+
+

अनौठो खुलासा : मानिसलाई देख्दा बढ्छ सुतुरमुर्गमा यौन इच्छा

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ४ गते १३:०९

अष्ट्रिच अर्थात् सुतुरमुर्ग सबैभन्दा ठूलो चरा हो । यसलाई खासै समझदार जीव मानिँदैन । जीउ जति नै ठूलो भए पनि यसको मस्तिष्क केवल एउटा ओखरको गेडा जत्तिकै मात्र हुन्छ । तर जब यौनको विषय आउँछ, तब यो चरा त्यतिसारो सोझो र बेबकूफ पनि छैन ।

अनौठो त के भने कैयन् बेला अष्ट्रिचले आफ्नो सामान्य यौन प्रक्रियालाई छाडेर मानिससँग सम्बन्ध बनाउने कोसिस पनि गर्दछ । जसले यो चराको निर्धारित जैविक प्रक्रियाको अवधारणालाई तोडेको हुन्छ ।

सन् १९९० को दशकमा अष्ट्रिच पालक किसानहरूले पहिलोपटक यसको यस्तो आनीबानीका बारेमा पत्ता लगाएका थिए । जब सुतुरमुर्ग मानिसको नजिकै हुन्छ तब यसको यौन प्रक्रियासम्बन्धी आनीबानी नै बदलिन्छ ।

मानिसको अगाडि उसले धेरै पखेटा हल्लाउँछ, उठबस गर्दछ । आफ्नो गर्धनलाई माथि उठाएर यौन नृत्य (mating Dance) समेत प्रदर्शन गर्दछ । जब सुतुरमुर्ग मानिसको नजिक हुन्छ तब यसले आफ्नो यौनसम्बन्धी क्रियाकलापहरूलाई बढावा दिन्छ ।

अष्ट्रिचको यस्तो आनीबानीका कारण अचम्मित बनेका वैज्ञानिकहरूले यस विषयमा अध्ययन गरे । उनीहरूले बेलायतका दुईवटा अष्ट्रिच फार्ममा निगरानी सुरु गरे, एउटामा नजिकबाट र अर्कोमा टाढाबाटै । मानिसको उपस्थितिमा सुतुरमुर्गको यौन व्यवहारमा कस्तो खाले परिवर्तन आउँदछ भन्ने पत्ता लगाउनु उनीहरूको उद्देश्य थियो । यससम्बन्धी शोध ब्रिटिस पोल्ट्री साइन्स जर्नलमा छापिएको छ ।

उक्त शेाध रिपोर्ट अनुसार नजिकबाट गरिएको अध्ययनका क्रममा पोथी सुतुरमुर्गले यौन सम्बन्ध कायम गर्नका लागि धेरै याचना गर्ने गरेको देखिएको छ ।

टाढाबाट गरिएको अध्ययनमा चाहिं यस्तो क्रियाकलाप कम देखियो । दुई वर्षसम्म चलेको उक्त अध्ययनका क्रममा दुई वर्ष नै पोथी अष्ट्रिचको आनीबानी उस्तै रह्यो ।

शोधकर्ताहरूका अनुसार मानिसलाई नजिक देख्दा पोथी अष्ट्रिचले यौन सम्पर्क गर्न धेरै आग्रह गर्ने गर्दछ आफ्नो हाउभाउमार्फत । मानिस नहुँदा भने उसले त्यस्ता यौनिक अभिव्यक्तिजन्य क्रियाकलाप कम गर्दछ ।

अध्ययनका क्रममा कतिपय पोथी सुतुरमुर्गले मानिस नजिक हुँदासमेत कुनै प्रतिक्रिया नजनाएको भए पनि ६८ प्रतिशतले भने यौन इच्छाको प्रवल प्रदर्शन गरेको पाइएको छ ।

आफ्नो यौनइच्छा पूरा गर्नका लागि सुतुरमुर्ग मानिसतर्फ आउने गरेको पनि पाइएको छ, खासगरी वयस्क हुँदै गरेका पोथी सुतुरमुर्गहरू ।

बेलायतमा हालै वैज्ञानिकहरुले अध्ययन गरेको यस्तो तथ्य दक्षिण अफ्रिकामा चाहिँ सदियौँदेखि प्रचलनमै रहेको छ । त्यहाँ मानिसको उपस्थितिमा सुतुरमुर्गको यौन सम्पर्क कायम गराइन्छ । मानिसको उपस्थितिमा अष्ट्रिचको प्रजनन् गराउने त्यहाँको परम्परा छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?