+
+

नेपालमा लगानीको वातावरण बनाउन राजदूतहरुसँग चेम्बरको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १४ गते १७:३७

१४ भदौ, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले व्यापार प्रर्वद्धन एवम् लगानीका लागि वातावरण बनाउन राजदूतहरुसँग आग्रह गरेको छ । काठमाडौंको जमलस्थित चेम्बर भवनमा राजदूतहरुसँग भएको छुट्टा–छुट्टै भेटवार्तामा चेम्बरले नेपालमा लगानीका लागि भूमिका निर्वाह गर्न आग्रह गरेको हो ।

दक्षिण कोरियाका लागि नवनियुक्त राजदूत डा. ज्योति प्याकुरेलसमक्ष चेम्बर अध्यक्ष राजेन्द्र मल्लले आर्थिक रुपमा समृद्ध कोरियाबाट लगानी प्रर्वद्धन गर्न आग्रह गरे । नेपालमा लगानीसँगै कोरियाको उच्चस्तरीय प्रविधि भित्र्याउन समेत पहल गर्नुपर्ने अध्यक्ष मल्लको भनाइ छ । ईपीएस मार्फत कोरियामा ७७ हजार नेपाली युवा कार्यरत रहेको भन्दै अध्यक्ष मल्लले नेपालीहरुकै सीप र लगानीलाई प्रर्वद्धन गर्न सकियो भने मुलुकले धेरै फाइदा लिन सक्ने बताए ।

मल्लले भने, ‘नेपाल हाउसको अवधारणा अन्तर्गत स्वदेशी उत्पादनहरुको प्रर्वद्धन गर्ने प्रचुर सम्भावना छ । पछिल्लो समय पस्मिना, हस्तकलाका सामग्री, जडिवुटी, भीरमह लगायतको माग कोरियामा बढ्दोछ ।’ कोरियाली बहुराष्ट्रिय कम्पनी नेपालमा स्थापनाका लागि पहल गर्न पनि अध्यक्ष मल्लले प्याकुरेलको ध्यानाकर्षण गराए ।

चेम्बर अफ कमर्सका पदाधिकारीले नेपालका लागि स्लोभाकियाका राजदूतसँग पनि चेम्बर भवनमा भेटवार्ता गरेका छन् । भेटवार्तामा नेपालमा लगानीको सम्भावना एवम् दुईपक्षीय व्यापारबारे छलफल भएको छ ।

अध्यक्ष मल्लले स्लोभाकियामा नेपालको हस्तकलाका सामान कपडा, कार्पेटलगायतको निर्यातमा सहजीकरण गर्न राजदूत रोबर्ट म्याक्सिएनसँग आग्रह गरे ।

सूचना प्रविधि एवम पर्यटन क्षेत्रमा पनि लगानी गर्न अध्यक्ष मल्लले आग्रह गरे । स्लोभाकियाबाट हाल वार्षिक ५ हजारको हाराहारीमा पर्यटक नेपाल आईरहेको भन्दै यो सङ्ख्या अझै वृद्धि गर्नमा सहयोग गर्न अध्यक्ष मल्लले राजदूत म्याक्सिएनसँग आग्रह गरे ।

जवाफमा राजदूत म्याक्सिएनले नेपालसँग उच्चस्तरीय आर्थिक सम्वन्ध विस्तार गर्न आफू प्रतिवद्ध रहेको बताए । यसका लागि आफूले सरकारीस्तरमै पहल गरिरहेको राजदूत म्याक्सिएनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?