+
+
स्वास्थ्य मन्त्रालयको प्रक्षेपण :

दैनिक संक्रमित ८ हजार पुग्न सक्छन्, अबको एक महिना कठिन

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०७९ साउन २३ गते २०:१५
फाइल तस्वीर : कोरोना संक्रमितको उपचार गर्दै एपीएफ अस्पतालका स्वास्थ्यकर्मी ।

२३ साउन, काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोना महामारीको चौथो लहर नेपालमा अझै एक महिना रहने निष्कर्ष निकालेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) ले हालै गरेको एक अध्ययनले तीन हप्तासम्म संक्रमण बढ्दै जाने, त्यसपछि उच्च विन्दुमा केही समय स्थिर रहने र भदौको अन्तिम साताबाट मात्र संक्रमण घट्दै जाने देखाएको छ । चौथो लहरमा दैनिक आठ हजार जनासम्म संक्रमित हुन सक्ने इडीसीडीको अनुमान छ ।

हिजोआज दैनिक संक्रमित संख्या एक एक हजारभन्दा कम छ । ‘आगामी तीन हप्तासम्म अझै उकालो लाग्दै जानेछ र दैनिक दुईदेखि आठ हजारसम्म नयाँ संक्रमित थपिन सक्ने आंकलन गरिएको छ’, स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीले अनलाइखबरसँग भने, ‘संक्रमण मध्यमविन्दुमा पुगेको छ । केही दिनमा उच्चविन्दुमा पुग्छौं ।’

उनका अनुसार संक्रमण तीन हप्तापछि मात्रै ओरालो लाग्दै जाने आंकलन गरिएको छ । ‘मानिसले खोप नलाएको वा जनस्वास्थ्यको मापदण्ड पालना नगरेको अवस्थामा संक्रमणदर बढ्ने हो । अबको एक महिना कठिन हुनसक्छ’, ती अधिकारीले भने, ‘हामीले अहिलेको संक्रमणदरको चक्रलाई आंकलन गरेको हौं । तर, यो तथ्यांक तलमाथि पनि हुनसक्छ ।’

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारी पनि अबको दुई हप्तामा कोरोना संक्रमण उत्कर्षमा पुग्नसक्ने आंकलन गरिएको बताउँछन् । ‘अबको दुई हप्ता कोरोना संक्रमण उच्च विन्दुमा पुग्ने र त्यसपछि घट्दै जाने हाम्रो अनुमान हो,’ डा. अधिकारीले भने ।

अधिकांश मानिसले खोप लगाएका कारण अस्पताल भर्नादर अन्य लहरभन्दा भने कम हुने स्वास्थ्य मन्त्रालयको आंकलन छ । यद्यपि संक्रमितको संख्या बढ्दै जाँदा अस्पताल भर्ना दर पनि बढ्न सक्ने सहप्रवक्ता अधिकारी बताउँछन् । ‘संक्रमित भएको केही हप्तापछि मात्रै मानिस अस्पतालमा पुग्छन् । अबको दुई हप्तापछि मृत्युदर बढ्ने आंकलन गरिएको छ’, उनले भने ।

कोरोना विरुद्ध खोप लगाएको ६ महिनापछि शरीरमा क्रमशः एन्टीबडी कम हुँदै जसले गर्दा शरीरमा कोरोना संक्रमणको जोखिम पुनः बढ्दै गएको संक्रामक रोग विशेषज्ञ डा. अनुप बास्तोला बताउँछन् । जोखिमलाई कम गर्न ‘बुस्टर डोज’ को अनिवार्य रुपमा दिर्नुपर्ने उनको भनाइ छ । मन्त्रालयको पछिल्लो विवरण अनुसार ७३ लाख ५१ हजार ६९५ जनाले मात्रै बुस्टर डोज लगाएका छन् ।

‘खोपको पूर्ण मात्रा लगाइसकेको ६ महिनापछि शरीरमा एन्टीबडी कम हुँदै जान्छ । एन्टीबडीलाई बढाउनका लागि अर्को खोपलाई बुस्टर डोजको रुपमा लगाउनुपर्छ,’ डा. बास्तोलाले भने, ‘अहिले बुस्टर डोज लगाउनेसंख्या कम छ । त्यसलै तत्काल कभरेज बढाउनुपर्छ ।’

अस्पतालमा संक्रमित बढ्दै

चौथो लहर सुरु भएसँगै कोरोनाका जटिल खालका बिरामी बढ्न थालेका छन् । उपचारमा संलग्न चिकित्सकका अनुसार जटिल खालका बिरामी बढ्नुमा तीन वटा कारण छन् ।

पहिलो, भाइरस एकदमै संक्रामक छ भने यसबाट दीर्घरोगी बढी प्रभावित भएका छन् । दोस्रो, संक्रमितहरु ढिला गरी अस्पताल पुगेका छन् र तेस्रो, कतिपय संक्रमितले खोप लगाएका छैनन् ।

पाटन अस्पतालका कोरोना फोकल पर्सन तथा मेडिकल डाइरेक्टर प्रा.डा. युवराज शर्मा ओमिक्रोन भेरियन्ट निकै संक्रामक भएपनि कम घातक भएको बताउँछन् । अहिले देखिएको ओमिक्रोनको सबभेरियन्टले गर्भवती र बालबालिकामा बढी जोखिम पारेको उनको भनाइ छ ।

उनी भन्छन्, ‘नेपालमा हाल देखिएको भाइरस निकै संक्रामक तर, कम घातक भएको संकेत गर्छ । त्यही माथि धेरैजसो बिरामी ढिला गरी अन्तिम अवस्था तिर मात्र अस्पताल आइपुगेका वा खोप नै नलाएको पनि पाइएको छ ।’

हाल नेपालमा सक्रिय रहेको ओमिक्रोनको सब भेरियन्टबाट भने गर्भवती, बालबालिकासँगै वृद्धवृद्धा, दीर्घरोगी, खोप नलगाएका व्यक्ति बढी प्रभावित देखिएको डा. शर्माको भनाइ छ ।

मन्त्रालयको आइतबारसम्मको विवरण अनुसार १५२ जना संस्थागत आइसोलेसनमा छन् । जसमध्ये ४५ जना आईसीयू र ३ जना भेन्टिलेटरमा उपचारत छन् ।

वीर अस्पतालका कोभिड–१९ संयोजक डा. उमेश बोगटी भाइरस निकै संक्रामक रहेको र बिरामी ढिला गरी अस्पताल आउँदा जटिलता धेरै देखिएको छ ।

‘अहिले धेरैजना संक्रमित होम आइसोलेसनमै छन् । उनीहरु ठीक होला भन्दै घरमै बस्छन् । तर, जति ढिलो भयो बिरामीलाई बचाउन त्यति नै गाह्रो हुन्छ’ उनले भने, ‘अहिले समुदायमा संक्रमण फैलिसकेको छ । केही हप्तापछि अस्पतालमा भर्ना हुने संख्या पनि बढ्छ ।’

होम आइसोलेसनमा बसेका संक्रमितहरु निरन्तर रुपमा चिकित्सकको परामर्शमा रहनुपर्ने उनको सुझाव छ ।

‘शरीरमा अक्सिजनको मात्रा घटेमा, श्वास प्रश्वासमा समस्या भए, छाती दुखे, ओठ निलो भएमा जटिलता तिर गएको बुझ्नुपर्छ,’ डा. बोगटीले भने, ‘यस्ता लक्षण देखिएर तत्काल अस्पताल पुर्याउन सकेमा क्षतिलाई रोक्न सकिन्छ र धेरैजनाको ज्यान जोगाउन सकिन्छ ।’

संक्रमितको नयाँ लक्षण पसिना बढी आउने

दीर्घरोगीबाहेक संक्रमितको अस्पताल बसाइ विगतको तुलनामा कम भएको चिकित्सकहरु बताउँछन् । ‘विगतमा भर्ना भएका संक्रमितलाई कम्तीमा आठ–दश दिनसम्म अस्पतालमा राख्नुपरेको थियो तर, अहिले दीर्घरोगीबाहेक अन्य संक्रमित चार–पाँच दिनमा डिस्चार्ज भएका छन्’ पाटन अस्पतालका डा. शर्माले भने ।

धेरैजसो संक्रमितमा घाँटी दुख्ने, खोकी लाग्ने, छाती दुख्ने, ज्वरो आउने, जिउ दुख्ने, कमजोरीपन जस्ता पुरानै लक्षण देखिएको छ । पछिल्लो समय संक्रमितलाई पसिना धेरै आउने लक्षण पनि देखिएको छ ।

पहिले कोरोना संक्रमण भइसकेका मानिस अथवा खोप लगाइसकेका व्यक्तिमा कम असर देखिएको छ । खोप नलगाएका अथवा पूरा मात्रा नलगाएकाहरूलाई यो भेरियन्टको बढी संक्रमण देखिएको र उनीहरू अस्पताल भर्ना हुने अवस्थामा रहेको डा. शर्मा बताउँछन् ।

‘डेल्टा भेरियन्टमा फोक्सोमा सिधै संक्रमण गरेर धेरै मात्रामा अक्सिजन दिनुपरेको थियो । तर, अहिले संक्रमितमा माथिल्लो छातीमा असर, रुघाखोकी तथा पसिना बढी आउने जस्ता समस्या देखिएको छ’ डा. शर्माले भने ।

लेखकको बारेमा
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?