+
+

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा निरन्तर गिरावट, घट्ला त इन्धनको मूल्य ?

नवीन ढुंगाना नवीन ढुंगाना
२०७९ असार २३ गते २०:१५

२३ असार, काठमाडौं । बितेको एक महिनामा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा निरन्तर गिरावट देखिएको छ । एक महिनाको तथ्यांक हेर्दा नेपालले खरिद गर्ने ब्रेन्ट कच्चा तेलको मूल्य २२ डलर हाराहारीले ओरालो लागेको ट्रेन्डिङ इकोनोमीले लेखेको छ । एक साता अवधिमा मात्रै तेलको मूल्य प्रतिब्यारेल १२ डलरले ओरालो लागेको छ ।

यो समाचार तयार पार्दासम्म एक महिना अवधिमा १२४.९ डलरबाट १०२ डलरमा झरेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले गरेको आकलनअनुसार डलरको मूल्यमा भएको वृद्धिका कारण तेलको मूल्य अवमूल्यन भएको हो ।

रुस–युक्रेन युद्धका कारण पेट्रोलियम पदार्थको मूल्य बढ्दा संसारभर नै मूल्यवृद्धि बढेको बेला ओरालो लागेको कच्चा तेलको मूल्यले साना अर्थतन्त्र भएका मुलुकहरुलाई प्राण मिल्ने अपेक्षा गरिएको छ ।

पेट्रोलियम पदार्थको बढेको मूल्यका कारण टाट पल्टिएको भन्दै नेपालमा इन्धन बिक्रीको एकाधिकार पाएको नेपाल आयल निगमले उपभोक्ता मूल्य बढाइरहेको छ । तर, अन्तर्राष्ट्रिय बजारमा घट्न थालेको कच्चा तेलको मूल्यले अहिले केही सकारात्मक आशा पलाइको भन्दै निगमले पछिल्लो मूल्यहरुले निगमको घाटामा सुधार हुने र मूल्य आरोलो टिकाउ भने त्यसको राहत उपभोक्ताले पनि पाउने जनाएको छ ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायकाअनुसार पछिल्लो एक सातामा घटेको कच्चा तेलको मूल्यले प्रशोधित पेट्रोलको परल मूल्यमा १० र डिजेलमा १५ रुपैयाँ मूल्य घट्ने देखिएको छ । यदि यस्तो गिरावट १५ दिनसम्म निरन्तर रहे निगमले खरिद गर्ने प्रशोधित तेलको परल कम हुने तर ५ दिन घटेर अरु दिन बढ्यो भने त्यसबाट लाभ नहुने उपाध्याय बताउँछन् ।

‘हामीले अहिले भारतीय आयल कर्पोरेसन (आईओसी) बाट १५ दिनमा एक मुष्ट मूल्य पाउँछौं । त्यो भनेको यस अवधिमा घटेको र बढेको कुल हिसाबबाट हो,’ उपाध्ययले भने, ‘तर, निरन्तर ओरालो लागे त्यसले निगम र उपभोक्तालाई राहत त मिल्छ नै ।’

पछिल्लो समय कच्चा तेलको तुलनामा प्रशोधित तयारी तेलको मूल्य उच्च भएका कारण कच्चा तेलको गिरावटले प्रशोधित तेलको मूल्य घट्नेमा आशावादी देखिएको निगमले जनाएको छ ।

बढ्दो घाटाका कारण तत्कालै इन्धनको मूल्यमा उपभोक्ताले राहत पाउने गरी निर्णय हुने सम्भावना भने न्यून रहेको प्रवक्ता उपाध्याय बताउँछन् । ‘अहिले पनि निगमलाई पेट्रोलमा ३० रुपैयाँ र डिजेलमा ३८ रुपैयाँ प्रतिलिटर घाटा छ,’ उनले भने, ‘अन्तर्राष्ट्रिय मूल्य घटे उपभोक्ता मूल्य नघट्न सक्छ, त्यही हो राहत तर यही कारणले मूल्य नै घट्छ भन्ने अवस्था चाहिं कम छ ।’

अहिले नेपालले पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १८१ र डिजेल तथा मट्टितेलको मूल्य १७२ रुपैयाँ छ । निगमले अहिले आईओसीबाट पेट्रोल २११ रुपैयाँ ११ पैसा र डिजेल २१० रुपैयाँ ६१ पैसामा खरिद गरिरहेको छ ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?