+
+

समाधान खोजौं त्रियुगा-सास्तीको

तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरले सप्तरीतर्फ सिंचाइ सुविधा पुर्‍याउने उद्देश्यले वि.सं. १९८५ मा निर्माण गरेको चन्द्रनहरका कारण पनि त्रियुगाले क्षति गर्ने गरेको उदयपुरवासीको गुनासो छ ।

किशोर चौधरी 'सरिखा' किशोर चौधरी 'सरिखा'
२०७९ असार ३२ गते १३:०३

उदयपुरको सबैभन्दा ठूलो नदी हो त्रियुगा । उदयपुरको बीच भागबाट बग्ने त्रियुगा नदी सप्तकोशीको सहायक नदी पनि हो । जब जब वर्षायाम सुरु हुन्छ अनि नदी आसपासका बासिन्दाको हंसले ठाउँ छाड्छ । त्रियुगामा पानीको सतह बढेसँगै नदी वरपरका गाउँ नै धरापमा पर्छन् ।

चौदण्डीगढी नगरपालिकाका हडिया, जमैर्या, ढेलाचौरी, भिमा; त्रियुगा नगरपालिकाका रूपनी, जोगिदहा, खैजनपुर, भुल्कैया; बेलका नगरपालिकाका अमबासी, पुरैनदहा, कर्हैया बेला लगायत दर्जनौं गाउँका लागि त्रियुगा ‘बम’ बनेर बसेको छ, जुन बेला-बेला विस्फोट पनि हुने गरेको छ । तर पनि अहिलेसम्म नियन्त्रणको प्रयास असफल मात्रै भएको छ । अहिले पनि त्रियुगा खुल्ला छाडिएको साँढे जस्तै छ, जता मन लाग्यो उतै कुद्यो, कसैको रोकटोक छैन ।

अन्य गाउँको तुलनामा त्रियुगामा पानीको सतह बढेसँगै चौदण्डीगढी नगरपालिका वडा नम्बर पाँचमा पर्ने सिवाई, सुन्दरपुर, बेल्हा, ढेलाचौरी र वडा नम्बर ९ मा पर्ने हडिया, जमैर्या, भिमा, देवधार लगायत गाउँ वरिपरि खतराको घण्टी मडराइराखेको हुन्छ । हुन त यी गाउँहरूमा मात्रै खतरा छ भन्न खोजिएको होइन, उदयपुरको तराई बेल्टमा पर्ने त्रियुगा नगरपालिका, चौदण्डीगढी नगरपालिका र बेलका नगरपालिकाका अधिकांश गाउँ उच्च जोखिममा रहँदै आएका छन् ।

जब त्रियुगा जोड-जोडले गड्गडाउँछ, त्यसपछि वरिपरिका बासिन्दाको हंसले ठाउँ छोड्छ । त्रियुगा मात्रै भएको भए सायद यतिविघ्न त्रसित हुनु पर्दैनथ्यो । तर त्रियुगालाई बलवान बनाउन सयौं सहायक खोला छन् । जसको बलमा सबैलाई तर्साइरहन्छ । वर्षायाम सुरु भएसँगै यहाँका स्थानीयवासीमा बाढीको भयले सताउन सुरु गर्छ । यहाँका स्थानीयवासीे प्रत्येक पटकको वर्षायाममा झस्किन्छन्, जीउ सिरिङ्ग बनाउँछन्, हातका रौंहरू ठाडा हुन्छन्, कतै यही वर्षायामको बाढीलाई घरबार सुम्पिनुपर्ने त होइन भनेर !

नझस्किनु पनि कसरी ? पटक-पटक बाढीको सामना जो गर्नुपरेको छ । सयौं हेक्टर जमिन बगरमा परिणत भएको छ, कतिले घरबार गुमाएका छन् । कतिको आफन्तलाई त्रियुगाले निलेको छ ।

हिउँदमा सामान्य त्रियुगा वर्षायाममा विशाल रूप लिन्छ । असार-साउन महिना कहिले बित्छ जस्तो हुन्छ त्रियुगा छेउछाउका गाउँवासीलाई । अचम्म त के भने यहाँका अधिकांश गाउँ चारैतिरबाट खोलाले घेरिएका छन् । बीच भागबाट त्रियुगा बगेको छ भने दुवैतिरबाट सयौं सहायक खोलाले अधिकांश बस्तीलाईर् घेरेको छ । तर खोलालाई छेक्न न त राम्रो तटबन्ध छ न त गतिला बाँध नै । बस् बाँधको नाममा बाँध मात्रै । असार साउनमा आएको बाढीको भेलको एक धक्का पनि थाम्न सक्दैनन् यी बाँधले । त्यही भएर त यी गाउँका स्थानीयवासीहरू त्राहित्राहिमै दिन काट्न विवश छन् ।

हुन त उदयपुरको उत्तरी भागबाट बग्ने सुनकोशी र पूर्वी भागबाट बग्ने सप्तकोशीले घेरिएको जिल्ला पनि हो । तर यी दुई कोशीले उदयपुरलाई घेरे पनि खासै ठूलो क्षति पुर्‍याएका छैनन् । सप्तकोशीले बेलका नगरपालिकाका केही गाउँलाई क्षति पुर्‍याए पनि यो त्रियुगाले पुर्‍याउने भन्दा धेरै न्यून रहेको विभिन्न तथ्यांकले पुष्टि गर्छन् । त्रियुगाले त चौदण्डीगढी नगरपालिका वडा नम्बर ५ का आधा दर्जनभन्दा बढी गाउँलाई तहसनहस नै बनाएको छ ।

उच्च जोखिमका गाउँहरूमध्ये ‘सिवाई’ एक हो । सिवाई चारैतिरबाट साना-ठूला नदीले घेरिएको छ । उत्तरमा त्रियुगा, पूर्वमा घेर खोला, पश्चिममा सिवाई खोला र दक्षिणमा डुङ्हा र अन्य साना खोला । यी नदी र खोलाहरूले सिवाईवासीको निद्रा नै हराम गरिदिएको छ ।

कुनै बेला सिवाई गाउँको उत्तरी भागमा अवस्थित सिवाई माध्यमिक विद्यालयको करिब ३०० मिटर परबाट त्रियुगा नदी बग्थ्यो । तर अहिले कटान गरेर स्कुल छेउ पुगेको छ । स्कुलबाट २०० मिटर उत्तर पूर्वमा कुनै बेला मुस्लिम समुदायको ठूलो बस्ती थियो । त्रियुगाले त्यो बस्ती पनि निलिसकेको छ । सिवाईपट्टीका हजारौं बिघा जमिनबाट अहिले त्रियुगा बग्दै आएको छ । त्रियुगाले कतिलाई घरबारविहीन बनायो, कतिलाई सुकुम्बासी त्यसको लेखाजोखा नै छैन ।

सिवाई छेवैको अर्को गाउँ हो सुन्दरपुर । सिवाई र सुन्दरपुरलाई घेर खोलाले छुट्याएको छ । सिवाईभन्दा कम पीडा सुन्दरपुर गाउँवासीलाई पनि छैन । सुन्दरपुरवासीको पनि त्रियुगाकै कारण पटक-पटक बस्ती सर्नुपरेको तितो अनुभव छ । सयौं हेक्टर जमिन त्रियुगाले कटान गरेपछि अहिले हुनेखानेहरू पनि सुकुम्बासी बनेर बसेका छन् । सुन्दरपुरलाई पनि चारैतिरबाट नदी र खोलाले घेरेको छ ।

त्रियुगाले बर्सेनि पीडा दिएको अर्को गाउँ हो बेल्हा । यसले पटक पटक तर्साएको छ यहाँका गाउँवासीलाई । कहिले बस्तीमा छिर्ने त कहिले हजारौं बिघा जमिनलाई बगर बनाइदिएर दुःख दिएको छ । केही हप्ता अगाडि मात्रै बेल्हापट्ट िबनाइएको बाँध नै भत्काएर कैयौं बिघा जमिन बगरमा परिणत गरिदिएको छ । उक्त बाँध बनाएको एक वर्ष नबित्दै त्रियुगाले भत्काइदिएको हो ।

जमैर्या गाउँवासीको पीडा पनि उस्तै छ । जमैर्या गाउँतिर त्रियुगा कतिबेला सोझिने हो यकिन नै छैन । कुनै बेला सयौं मिटर टाढा रहेको त्रियुगा अहिले कटान गरेर बस्ती छेउमै पुगिसकेको छ । कृषियोग्य सयौं हेक्टर जमिन नदीले कटान गरेको छ । जमैर्या गाउँ पनि कतिबेला त्रियुगामा विलाउने हो थाहा छैन । यी गाउँहरू त उदाहरण मात्रै हुन् । त्रियुगा छेउछाउका अधिकांश गाउँको पीडा उस्तै छ । बस् कुनै बस्तीमा जोखिम कम छ भने कुनैमा बढी ।

उदयपुरका गाउँ जोखिमका कारण

तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरले सप्तरीतर्फ सिंचाइ सुविधा पुर्‍याउने उद्देश्यले वि.सं. १९८५ मा निर्माण गरेको चन्ऽनहरका कारण पनि त्रियुगाले क्षति गर्ने गरेको उदयपुरवासीको गुनासो छ । नहरमा पानी चढाउन सप्तकोशी नगरपालिका-१ स्थित फत्तेपुरमा खोलाभित्र निर्माण गरिएको बाँधका कारण गेगर रोकिएर उदयपुरतर्फ क्षति गर्ने गरेको उदयपुरवासीको गुनासो छ ।

१३१ किलोमिटर लम्बाइ भएको यो नहरले सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, महादेवा गाउँपालिका लगायत ग्रामीण क्षेत्रमा सिंचाइ सुविधा पुर्‍याइरहेको छ । तर सप्तरी जिल्लावासीलाई फाइदा गरे पनि उदयपुरवासीका लागि त्रियुगा सधैं संकट सावित भएको छ । त्रियुगा नदीमा बाँध बनाएर चन्द्रनहर निर्माण गरिएकै कारण बालुवा थुप्रिएको छ ।

बाँधकै कारण बालुवा बगाउन नसकेर उदयपुरतिरको भाग माथि उठ्दै गएको र नदीले आफ्नो आकार बढाउँदा बस्ती जोखिममा परेको कुरा प्रष्ट छ । बाँध अगाडि विशाल त्रियुगा देखिए पनि बाँधको पछाडि करिब २० मिटर गहिरो र चौडाइ पनि सानो छ । बालुवा नबगाएकै कारण माथिल्लो भागमा त्रियुगाको आकार बढ्दै गएको कुरामा दुईमत छैन ।

यसरी समाधान हुन सक्छ

चन्द्र नहर बाँधको अगाडि अर्थात् सिरानबाट बालुवालाई सहज रूपमा निकासी अथवा पानीसँगै बग्ने वातावरण बनाएको खण्डमा उदयपुरका गाउँ डुवानको समस्याबाट मुक्त हुन सक्छन् । चन्द्रनहरको सिरानको बालुवा सबै बगेको खण्डमा खोलाको गहिराइ बढ्ने र आकार पनि सानो हुनेछ । वि.सं. १९८५ मा चन्द्र नहर बनाउँदा त्रियुगा नदी सानो आकारको थियो । त्यसबेलाको संरचनामा अहिले परिवर्तन आइसकेको छ र बाँधको डिजाइन उस्तै छ । खोलाले विशाल रूप लिइसकेको र चन्द्र नहर पुरानै स्वरूपमा रहेकोले दर्जनौं गाउँ उच्च जोखिममा छन् ।

माथिल्लो भागको बस्तीलाई डुबानबाट बचाउनका लागि चन्द्रनहर सम्बन्धी विस्तृत अध्ययन गर्न जरूरी छ । ऐतिहासिक चन्द्र नहरसँग माथिल्लो तटीय बस्तीलाई पनि जोगाउनुपर्छ । चन्द्रनहरबाट हुने सिंचाइलाई कुनै बाधा नपुर्‍याई माथिल्लो भूभागलाई डुबानबाट जोगाउनका लागि सम्बन्धित निकायले समयमै चासो र चिन्ता देखाउन अब ढिला गर्न हुँदैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?