+
+

राजनीतिको दोबाटोमा बाबुराम

रामकुमार डिसी रामकुमार डिसी
२०७९ असार २८ गते २०:५९

२८ असार, काठमाडौं । संविधान बनेलगत्तै दुई दशकभन्दा बढी समय आफ्नो ऊर्जा खर्चेको पार्टी तत्कालिन एकीकृत नेकपा माओवादी परित्याग गर्दै डा. बाबुराम भट्टराईले नयाँ शक्ति पार्टी गठन गरेका थिए ।

विशाल आमसभाबीच ३० जेठ ०७३ मा काठमाडौंको रंगशालाबाट नयाँ शक्ति पार्टीको घोषणा गर्दा ठूला राजनीतिक दलका नेताहरू समेत तरंगित भएका थिए ।

पार्टी गठनका लागि शुभेच्छा दिन रंगशाला पुगेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त नयाँ शक्तिले आफूहरूको पार्टीलाई समेत धक्का दिनसक्ने भन्दै भाषण गरेका थिए । तर, पार्टी गठनलगत्तै भएका स्थानीय र संघीय चुनावमा नयाँ शक्तिले उत्साहजनक नतिजा ल्याउन सकेन ।

चुनावी नतिजाले वैकल्पिक राजनीति बौराउने नदेखाएपछि भट्टराईले अरु पार्टीसँग एकताका लागि हात बढाए । २३ वैशाख २०७६ मा उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरमसँग उनले एकता गर्दै समाजवादी पार्टी, नेपाल बनाए । परम्परागत राजनीतिक शक्तिसँग एकता गरे पनि उनले आफ्ना हरेक नयाँ राजनीतिक कदमलाई वैकल्पिक राजनीतिको लेप लगाउन भने छाडेनन् ।

समाजवादी पार्टी बनेको केही महिनापछि नै महन्थ ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टी पनि एकीकरणको लागि तयार भयो । १० वैशाख २०७७ राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमबीच एकीकरण भएर जनता समाजवादी पार्टी बन्यो ।

हरेक निर्वाचनको सम्मुखमा आउँदा भट्टराई नयाँ पार्टी र नयाँ चुनाव चिह्नको लागि संघर्ष गर्नुपर्ने अवस्थामा पुग्ने गरेका छन् । संयोग नै मान्नुपर्छ, नयाँ संविधान बनेपछिको दोस्रो संघीय चुनाव सम्मुखमै आउँदै गरेका बेला भट्टराई पुनः जनता समाजवादीबाट बहिर्गमनको तयारीमा छन् । आगामी चुनावमा उनी पुनः नयाँ पार्टी र नयाँ चुनाव चिह्न लिएर निर्वाचनमा होमिनुपर्ने अवस्था सिर्जना भएको छ ।

भट्टराई पक्षको केन्द्रीय समितिको बिस्तारित बैठक मंगलबारदेखि काठमाडौंमा सुरु भएको छ भने पार्टी अध्यक्ष उपेन्द्र यादव पक्षको पनि मंगलबार नै केन्द्रीय कार्यकारिणी समितिको बैठक वीरगञ्जमा बसेको छ । बुधबार उक्त समूहको केन्द्रीय समितिको बिस्तारित बैठक बस्दैछ ।

एकै दिन, एउटै पार्टीका समानान्तर बैठक बसेपछि अब पनि जनता समाजवादी पार्टी एक भइराख्ने आशा धेरै नेता, कार्यकर्ताले गुमाइसकेका छन् । ‘अनौपचारिक रूपमा पार्टी लगभग दुई भागमा विभाजित भइसक्यो,’ भट्टराई पक्षको बैठकमा सहभागी संघीय परिषद सदस्य जर्नादन वियोगी भन्छन्, ‘व्यवहारिक, मानसिक र सबै हिसाबले सँगै जान नसकिने देखियो ।’

उपेन्द्र यादवमा वैचारिक, संगठनात्मक र कार्यशैलीगत समस्या देखाउँदै भट्टराईले फेरि नयाँ पार्टी गठनतर्फ पाइला चालिसकेका छन् । उनले केन्द्रीय समितिमा पेस गरेको ‘पार्टी रूपान्तरण/पुनर्गठनको औचित्य र कार्यभार’ नामक राजनीतिक दस्तावेजमा ‘नयाँ ढंगले वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानलाई अघि बढाउने’ उल्लेख गरिएको छ ।

अर्थात भट्टराई पुनः वैकल्पिक राजनीतिको अभियानमा फर्किने भएका छन् ।

विकल्पमा अलमल

पार्टी विभाजनको कुनै मनसाय नरहेको बताएका भट्टराईले राजनीतिक दस्तावेजमा वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने वा विचार मिल्नेसँग एकीकरण वा ध्रवीकरण गर्ने विकल्प अघि सारेका छन् ।

सबैको सुझाव लिएपछि आगामी कदम तय गर्ने भन्दै उनले भने, ‘यहाँ हामीले यो, त्यो केही पनि नभनी सबै साथीहरूलाई बोलाएर तपाईंहरूको राय, सल्लाह लिएर यसको समाधान कसरी गर्ने भन्ने हाम्रो मक्सद हो ।’

तर बैठकमा उपस्थित अधिकांश नेताहरू उनी जस्तै अलमलमा देखिएका छन् । कतिपय नेताहरु वैकल्पिक राजनीतिको धार समाएर जानुपर्ने मत राख्छन् ।

उनीहरुमध्ये एक हुन्, केन्द्रीय सदस्य दानबहादुर चौधरी । अब माओवादीमा पनि प्रवेश नगर्ने र नयाँ शक्ति पार्टी नब्यूँताउने भन्दै उनी भन्छन्, त्यस्तै परिस्थिति आयो भने नयाँ पार्टी गठनको विकल्प छैन ।’

संघीय परिषद सदस्य वियोगी भने पुराना पार्टीसँग मिल्ने नभई नयाँ पार्टीहरूसँग ध्रुवीकरण गर्नुपर्ने बताउँछन् । भन्छन्, पुराना शक्तितिर लागेर केही फाइदा छैन । बरु साना भएपनि नयाँहरूसँग एकता गर्नुपर्छ ।’ नेताहरुका अनुसार कतिपय भने एमाले वा कांग्रेसतिर जान चाहन्छन् । तर यो मत राख्नेहरु खुलेर आएका छैनन् ।

तेस्रो समूहमा पनि सक्रिय

जसपा विभाजनको डिलमै पुगेका बेला पार्टीलाई फुटबाट जोगाउन केही नेता सक्रियसमेत भएका छन् । त्यसमा विशेषगरी जसपाभित्रको अन्तर्संघर्षमा भट्टराईलाई साथ दिएका नेताहरू राजकिशोर यादव, रामनरेश राय यादव, अमृत अग्रहरि, मृगेन्द्रकुमार सिंह यादव लगायत लागेका छन् । दुवै पक्षको बैठकमा नगएर उनीहरूले मध्यस्थकर्ताको भूमिका निभाउने प्रयास गरेका हुन् ।

भट्टराई पक्षको बैठकमा पनि नेताहरूले अध्यक्ष उपेन्द्र यादवलाई आफ्नो कार्यशैलीमा आत्मसमीक्षा गरेर पार्टी विभाजन जोगाउन आह्वान गरेका थिए । नेता महिन्द्रराय यादवले आफूहरू विभाजनको पक्षमा नभएको भन्दै पार्टी फुट जोगाउन आग्रह गरेका थिए । भट्टराईले समेत उस्तै आह्वान गर्दै भनेका थिए, ‘म मेरा मित्र उपेन्द्र यादवलाई अहिले पनि नतर्सिन, नडराउन, हिम्मतका साथ फेस गर्न र वैधानिक ढंगले बैठक राख्न अहिले पनि चुनौती दिन्छु ।’

बैठकमा सहभागी अन्य नेताहरूको मत पनि भट्टराई र यादवको भन्दा फरक छैन । विस्तारित बैठकमा सहभागी संघीय परिषद सदस्य पदम राईले भने, ‘सजिलोसँग छोड्ने मानसिकता भट्टराईजीको पनि छैन । कति नयाँ पार्टी बनाइ राख्ने, यहीँ नै लड्नुपर्छ । फेरि सबै मिलेर जाने अवस्था पनि सिर्जना हुनसक्छ ।’

लेखकको बारेमा
रामकुमार डिसी

रामकुमार डिसी अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?