुविनन्द ढकाललाई प्रतिवेदन बुझाएको हो ।
त्रिविले अध्ययनको लागि शिक्षकलाई तलबी बिदा दिने गरेको छ । ५ वर्ष अध्ययन बिदामा बस्दा पनि त्रिविका प्राध्यापकले तलब पाउँछन् । त्रिविको शिक्षक, कर्मचारी सेवासम्बन्धी नियम २०५० मा ३० मा ३ वर्षभन्दा बढी ५ वर्षसम्मको अध्ययन बिदा उपभोग गरेका शिक्षकले फर्केर कम्तीमा ५ वर्ष सेवा गर्नुपर्ने उल्लेख छ । यदि ३ वर्षको अध्ययन बिदा उपभोग गरेमा कम्तीमा ३ वर्ष विश्वविद्यालयको सेवामा रही काम गर्नुपर्ने नियम छ ।
अध्ययन बिदा सकिएपछि शिक्षक नफर्किएमा बिदामा बस्दा त्रिविको ढुकुटीबाट खाईपाई आएको तलब भत्तामा १० प्रतिशत ब्याजसहित फिर्ता गर्नुपर्ने नियम छ । तर प्राध्यापकहरू त्रिविको तलब खान्छन् अनि अमेरिका, अष्ट्रेलिया, क्यानडा, युरोपका विभिन्न मुलुकमा बसेर काम पनि गर्छन् । अध्ययन बिदा सकिएपछि अन्तिममा उतै लुक्छन् ।
बिदामा बस्नुअघि त्रिविको सेवामा फर्किने भनेर नेपाली कागजमा कबुलियत गरेका हुन्छन् । नफर्किएमा बिदामा बस्दा खाएको तलब-भत्ता फिर्ता गर्ने भनी कबुलियत गरिएको हुन्छ । खाइपाइ आएको तलब-भत्ता फिर्ता नगरेमा जायजेथाबाट असुल गर्नु भनी ३ जना साक्षी राखेर कबुलियत गरिएको हुन्छ । तर अध्ययन बिदामा गएका धेरै प्राध्यापकले कुनै पनि नियम पालना नगर्ने गरेको पाइएको छ ।

यदि शिक्षक लगातार ९० दिनसम्म विनासूचना क्याम्पस वा कार्यालयमा अनुपस्थित रहेमा सेवाबाट हटाउने वा बर्खास्त गर्न सकिने भनिएको छ । वर्षौंसम्म नफर्किएका प्राध्यापकलाई न कारबाही गरिएको छ, न खाईपाई आएको तलब फिर्ता गरेका छन् । यसबाट त्रिविलाई २ अर्ब बढीको आर्थिक क्षति भएको छ ।
एक जना शिक्षकलाई पीएचडीको लागि बिदा दिँदा त्रिविलाई ४० लाखसम्मको आर्थिक भार पर्छ । त्रिविले विज्ञ शिक्षक उत्पादन गर्न तलबी बिदा दिने गरेको हो ।
अर्कोतर्फ स्थायी शिक्षक अध्ययन बिदामा बसेर नफर्किंदा करार र आंशिक शिक्षक राख्नुपर्ने बाध्यता त्रिविको छ । समितिले बुझाएको प्रतिवेदनमा अध्ययन बिदाको दुरुपयोग गर्ने प्राध्यापकलाई कारबाहीको सिफारिस गरेको छ । समितिको प्रतिवेदन अध्ययन गरेर अध्ययन बिदाको दुरुपयोग गर्नेलाई कारबाही हुने त्रिविले जनाएको छ । ‘दुरुपयोग गर्नेलाई कारबाही गर्छौं,’ रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजालले भने ।
अध्ययन बिदाको दुरुपयोग गर्ने ४०० शिक्षकको पुनः प्रमाणीकरणका लागि समितिलाई थप समय दिइएको छ । ‘थप भेरिफिकेसन गर्न समय पाएका छौँ,’ समितिका सदस्य सचिव दीपक तिवारीले भने । त्रिविसँग अहिलेसम्म कति प्राध्यापकले अध्ययन बिदा लिए, कति फर्किए र कति फर्किएका छैनन् भन्ने तथ्यांक थिएन ।
बिदाको दुरुपयोग गर्ने शिक्षकको तथ्यांक समितिले तयार पारेको छ । तर तथ्यांकलाई थप मजबुत बनाउन समितिलाई समय दिइएको हो । ‘पोस्ट भेरिफेकिसको लागि भनेको छ । यति नै समय भन्ने छैन,’ संयोजक काफ्लेले भने, ‘छिटै भेरिफिकेसनको काम सकाउँछौँ ।’
प्रतिक्रिया 4