+
+
काभ्रेस्थली घटनामा प्रहरीको प्रारम्भिक निष्कर्ष :

श्रीमती र छोराछोरीको हत्यापछि आत्महत्या

श्रीमती र छोराछोरीको हत्यापछि दिनेशले झुण्डिएर आत्महत्या गर्ने प्रयास गरेको देखिएको घटनास्थलमा पुगेको प्रहरीले बताएको छ, तर त्यो प्रयास असफल नभएपछि आफैंलाई चक्कु हानेर आत्महत्या गरेको देखिन्छ ।

गौरव पोखरेल गौरव पोखरेल
२०७९ साउन १६ गते १८:१३

१६ साउन, काठमाडौं । काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारको चार जना मृत भेटिएको घटना हत्यापछि आत्महत्या भएको प्रारम्भिक निष्कर्षमा प्रहरी पुगेको छ ।

तारकेश्वर नगरपालिका–२ काभ्रेस्थली, पदमसालस्थित घरमा दिनेश पाण्डे, उनकी श्रीमती सुनिता काप्री पाण्डे, १३ वर्षकी छोरी आशिका र ८ वर्षका छोरा आशिक मृत भेटिएका थिए ।

सैनिक स्कुलमा कक्षा ५ मा अध्ययनरत आशिका सोमबार बिहान स्कुल जान बस चढ्न नआएपछि छिमेकीले सोधीखोजी गरेका थिए । घरमा बोलाउँदा कोही नबोलेपछि स्थानीयले प्रहरीलाई खबर गरे । प्रहरीले ढोका फोडेर हेर्दा चारै जना मृत भेटिएका थिए ।

प्रहरीले मृतक चारैजनाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाएको छ ।

हत्यापछि आत्महत्या

घटनाको अनुसन्धान गरिरहेको प्रहरीले दिनेशले श्रीमती र छोराछोरीको हत्यापछि आत्महत्या गरेको प्रारम्भिक निष्कर्ष निकालेको छ । घटनास्थलको अवस्थिति, ‘सुसाइड नोट’ लगायतले यही संकेत गरेको एक अनुसन्धान अधिकृतले बताए ।

गोरखाको भीमसेन थापा गाउँपालिका–६ अश्राङको यो परिवार केही वर्षदेखि यहाँ घर बनाएर बस्दै आएको थियो । आफन्तहरुले बताएअनुसार दिनेश करिब १२ वर्ष कुवेतमा बसेर साढे ४ वर्षअघि फर्किएका थिए । पदमसालमा जग्गा किनेर एकतले घर समेत बनाएका थिए । तर सुनिता र उनको सम्बन्ध राम्रो थिएन ।

श्रीमतीको अन्य पुरुषसँग सम्बन्ध रहेको भन्दै दिनेशले शंका गर्थे र यही विषयमा उनीहरुबीच झगडा हुने गरेको थियो । बारम्बार झगडा भएपछि सुनिताले प्रहरीमा उजुरी दिइन् । प्रहरीको बालाजु वृत्तले तीन पटकसम्म दुवैलाई बोलाएर छलफल गराएको थियो, तैपनि उनीहरुबीच पारिवारिक मेल हुन सकेन ।

पछिल्लो पटक दिनेशले घर बेच्ने भनेर १० लाख रुपैयाँ बैना समेत लिएका थिए । तर सुनिताले बेच्न मानिनन् । उनको नाममा घर भएकाले दिनेशको केही लागेन । सुनिताले घर किन्न बैना गर्ने व्यक्तिलाई एक लाख जरिवानासहित ११ लाख रुपैयाँ फिर्ता गरिदिइन् ।

दिनेशले सुनितासँग सम्बन्धविच्छेद (डिभोर्स) गर्न चाहेका थिए । तर सुनिताले छोराछोरीको भविष्यमा असर गर्ने भन्दै अस्वीकार गरिन् । बरु उनले वैदेशिक रोजगारीका लागि जाने प्रयास थालिन् । त्यसक्रममा बेलायतको सिजनल भिसा लागेपछि उनले पदमसालकै फेन्सी पसल बेच्नुका साथै मेगा ड्रिम सहकारीमा रहेको पैसा निकालेर खाता नै बन्द गरेकी थिइन् ।

तर बेलायत उड्नुअघि नै उनको हत्या भयो । घटनास्थलमा पुगेको फरेन्सिक टोलीले घटना आइतबार राति भएको बताएको छ । विवाद हुँदा दिनेशले श्रीमती र छोराछोरीको चक्कु हानेर हत्या गरेको हुनसक्ने देखिएको प्रहरीले बताएको छ ।

हत्यापछि दिनेशले झुण्डिएर आत्महत्या गर्ने प्रयास गरेको देखिएको घटनास्थलमा पुगेको प्रहरीले बताएको छ । तर त्यो प्रयास असफल नभएपछि आफैंलाई चक्कु हानेर आत्महत्या गरेको हुनसक्ने देखिएको एक अधिकृत बताउँछन् । दिनेशको सुसाइड नोट समेत भेटिएको छ ।

एक अनुसन्धान अधिकृतका अनुसार उनले सुसाइड नोटमा श्रीमतीसँग सम्बन्ध राम्रो नभएको, उजुरी दिएर आफूलाई महाराजगञ्ज वृत्तमा थुनाएको गुनासो गरेका छन् ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?