+
+
विचार :

बुद्ध, वर्ण व्यवस्था र वर्ग संघर्ष

मेखराज उदय मेखराज उदय
२०७९ भदौ १५ गते १२:४२

सन् १८७९ मा जर्मनीमा जन्मिएका विश्व प्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले भनेका थिए- ‘भविष्यको धर्म कस्मिक (ब्रह्माण्डीय) हुनेछ, जहाँ न ईश्वरको स्वरूप मान्छेको जस्तो हुनेछ, न कट्टरपना । त्यसका लागि बुद्ध धर्म सबैभन्दा उत्तम हुनेछ ।’ आइन्स्टाइन सैद्धान्तिक भौतिकवादी थिए र उनलाई सापेक्षता र द्रव्यमान–ऊर्जा समीकरण खोजका लागि सन् १९२१ को नोबेल पुरस्कार प्रदान गरिएको थियो ।

बुद्ध, कार्ल मार्क्स र अम्बेडकर व्यापक बहस हुँदै आएका पात्र हुन् । विशेषतः भारत हुँदै नेपाल प्रवेश गरेका, त्यति मात्रै होइन, दक्षिणएशिया र ब्राह्मण (हिन्दु) धर्मावलम्बी भएका देशहरूमा फैलिएको महामारी जात (वर्ण) व्यवस्था र वर्ग संघर्ष सम्बन्धमा बहस र विवाद व्यापक फैलिंदो क्रममा छ ।

ब्राह्मणहरू जहाँ–जहाँ पुगे, ब्राह्मण धर्म, संस्कृति, वैदिक मान्यता, वर्ण व्यवस्थामा आधारित कानुन र धार्मिक राजनीति त्यहाँ–त्यहाँ लागू गरे । वर्ण व्यवस्था दक्षिणएशियाका कुनै मूलवासी समुदायको मौलिक धार्मिक–सामाजिक मान्यता र राजनीतिक व्यवस्था थिएन, होइन । त्यसैले बहसमा छन्; बुद्ध, मार्क्स र डा. भीमराव अम्बेडकर अर्थात् वर्ण व्यवस्था र वर्ग संघर्ष ।

‘जात व्यवस्था अन्त्य गर्नका निम्ति बुद्ध र अम्बेडकर पर्याप्त छैनन्, त्यसका निम्ति मार्क्स अनिवार्य छन्,’ यो मान्यता भारतीय कम्युनिस्ट, वाम पार्टी हुँदै नेपाल प्रवेश गरेको हो । अर्थात् ब्राह्मणवादले नेपाल प्रवेशमा प्रयोग गरेको बाटो हुँदै यो मान्यता पनि नेपाल पस्यो ।

कार्ल मार्क्स ६ वर्षको हुँदा अर्थात् सन् १८२४ मा उनको परिवारले यहुदी धर्म परिवर्तन गरी इसाई धर्ममा प्रवेश गरेको थियो । उनका पिता हाइनरिख मार्क्सले उनीसहित इसाई धर्ममा प्रवेश गरी बालक कार्ल मार्क्सको शिक्षाको ग्यारेण्टी गरेका थिए ।

मार्क्सका बाजे लेवी मार्क्स जर्मनीको एक गाउँ ट्रिलका रब्बी अर्थात् पुरोहित थिए । यहुदी धार्मिक कट्टर समुदाय भएकाले बालबालिकालाई शिक्षा दिन वर्जित गरिएको थियो । यहुदीहरू विश्वभरि धर्म परिवर्तन गर्दै इसाई बन्ने क्रम जारी रहेको त्यस समयमा मार्क्स परिवार पनि इसाई बने, जसका कारण उनले औपचारिक शिक्षा प्राप्त गर्ने मौका मिल्यो ।
तथापि भारत–नेपालका टुप्पी राख्ने, जनै धारण गर्ने बाहुन–क्षत्री हिन्दु, इस्लामदेखि टाउकोमा फेटा बाँध्ने शिख कथित मार्क्सवादीहरू भने अम्बेडकरले धर्म परिवर्तनको नीति लिएको भन्दै निन्दा र आलोचना गर्ने गर्छन् ।

यो केवल मिथ्या आरोप मात्रै हो । उनीहरूका आदर्श मार्क्सले नै धर्म परिवर्तन गरेको तथ्यप्रति भने आँखा चिम्लिन्छन् । अम्बेडकरमाथि जुन आरोप लगाइन्छ, ती हास्यास्पद र कुतर्क मात्रै हुन् ।

अम्बेडकर र मार्क्स अर्थात् वर्ण व्यवस्था र वर्ग संघर्ष

विभिन्न अनुसन्धानकर्ता तथा विद्वान्हरूको खोजको निष्कर्ष एवं मान्यता बमोजिम बुद्धको समयमा वर्ण व्यवस्था थियो, शूद्र थिए तर छुवाछूत थिएन । शूद्र विशाल वर्ण (समुदाय) हो । यहाँ स्मरणीय कुरा के छ भने सबै शूद्रलाई अछूत बनाइएन, शूद्र जातिमध्ये केहीलाई मात्रै अछूत बनाएको थियो ।

अर्थात् सबै शूद्र जाति अछूत होइनन्, तर अछूत सबै शूद्र हुन् । अम्बेडकरका अनुसार ई. ४०० को हाराहारीतिर मात्रै शूद्रभित्रका केही समुदायलाई अछूत जाति घोषित गरिएको हो ।

कार्ल मार्क्सलाई धेरै कुराको जानकारी थियो तर दुइटा कुरा ज्ञात थिएन । जसमध्ये पहिलो– वर्ण व्यवस्था, छुवाछूत, विभेदबारे मार्क्सलाई ज्ञान थिएन । दोस्रो– ब्राह्मणवादबारे पनि उनलाई जानकारी थिएन । त्यसैले यी दुई विषयमा मार्क्स आजीवन मौन बसे ।

सन् १७८९ देखि १७९९ नोभेम्बरसम्म साढे १० वर्ष चलाइएको फ्रान्सेली राज्यक्रान्तिले फ्रान्समा परम्परागत राजतन्त्रको अन्त्य गरी लोकतान्त्रिक गणतन्त्र र धर्मनिरपेक्षताको स्थापना गरेको थियो । उक्त राज्यक्रान्तिले मुख्यतः तीन आधार तयार पार्‍यो, जसमा भ्रातृत्व, स्वतन्त्रता र समता थिए । तर क्रान्तिपश्चात् अन्तिमको समता स्थापित गर्न सकेन ।
त्यस्तै १९१७ मा जारको स्वेच्छाचारी शासनका विरुद्ध लेनिनको नेतृत्वमा भएको रूसी कम्युनिस्ट क्रान्तिले समता स्थापित गर्न सफल रहे तापनि अन्य दुई मुद्दा स्थापित गर्न अक्षम रह्यो । त्यसैले आर्थिक समता स्थापित गर्दैमा भ्रातृत्व र स्वतन्त्रता प्राप्त हुनसक्दैन । अतः निष्कर्षमा कम्युनिस्ट अर्थात् मार्क्सवादी क्रान्तिले समता प्राप्त गर्न सकिएला तर तिनै मुद्दा भ्रातृत्व, स्वतन्त्रता र समता प्रदान गर्न सक्दैन ।

जाति व्यवस्थामा आधारित छुवाछूत, जातीय विभेद जस्ता समस्याको समाधान समाजवादी समाज या राज्य निर्माण गरेर गर्न सकिंदैन । यो घाम जत्तिकै प्रष्ट विषय हो । समाधानका निम्ति बुद्ध–अम्बेडकरको मार्गमा नहिंडेर सुखै छैन ।

अम्बेडकर र मार्क्सबीच भिन्नता मात्रै छैन, धेरै समानता समेत छन् । विवाद अम्बेडकर र मार्क्सवादी लालबुझक्कडहरूसँग मात्रै हो, स्वयं मार्क्ससँग होइन । अम्बेडकरले जातीय संघर्षलाई मूलतः वर्ग संघर्ष मानेका छन् । उनले जातिका लागि वर्ग शब्दको प्रयोग धेरै पटक गरेका छन् ।

त्यसैले अम्बेडकरवादी दलित या मूलवासी समुदायलाई ‘वर्ग–समुदाय’को रूपमा व्याख्या गर्नु उपयुक्त हुन्छ । त्यस्तै क्रान्तिमा हिंसा र बल प्रयोगको सिद्धान्तलाई पनि अम्बेडकर अनिवार्य मान्दछन् ।

उनी भन्छन्, ‘हिंसा र बल प्रयोग एक अकाट्य सत्य हो कि तपाईं हिंसादेखि बचेर रहन सक्नुहुन्न । अहिंसात्मक सत्याग्रह जस्ता बाटो तब अपनाउन सकिन्छ जब परिस्थिति यस्तो होस् कि सिर्फ त्यो मात्रै प्रतिरोधको उत्तम मार्ग बाँकी रहोस् ।’

बल प्रयोगको सम्बन्धमा अम्बेडकरको भनाइ छ, ‘बल प्रयोगलाई तपाईं न सधैंका लागि रोक्न सक्नुहुन्छ, न समाप्त नै गर्न सक्नुहुन्छ, त्यसैले बुद्धले पनि आफ्नो समकालीन कोही राजालाई सेना समाप्त गर्ने या अपराधीलाई दण्डित गर्ने व्यवस्थाको पूर्णतया भंग गर्नका लागि कहिल्यै भनेनन् ।’

गान्धी, अछूत र अम्बेडकर

भारतीय सर्वोच्च अदालतले २४ मार्च २०१७ मा एक विशेष फैसला मार्फत हरिजन शब्द प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । सर्वोच्चले हरिजन शब्दलाई आपराधिक घोषणा समेत गरेको छ र अब सरकारी कामकाजमा यो शब्द प्रयोग गरिएमा त्यसका विरुद्ध मुद्दा दायर गर्न सकिनेछ ।

अदालतको त्यस आदेश बमोजिम केन्द्र तथा प्रदेश सरकारले हरिजन शब्द प्रयोगमा बन्देज लगाइसकेको छ । हरिजन शब्द प्रथम पटक प्रयोग गर्ने व्यक्ति गान्धी थिए । भारतको संविधान बमोजिमका अनुसूचित जातिलाई उनले यो शब्द प्रयोग गर्ने गर्थे । दलित शब्द समेत भारतमा वर्जित छ ।

गान्धी २१ पटक अनशन बसे । तर उनले छुवाछूत अन्त्यका निम्ति कुनै अनशन बसेनन् । अम्बेडकरद्वारा १९४५ मा लिखित एक पुस्तकमा लेखिए अनुसार नासिकस्थित कालाराम मन्दिरमा अछूतले प्रवेश पाउनुपर्ने माग राखेर अम्बेडकरको नेतृत्वमा सत्याग्रह राखियो, तब गान्धीले त्यस कार्यको कडा शब्दमा निन्दा गरे ।

गान्धीको मान्यता थियो, अछूतले मन्दिर प्रवेशको माग गर्नु धर्म विनासक कार्य हो, त्यति मात्रै होइन सत्याग्रह (अनशन) बस्नु शास्त्र बमोजिम शूद्रको कुनै अधिकार होइन । यी दुवै धर्म विरोधी कार्य हुन् । स्मरणीय छ, अम्बेडकर हिन्दु धर्मभित्र रहेर वर्ण व्यवस्था, छुवाछूत, विभेद अन्त्य गर्न चाहन्थे, अन्त्यमा असम्भव देखेपछि बुद्ध धर्ममा प्रवेश गरे ।

अम्बेडकरका अनुसार अन्तरजातीय विवाह र बुद्धधर्मको मार्ग जातिवाद उन्मूलनको हो । मनुस्मृतिमा समेत एक ठाउँमा शूद्रले ७ पुस्तासम्म ब्राह्मणसँग विवाह गरेमा ब्राह्मण बन्ने बताइएको छ, यद्यपि त्यसको बाटो या विधिबारे मौनता छ ।

हाम्रो मूल समस्या ब्राह्मणवाद हो, नकि दलित । ब्राह्मणवादका दुई आधार छन्, पहिलो– वर्ण व्यवस्था (पछि त्यसलाई जाति व्यवस्था भयो) र दोस्रो– पितृसत्ता । पितृसत्ता अनुसार बाल विवाह, सती प्रथा र विवाहमा अभिभावकको नियन्त्रण (प्राधिकार) व्यवस्था पर्छन् ।

ब्राह्मणहरूले बाल विवाह अर्थात् महिनावारी हुनुभन्दा अगावै छोरीलाई विवाह गरिदिने व्यवस्था जाति व्यवस्था टिकाइराख्नका लागि बनाएका थिए । किनभने छोरी–चेलीलाई उमेर पुगेर विवाह गर्ने अधिकार दिने हो भने, उनको अर्को जातिमा विवाह हुनसक्ने खतरा देखेर धर्मको दुहाई दिंदै बालिका हुँदै विवाह गरिदिने व्यवस्था गरे । अन्य वर्ण (जाति) मा विवाह भयो भने वर्ण (जाति) व्यवस्थाको नाश हुन्छ ।

त्यस्तै सती प्रथा पनि जाति व्यवस्था टिकाउनका लागि रचिएको क्रूर प्रथा हो । विधवालाई कपाल मुण्डन गर्ने, नयाँ कपडा लगाउन नदिने, सार्वजनिक स्थानमा हिंडडुल गर्नबाट वञ्चित राख्ने, जसरी हुन्छ कुरूप बनाउने जसका कारण उनीसँग कोही पुरुष आकर्षित नहोऊन् र दोस्रो विवाहका लागि सम्भव नहोस् । विधवालाई दोस्रो विवाह निम्ति अनुमति नदिने ।

किनभने विधवाको अन्य जातिको युवासँग प्रेम र विवाह हुने खतरा देखे । यदि त्यस्तो भएमा जाति व्यवस्था संकटमा पर्ने हुन्थ्यो । जति बन्धनमा बाँधेर, कुरूप बनाइए पनि विधवाको विवाह हुने खतरा टार्न नसकेर ज्युँदै रहेपछि धर्मको आडमा विधवालाई मृत पति सँगै जिउँदै डढ्नुपर्ने अनिवार्य नियम बनाइयो । अर्थात् सती प्रथाको व्यवस्था लागू गरियो, त्यो केवल जाति व्यवस्था कायम राख्नका लागि नै थियो ।

त्यस्तै बालिग, वयस्क छोरा या छोरीले आफ्नो जीवन साथी आफैं रोज्न पाउनुपर्ने प्राकृतिक अधिकार हो । तर त्यसलाई नियन्त्रणमा लिन सन्तानको विवाह गर्ने अधिकार र दायित्व उनका पिता, अभिभावकलाई दिइयो । अभिभावकले आफ्नै जातिमा बाहेक अन्य जातिमा विवाह गराइदिने सम्भावना हुँदैन, यसका कारण जाति व्यवस्था जीवित रहन सम्भव रहिरह्यो ।

भारतमा जस्तै नेपालका केही कथित मार्क्सवादी कम्युनिस्टहरू समाजवादी समाज र व्यवस्था लागू गरी जाति व्यवस्थाको समाधान गर्ने गफ हाँक्ने गर्दछन् । समाजवाद राजनीतिक र आर्थिक दुवै विवादित व्यवस्था हो । तथापि समाजवादी समाज, राज्य निर्माण गर्दा आर्थिक समताको लक्ष्य पूरा गर्न सकिने आशा गर्न सकिएला ।

तर जाति व्यवस्थामा आधारित छुवाछूत, जातीय विभेद जस्ता समस्याको समाधान समाजवादी समाज या राज्य निर्माण गरेर गर्न सकिंदैन । यो घाम जत्तिकै प्रष्ट विषय हो । समाधानका निम्ति बुद्ध–अम्बेडकरको मार्गमा नहिंडेर सुखै छैन । मार्क्स जीवितै हुँदा पनि अहिलेका जस्तै लालबुझक्कडहरूबाट वाक्क भएर मार्क्स आफैंले कुनै प्रसङ्गमा भनेका थिए, ‘थ्याङ्क्स गड आई एम नट ए मार्क्सिस्ट !’

लेखकको बारेमा
मेखराज उदय

राजनीतिक विश्लेषक मेखराज परियार गोरखाका वामपन्थी युवा हुन् । पूर्वमाओवादीका तत्कालीन पोलिटब्युरो रहेका उनी हाल कुनै पनि दलमा आवद्ध छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?