+
+

जुम्लाकी सुनमायाको विश्व नम्बर १ बन्ने सपना

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७९ भदौ १७ गते २०:३७

१७ भदौ, काठमाडौं । विश्वकै प्रतिष्ठित अल्ट्रा रेस सीसीसी यूटीएमबी मोन्ट ब्लांकको १०० किलोमिटर दौडमा दोस्रो भएर सुनमाया बुढाले नेपालमा मात्र होइन, अन्तर्राष्ट्रिय रुपमै चर्चा बटुलिन् ।

च्याम्पियन बनेकी फ्रान्सेली ब्लेन्डिन हिरोन्डेलसँगै सुनमायाले पनि कोर्ष रेकर्ड तोडिन् । सुनमायाले ११ घण्टा ४५ मिनेट ४४ सेकेन्डमा निर्धारित दूरी पूरा गरिन् । पहिलो भएकी हिरोन्डेलले सुनमाया भन्दा करिब ५ मिनेट छिटो ११ घण्टा ४० मिनेट ५५ सेकेण्डमा दौड पूरा गरेकी थिइन् ।

फ्रान्समा भएको यो प्रतियोगितामा सहभागी हुन जानुअघि सुनमायाको खुट्टामा चोट लागेको थियो । जसले गर्दा उनको सहभागिता अन्यौलमा थियो । तर निरन्तरको मिहिनेत र टिम वर्कका कारण उनले प्रतियोगितामा सहभागिता जनाइन् र उपविजेता बनेर चर्चा कमाइन् ।

‘फ्रान्स जानु एक महिना अघि मेरो खुट्टामा चोट लाग्यो । जसले गर्दा टिमका सदस्यहरु डराए । क्यान्सिल नै गर्नुपर्छ कि भन्नेसम्म कुरा भएको थियो । एकदम दुखेमा क्यान्सिल गर्ने नभए जाने भन्ने भयो, ‘ सुनमायाले भनिन्, ‘टिमसँग कुरा गरेपछि दुई हप्ता जति काठमाडौंमा आएर फिजियो गराएँ । अनि फेरि जुम्लामै फर्केर दुई हप्ता ट्रेनिङ गरेर फ्रान्स गएँ ।’

शीर्ष १० मा पर्दा पनि राम्रै हुने उनीहरुको सोच थियो । ‘दोस्रो हुने सोचेको थिइनँ । राम्रो समयमा आफ्नो वेष्ट दिएर सकाउँछु भन्ने थियो । दौडिंदै जाँदा राम्रो हुँदै गयो । त्यसपछि झन् उर्जा आयो र अझै राम्रो गर्न मोटिभेट भएँ’, काठमाडौं फर्केकी  सुनमायाले अनुभव सुनाइन् ।

सुनमायालाई अहिलेको अवस्थामा पुर्‍याउन जुम्लाकै प्रशिक्षक हरि रोकाय र अष्ट्रेलियाका प्रशिक्षक एन्डी डुबोसिसको भूमिका ठूलो छ । ‘मलाई सहयोग गर्ने धेरै जना हुनुहुन्छ, मलाई यहाँसम्म आउन हरि गुरुदेखि धेरैले सहयोग गर्नुभएको छ । सबैलाई धन्यवाद ।’

हरि रोकाय र अष्ट्रेलियन प्रशिक्षकको सिकाउने शैली फरक भए पनि आफ्नो लागि दुवैको प्रशिक्षण महत्वपूर्ण भएको सुनमायाले बताइन् ।

२३ वर्षीय सुनमायाले कक्षा ७ मा पढ्दादेखि नै दौड सुरु गरेकी थिइन् भने सन् २०१५ मा भएको ‘गोदावरी रन’ देखि दौडमा सहभागिता जनाउन थालिन् । त्यसपछि उनले अन्तर्राष्ट्रिय स्तरमा समेत सहभागिता जनाइन् ।

गत वर्ष थाइल्याण्डमा भएको युटिएमबी थाइल्याण्डमा महिलातर्फ विजेता बनेपछि उनको चर्चा झन् चुलियो । उनी त्यसबेला ओभरअलमा समेत तेस्रो भएकी थिइन् ।

पछिल्लो समय नेपालका धावकहरुले अन्तर्राष्ट्रिय अल्ट्रा रेसहरुमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालको नाम विश्वमै चिनाएका छन् ।

यसअघि मिरा राईले फ्रान्समा भएको मोन्ट ब्लांक ८० किलोमिटरमा उपाधि नै जितेकी थिइन् । तर सरकारले यसलाई चिन्न नसकेकोमा भने उनीहरुको गुनासो छ । ‘हामीले भने पनि सरकारले सुन्दैन । अब आशा छ सरकारबाट पनि सहयोग हुन्छ भनेर,’ सुनमायाले सकरात्मक हुँदै भनिन् ।

१०० किलोमिटरको दौडमा ५ मिनेटले दोश्रो भएकी सुनमायाको चाहना छ विश्व नम्बर वान बन्ने । ‘अबको लक्ष्य भनेको विश्वमा नम्बर एक बन्ने हो । त्यसकै लागि अझ मिहिनेत गर्नेछु ।’ द नर्थ फेस एडभेन्चर क्लबको स्पोनसरसिपमा सुनमायाले अन्तर्राष्ट्रिय दौडमा सहभागिता जनाउँदै आएकी छिन् ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?