+
+

दास बनाउन तस्करी गरेर सानैमा बेलायत पुर्‍याइएका ओलम्पियन धावक

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २८ गते १७:३३

२८ असार, काठमाडौं । ब्रिटिस ओलम्पियन धावक मोहमद फराह (मो फराह) बाल्यकालमै अवैधानिक तरिकाले सोमालियाबाट बेलायत ल्याइएका हुन् । फराह, जसको वास्तविक नाम हो, हुसेन अब्दी खाहिन ।

नौ वर्षे हुसेनलाई अवैधानिक तरिकाले जिबुटीबाट बेलायत ल्याइयो । कुनै अर्को बालकको नाम दिएर उनलाई भिजा दिइयो । भिजाका लागि प्रयोग भएको कागजातमा फोटो उनको छ, तर नाम मोहम्मद मुख्तर जामा छ । जुन नाम उनको थिएन ।

ओलम्पियन फराह अहिले उनलाई दिइएको काल्पनिक नामबाट नै चर्चित छन् । नौ वर्षको उमेरका उनलाई एक अनजान महिलाले दक्षिण अफ्रिकी भूमिबाट बेलायत झिकाइन् । फराहले न उनलाई कहिल्यै देखेका थिए, न त चिनेका नै । उनलाई बेलायत ल्याइनुको कारण थियो, बच्चा हेर्ने काम गर्न । बच्चाको सुसारेको रुपमा नौ वर्षको उमेरमा उनी सोमालियाबाट बेलायत उडेका थिए ।

‘धेरै समयसम्म मैले यी कुराहरुलाई बाहिर आउन दिइनँ । तर यस्ता कुराहरु कति समयका लागि लुकाउने भन्ने हुँदो रहेछ’, बीबीसी र रेडबुल स्टुडियोले तयार पारेर बीबीसी न्युजमा बुधबार सार्वजनिक गरिएको डकुमेन्ट्रीमा उनले भनेका छन् । उनले यसअघि आमाबुबासँग शरणार्थीका रुपमा बेलायत आएको बताउने गरेका थिए ।

यसअघि आफ्ना बारेमा बताएको कुरा झुटो रहेको स्वीरेका उनले भने, ‘मेरो अभिभावकले कहिल्यै बेलायतको भूमि टेक्नु भएको छैन । मेरी आमा र दुई भाइ सोमालियामा राज्यको खेतमा काम गर्दै बस्नुहुन्थ्यो ।’

फराह चार वर्षको हुँदा सोमालियामा गृहयुद्ध सुरु भयो र त्यसै क्रममा उनका बुवाको गोली हानेर हत्या गरियो ।

गृहयुद्ध बढ्दै गएर सन् १९९१ मा सोमालियाका शासक सिद बारेको बहिर्गमन भयो । सोमालियाको एउटा भाग जहाँ उनको परिवार बस्दै आएको थियो । त्यसलाई स्वतन्त्र देशका रुपमा सोमालिल्याण्ड घोषणा गरियो ।

तर त्यसले अन्तर्राष्ट्रिय मान्यता पाएको थिएन । त्यसैले उनी परिवारसँगै जिबुटी सरे । जिबुटीमा उनको भेट एक महिलासँग भयो, जसले उनलाई बेलायतमा आफन्तसँग भेटाइदिन्छु भनिन् ।

प्लेन चढेर बेलायतमा आफन्त भेट्न जाने भनेपछि उनी उत्साहित भए । ‘म उत्साहित थिएँ,’ भन्छन्, ‘किनकी त्यसअघि म कहिल्यै जहाज चढेकै थिइनँ ।’

ती महिलाले उनको नक्कली ट्राभल डकुमेन्ट बनाइन । उनलाई कसैले नाम सोधेमा ‘मोहम्मद फराह’ भन्न भनिन् । उनको हातमा भएको ट्राभल डकुमेन्टमा फोटो उनको थियो, तर नाम उनको थिएन ।

बेलायत आएपछि ती महिलाले फराहलाई एक फ्याल्टमा लिएर गइन् । बेलायत आउँदा बनाएको कागजात च्यातेर फ्याँकिन् । ‘मेरै अगाडी उनले त्यो कागज च्यातेर डस्टनिनमा फ्याकिदिइन्,’ फराहले सम्झे, ‘त्यसपछि मलाई आफू खतरामा भएको अनुभव भयो ।’

उनलाई दासको व्यवहार गर्न थालियो । उनलाई घरको काम गर्नुपर्थ्यो । खाना चाहिन्छ भने घरको काम गर र बच्चाको राम्रो हेरचाह गर भनेर ती महिलाले उनलाई दबाव दिइरहन्थिन् । फराहले ती दिन सम्झिए, ‘तिमीलाई आफ्नो परिवार फेरि भेट्न मन छ भने कसैलाई केही नभन ।’

त्यो बेला उनी बाथरुममा गएर रुन्थे । ‘म धेरै जसो आफूलाई बाथरुममा थुनेर रुन्थे ।’

उनलाई १२ वर्षको उमेरसम्म विद्यालय पठाइएन । उनलाई ४ वर्षसम्म दासकै रुपमा राखियो । १२ वर्षको उमेरमा उनलाई फेल्टम कम्युनिटी कलेजमा एक शरणार्थीको रुपमा भर्ना गरियो । उनलाई विद्यालयमा सोमालियन शरणार्थी भनेर चिनाइएको थियो ।

फराहकी शिक्षक सारा रेनीले डकुमेन्ट्रीमा भनेकी छिन्, ‘फराह निकै फरक खालका बच्चा थिए, धेरै अंग्रेजी नबोल्ने र उनको मनोविज्ञान पनि अन्य बच्चाको भन्दा फरक थियो ।’

उनको बुवाआमा भनेर चिनिएका मानिसहरु फराहको कुनै पनि अभिभावक भेलामा सामेल हुँदैनथे ।

फिजिकल एजुकेसन(शारिरीक शिक्षा)का शिक्षक एलन वटकिन्सनले पहिलो पटक एथ्लेटिक्स ट्रयाकमा फराहको फरकपन महसुस गरेको बताए । एलनले भने, ‘उनले बुझेको एकमात्र भाष खेलको भाषा थियो । शारिरीक शिक्षा उनले बुझेका थिए ।’

फराहले वाटकिन्सनलाई आफ्नो जीवनको बारेमा र उनी बस्ने परिवारको बारेमा बताएका थिए ।

को हुन् वास्तविक फराह ?

शारिरीक शिक्षाका उनै शिक्षकले उनलाई दास जीवनबाट निकाल्न मद्दत गरे । त्यसपछि उनलाई एक सोमाली परिवारले नै पाल्ने व्यवस्था मिल्यो । त्यसपछि उनको जीवनमा सुधार हुँदै गयो ।

‘म अझै पनि आफ्नो वास्तविक परिवारलाई खुब सम्झन्छु । तर जब म सोमाली परिवारमा गएँ त्यसपछि जीवन सुधारिँदै गयो’, फराहले भने, ‘मलाई लाग्छ जब मैले मेरो काँधबाट भारी बोक्न छोडेर बाहिर आएँ, तब नै वास्तविक मोहम्मद फराह बाहिर आयो ।’

सर मो (फराह)ले १४ वर्षको उमेरमा एथ्लेटिक्समा नाम बनाउन सुरु गरे । उनलाई लाटभियाको एक अंग्रेजी स्कुलले प्रतिस्पर्धा गर्न बोलाएको थियो तर उनीसँग कागजात थिएन, कागजी समस्याका कारण उनले खेल खेल्न निकै सास्ती बेहोर्नु प¥यो ।

उनले यहि समस्या नहोस् भनेर ब्रिटिस राहदानीका लागि आवेदन दिए । उनको शरिरीक शिक्षाका शिक्षक मिस्टर वाटकिन्सनले मद्दत गरे, उनले सन् २००० को जुलाईमा मोहम्मद फराहको नाममा ब्रिटिस राहदानी पाए ।

दौडले जोगाएका व्यक्ति

३९ वर्षको उमेरमा मो फराहले आफ्नो वास्तविकता खुलाउनुको कारण थियो, मानिसहरुको धारणा परिवर्तन गर्नु । ‘म मानव तस्करी र दासत्वबारे मानिसहरुको धारणा परिवर्तन गर्न चाहन्छु’, उनले भने, ‘मलाई थाहा थिएन, धेरै मानिसहरुले मेरै जस्तै समस्या भोगिरहेका छन् ।’

‘मेरो जीवन परिवर्तन भएको र मलाई जोगाएको कारण म दौडन सकें’, फराहले भने ।

फराहलाई जसले बेलायत ल्याएकी थिइन् । उनलाई बीबीसीले सम्पर्क गरेको थियो । तर उनले कुनै प्रतिक्रिया दिइनन् ।

बेलायती पूर्व चान्सलर नादिम जहावीले फराहको जीवनकहानीबारे प्रतिक्रिया दिएका छन् । उनी पनि उनको परिवारसँग ११ वर्षको उमेरमा इराकबाट भाग्न बाध्य बनाइएका थिए । ‘फराहको कथा निकै नै दुखदायी छ । फराहलाई मेरो सलाम, बाल्यकालमा धेरै ठूलो दुःख भोगेर यहाँसम्म आइपुग्ने उनको साहस निकै प्रेरणादायी छ ।’

(-बीबीसीमा प्रकाशित सामग्रीको भावानुवाद)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?